बादल वर्षा बिजुली : अठार वर्षअघिको गीत एक्कासि बौरिएर टिकटकमा भाइरल – Nepal Press

बादल वर्षा बिजुली : अठार वर्षअघिको गीत एक्कासि बौरिएर टिकटकमा भाइरल

काठमाडौं । टिकटकमा कहिले के भाइरल हुन पुग्छ, कसैले भविष्यवाणी गर्नै नसक्ने अवस्था भएको छ । भर्खरैका ताजा घटनामात्र होइन, मान्छेले बिर्सिसकेका कैयौं वर्ष पुराना कुराहरु उत्खनन् भएर छ्याप्छ्याप्ती बन्न पुग्छन् ।

अहिले तपाईंले टिकटक खोल्दा सबैभन्दा बढी दोहोरिर आउने भिडियो के हो ? सायद ‘बादल वर्षा बिजुली’ बोलको गीत । यो गीतमा डान्स गरेर भिडियो बनाउन बाँकी नै को होला र ! तर, भिडियो बनाउनेहरुलाई नै थाहा नहोला, यो गीत कहिलेको हो ?

टिकटकमा गीत भाइरल भएपछि मात्र युट्युबमा गीत खोजेर हेर्ने दर्शक धेरै छन् । यो गीत पनि अहिले धेरैले युट्युबमा खोजी गरिरहेका छन् । र, भेट्नेहरु अचम्ममा परिरहेका छन् । कारण यो आजको होइन, १८ वर्ष पुरानो गीत हो ।

अहिलेको पुस्ताका लागि हटकेक बनिरहेको यो गीत २०६२ सालमा निर्माण भएको चलचित्र ‘कर्तव्य’ मा समावेश थियो । नारायण पुरीले निर्देशन गरेको यो ‘मल्टिस्टारर’ फिल्ममा राजेश हमाल, दिलीप रायमाझी र निखिल उप्रेती तथा नायिकाहरु निरुता सिंह र सज्जा मैनाली फिचर्ड छन् । बादल वर्षा बिजुली गीतमा भने दिलीप र सज्जाले अभिनय गरेका छन् ।

त्यसबेला यो गीत सामान्य चलेको थियो, उल्कै लोकप्रिय चाहिँ होइन । अहिले डान्सिङ स्टेपका कारण टिकटकमा गीत भाइरल भएको हो । तर, दिलीप र सज्जाको डान्सिङ स्टेपसँग अहिलेको भाइरल डान्सिङ स्टेप खासै मेल खाँदैन ।

@karishmadhakal

Badal,Barsha,bijuli🥵🥵🥵 #fyp #karishmadhakal

♬ original sound – musicclips18

अहिले टिकटकमा अचानक कसरी भाइरल भयो त ?

‘म्युजिक क्लीप’ नामको टिकटक अकाउन्टले नेपाली चलचित्रका पुराना गीतहरुको क्लीप हाल्ने गर्छ । यही अकाउन्टबाट यो गीत भाइरल भएको हो । टिकटक स्टार प्रिज्मा र प्रिन्सी खतिवडाले उत्कृष्ट नृत्यसहित भिडियो बनाएपछि धेरैले उनीहरुको स्टेप कपी गरेका थिए । प्रिज्मा-प्रिन्सीको भिडियोलाई ५८ लाखभन्दा बढीले हेरेका छन् भने चार लाखले लाइक गरेका छन् ।

पाकिस्तानी टिकटकर एलिजे जमालीले पनि यो गीतमा भिडियो बनाएकी छन् । उनको भिडियोमा ४६ लाख भ्यूज र चार लाखभन्दा बढी लाइक्स आएको छ ।

बादल वर्षा बिजुली गीत करुण थापाले लेखेका हुन् भने सचिन सिंहले संगीत दिएका हुन् । गीतमा प्रश्ना शाक्यको आवाज छ ।

यो गीत अहिले एकाएक भाइरल हुँदा गायिका प्रश्ना सुखद आश्चर्यमा परेकी छन् । उनी भन्छिन्, ‘कल्पनै नगरेको कुरा भयो । दर्शकहरुलाई धेरै धन्यवाद छ ।’

कसरी गीत भाइरल भयो भन्ने आफूले नबुझेको उनी बताउँछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर