पलको गृहजिल्लामा ‘ह्यूमिलेट’ भइन् समीक्षा : २३ जनाले मात्रै टिकट काटेपछि स्टेज प्रस्तुति रद्द – Nepal Press

पलको गृहजिल्लामा ‘ह्यूमिलेट’ भइन् समीक्षा : २३ जनाले मात्रै टिकट काटेपछि स्टेज प्रस्तुति रद्द

दाङ । नेपालमा अहिले सर्वाधिक चलेका गायिकामध्ये पर्छिन् समीक्षा अधिकारी । उनलाई हेर्न र सुन्न लालायित दर्शक/स्रोता देशभरि छन् । देश तथा विदेशका स्टेज शोमा उनको उच्च डिमान्ड छ । तर, उनै समीक्षा हालै दाङमा आयोजित एक कार्यक्रममा दर्शकबाटै उपेक्षित भएकी छन् । पर्याप्त दर्शक नआउँदा उनको निर्धारित कार्यक्रम नै रद्द गर्नुपर्‍यो ।

फागु पर्वको पूर्वसन्ध्यामा प्राकृतिक कलाकेन्द्र तुलसीपुरले अरनिको मैदानमा कन्सर्ट आयोजना गरेको थियो । हिजो (१० चैत) मा मुख्य आकर्षण थिइन् समीक्षा । आयोजकले राम्रै प्रचारप्रसार गरेका थिए । समीक्षा कन्सर्टमा प्रस्तुति दिन तुलसीपुर आएर मेट्रो होटेलमा बसिन् । दर्शकको घुइँचो लागेपछि स्टेज उक्लने आशामा होटलमै प्रतीक्षारत् थिइन् । कुर्दाकुर्दै बेलुकीको ५ बज्यो । तर, उनलाई आयोजकबाट स्टेज उक्लन फोन आएन ।

आयोजकले समीक्षालाई स्टेज उकाल्न नसक्नुको कारण थियो, दर्शक अभाव । जोडतोडका साथ समीक्षाको प्रचार गरिए पनि उनको प्रस्तुति हेर्न र सुन्न दंगाली दर्शक इच्छुक देखिएनन् । आयोजक प्राकृतिक कलाकेन्द्रका अध्यक्ष चोभार पौडेलका अनुसार समीक्षा आएको दिन जम्मा २३ वटामात्रै टिकट बिक्री भए ।

‘बेलुकी ५ बजेसम्म २३ वटामात्रै टिकट बिक्री भए,’ पौडेलले नेपाल प्रेससँग भने, ‘यति थोरै दर्शकमा कसरी गीत गाउन लगाउने भनेर स्टेजमा बोलाइएन ।’

आखिर किन समीक्षालाई हेर्न र सुन्न दाङका दर्शक अनिच्छुक बने त ? यसको कारण हो पलविरुद्धको मुद्दा । दाङ अभिनेता पल शाहको गृहजिल्ला हो । आफ्नो गृहजिल्लामा उनी निकै लोकप्रिय पनि छन् । समिक्षाले पललाई गलत मुद्दामा फसाएको भन्ने छाप दंगालीमा परेको छ ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले भने, ‘समीक्षा सहभागी कन्सर्टमा दर्शक नआउनु सोही मुद्दाको साइड इफेक्ट हो ।’

दर्शकमात्र होइन, उक्त कन्सर्टमा दाङका चलचित्र पत्रकारसमेत गएका थिएनन् ।

समीक्षाले २०७८ सल फागुन ११ गते पलविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । अदालतले पललाई जेल समेत पठाएको थियो । तर,  उच्च अदालतबाट पलले सफाइ पाए । १ वर्ष जेल बसेर उनी निस्किएका थिए ।

जेलबाट निस्किएपश्चात पल दाङ आउँदा उनलाई हेर्न करिब १० हजार दंगाली दर्शकले एक हजार मूल्यको टिकट काटेका थिए । तर, समीक्षा आएको कन्सर्टमा एक सयको टिकट काट्न पनि दर्शक तयार नहुनुनुमा पलसँगको लफडा नै मुख्य कारण भएको स्वयम् आयोजक संस्थाका अध्यक्ष पौडेल बताउँछन् ।

‘पलसँगको लफडाकै कारण दंगाली दर्शकले उनलाई हेर्न नचाहेका हुन्,’ उनले भने ।

प्रस्तुति दिन नपाएपछि समीक्षाले सम्झौताबमोजिमको पारिश्रमिक लिएर हिँडेकी छन् । यस विषयमा फोनमा नेपाल प्रेसले जिज्ञासा राख्दा उनले प्रतिक्रिया दिन मानिनन् ।


प्रतिक्रिया

One thought on “पलको गृहजिल्लामा ‘ह्यूमिलेट’ भइन् समीक्षा : २३ जनाले मात्रै टिकट काटेपछि स्टेज प्रस्तुति रद्द

  1. जनताले ठिक गरे कि बेठीक इतिहासलाई तर यो ग्याम्लर दुनियाँ हो तेतिकै कुनै पनि विषय आउदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *