पूर्वमन्त्रीकी नातिनीले मिस युनिभर्समा रचेकाे कीर्तिमान ! – Nepal Press

पूर्वमन्त्रीकी नातिनीले मिस युनिभर्समा रचेकाे कीर्तिमान !

नेपालकी ‘प्लस साइज’ सुन्दरीको अन्तर्राष्ट्रिय मिडियामा हाइहाइ, तर टप २० बाटै विदाइ

काठमाडौं । २३ वर्षीया जेन दीपिका ग्यारेट गत भदौमा मिस नेपाल युनिभर्सको विजेता बन्दा मानिसहरु दुईवटा कुराले अलमलमा परेका थिए । पहिलो उनको नाम-थर र ‘मदर टङ’, अनि दोस्रो, शरीरको आकारप्रकार ।

विदेशी थर भएकी, नेपाली भाषा राम्ररी बोल्न नसक्ने युवती कसरी नेपालको सुन्दरी भइन् भन्ने जिज्ञासा एकातर्फ थियो । अर्कोतर्फ, हामीले आजसम्म कुनै पनि सौन्दर्य प्रतियोगितामा देखेकाभन्दा फरक जिउडाल छ उनको । उनी ‘वेभर वेट’ छिन् । सौन्दर्य प्रतियोगिताको परम्परागत मापदण्डमा ‘मोटो शरीर’ भएका युवतीलाई सुरुमै खारेज गरिन्छ ।

यसपटक मिस नेपाल युनिभर्सको अडिसनमा परम्परागत मापदण्डलाई खुकुलो बनाइएको थियो । अब विवाहित महिला, डिभोर्सी, गर्भवती सबैले भाग लिन पाउँछन् । शरीरको तौलको पनि कुनै छेकवार छैन । त्यसैले जेन सहभागी हुन सकिन् । उनको शरीरको बनावट ३८-३२-४० इन्च छ भने तौल ८० केजी र उचाई ५ फिट ७ इन्च छ । उनी अविवाहित हुन् ।

जेनको जन्म भने अमेरिकामा भएको थियो । उनकी आमा नेपाली र बुबा अमेरिकी हुन् । रोचक कुरा चाहिँ, जेनको पारिवारिक पृष्ठभूमि एक चर्चित पूर्वपञ्चसँग जोडिएको छ । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका पुराना नेता, पूर्वमन्त्री दीपक बोहराकी नातिनी हुन् । दिपककी पत्नी उन्नतिशिला बोहराकी छोरीकी छोरी हुन् जेन ।

आमाले ग्यारेट नामका अमेरिकी व्यापारीसँग विवाह गरेपछि जेन पनि अमेरिकामै जन्मिएकी थिइन् । उनका एक भाइ जोशाया र बहिनी ज्योतिका पनि छन् । जेनले अहिलेसम्म कुनै पनि अन्तरवार्तामा आफ्नो पारिवारिक पृष्ठभूमि राम्ररी खुलाएको पाइँदैन ।

करिब १० वर्षको उमेरमा जेन अमेरिकाबाट नेपाल आएकी हुन् । त्यसपछि उनले नेपालमै बसेर अध्ययन गरिन् । उनलाई नेपाली भाषा सिक्न भने गाह्रो भयो । आफू पढ्ने विद्यालय र परिवारमा समेत अंग्रेजी भाषा मात्रै प्रयोग हुने भएकाले नेपाली राम्ररी बोल्न नसकेको उनले बताएकी छन् । उनी नेपाली राम्ररी पढ्न र लेख्न भने सक्छिन् । बोल्न चाहिँ सुद्द आउँदैन ।

जेन नर्सिङको विद्यार्थी र विजनेस डेभलपर हुन् । उनले हालै मात्र नर्सिङमा ब्याचलर डिग्री (बीएसएन) नेपालबाटै पूरा गरेकी छ्इिन् । साथमा, उनले आफ्नै अनलाइन क्लोथिङ स्टोर पनि सुरु गरेकी छन् ।

सानैदेखि मोडलिङमा रुचि रहेकी उनले थुप्रै फेसन शोहरुमा भाग लिँदै आएकी छन् । मिस युनिभर्समा भाग लिने उनको सबैभन्दा ठूलो सपना थियो । तर, उनका लागि आफ्नो बढ्दै गएको शरीरको तौल सबैभन्दा ठूलो चुनौती बन्यो । धेरैले उनलाई मोटो शरीरका कारण मिस युनिभर्समा पुग्ने सपना नदेख्न सुझाव दिएका थिए । आफ्नो शरीरलाई लिएर हुने टिकाटिप्पणी र आलोचनाले डिप्रेसनमै पुर्याएको उनको अनुभव छ ।

मिस नेपाल युनिभर्सकी साविक विजेता सोफिया भुजेलसँग भेटेपछि मिस नेपाल युनिभर्समा भाग लिन प्रोत्सहित बनिन् जेन । उनले डेडलाइन सकिनुभन्दा अघिल्लो दिन मात्रै एप्लाइ गरेकी थिइन् । यद्यपि, उनलाई जित्ने आशा थिएन । आफ्नो मोटो शरीर नै उपाधिको दौडमा बाधक बन्ने सोचेकी थिइन् । तर, २० जना प्रतिस्पर्धीलाई उछिन्दै उनले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भइन् ।

मिस नेपाल जितिसकेपछि सामाजिक सञ्जालमा ट्रोल हुन थालिन् जेन । उनको भद्दा शरीरलाई लिएर अनेकन टिप्पणीहरु भएका छन् । यद्यपि, उनले सान साल्भाडोरमा हुने मिस युनिभर्सको ७२ औं संस्करणमा स्थान बनाइसकेकी थिइन् ।

मिस युनभर्स २०२३ मा सहभागी भएसँगै अन्तर्राष्ट्रिय मिडियामा उनको चर्चा सुरु भयो । उनको सहभागीता सबैका लागि आश्चर्यको विषय थियो । किनकि मिस युनिभर्स वा कुनै पनि ग्लोबल ब्यूटी पिजेन्टमा प्लस साइजको सुन्दरीलाई अहिलेसम्म प्रतिस्पर्धामा देख्न सकिएको थिएन । जेनको सहभागीतालई मिडियादेखि पब्लिकले पनि सकारात्मकरुपमा स्वागत गरे । उनी सुरुवाती परिचय, राष्ट्रिय भेषभुषा, स्वीमसुट राउन्डमा अब्बलरुपमा प्रस्तुत भएकी थिइन् ।

कतिपयले उनलाई सम्भावित फाइनलिस्टको रुपमा समेत हेरेका थिए । तर, जेनको यात्रा लामो हुन सकेन । उनी टप २० बाट बाहिरिइन् । यसअघि मिस युनिभर्समा नेपालकी मनिता देवकोटाले १० टेनसम्म पुगेर राखेको रेकर्ड तोड्न चुकिन् । यद्यपि, मिस युनिभर्समा भाग लिने विश्वकै पहिलो प्लस साइज मोडलको इतिहास भने उनले बनाइसकेकी छन् ।

त्यसो त जेनलाई मिस युनिभर्समा स्थान दिइँदा एउटा कोणबाट आलोचना पनि नभएको होइन । उनको जिउडाल कुनै पनि सौन्दर्य प्रतियोगितामा भाग लिन सुहाउँदो नभएको टिप्पणी गरिएको थियो । आलोचकहरुलाई जवाफ दिँदै उनले आफू सबैलाई खुशी तुल्याउन नभइ सौन्दर्यको परिभाषा बदल्न उभिएको बताइन् ।

अन्तर्राष्ट्रिय मिडियाहरुले पनि सुन्दरताको ‘स्टेरियोटाइप’ लाई जेनले तोडिदिएका टिप्पणी गरेका छन् । सुन्दरता शरीरको बनौटमा होइन, मन र भावनामा हुन्छ भन्ने भनाइलाई व्यवहारिक रुपमा उनले स्थापित गरेको चर्चा गरिएको छ । मोटो शरीरकै कारण आत्मविश्वास गुमाएकाहरुका लागि जेन एक प्रेरणा स्रोत बनेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *