‘कट्टा हान्दिन्छु’ विवादमा ट्विस्ट : चोरीको उजुरी दिनेकै ‘चोरी’ समातियो – Nepal Press

‘कट्टा हान्दिन्छु’ विवादमा ट्विस्ट : चोरीको उजुरी दिनेकै ‘चोरी’ समातियो

पाँच वर्ष पुरानो गीत सेयर गर्दै एलिनाले लेखिन् : को चोर ?

काठमाडौं । गायिका एलिना चौहानले गाएको पछिल्लो गीत ‘कट्टा हान्दिन्छु’ एकातिर सुपरहिट भइरहेको छ भने अर्कोतिर विवादित पनि । रिलिज भएको एक महिनाभित्रै करोड क्लबभित्र प्रवेश गर्ने बाटोमा रहँदा गीतमाथि ‘कपीराइट’ को झ्याउलो आइपरेको हो ।

गायक विश्वराम कार्कीले आफ्नो सिर्जना चोरी गरिएको आरोप लगाउँदै प्रतिलिपि अधिकार कार्यालयमा उजुरी गरेका छन् । कार्कीको आवाजमा पनि कट्टा हान्दिन्छु बोलको गीत युट्युबमा रिलिज भइसकेको छ ।

एलिनाले गाएको गीतभन्दा केही दिन पछाडि कार्कीले गाएको गीतको भिडिओ अपलोड भएको हो । कार्कीको गीत खासै कर्णप्रिय नभए पनि विवाद र चर्चाको बलमा यसले पनि ठिकठाक भ्यूज पाइरहेको छ ।

विश्वरामले १७ जनवरीमा कट्टा हान्दिन्छु गीतको अडियो आफ्नो युट्युब च्यानलबाट रिलिज गरेका थिए । अडिओमा लिरिक्स कार्की जी र महेन्द्र सुबेदीको तथा संगीत क्रेडिट कार्की जीलाई दिइएको छ । त्यसको ५ दिनपछि २२ जनवरीमा एलिनाको गीत रिलिज भयो । यसमा शब्द नेत्र अर्याल र संगीत खेम सेञ्चुरीले दिएका छन् । एलिनाको गीत चर्चामा आए लगत्तै विश्वरामले १ फेब्रुअरीमा आफ्नो गीतको भिडियो रिलिज गरेका हुन् ।

विश्वरामले आफ्नो उजुरीमा दाबी गरे अनुसार उनले २०७८ साल वैशाख १५ गते यो गीत आफ्नो लगानीमा रेकर्ड गराएका थिए ।

म्युजिक भिडियो रिलिज गर्न ढिलाइ भएको उनको भनाइ छ । उक्त गीत हुबहु कपि गरेर भिडिओसहित सार्वजनिक गरिएको उनको भनाइ छ ।

यी दुई गीतका दुईवटा हरफ मिल्दाजुल्दा छन् । संगीत भने फरक छ ।

एलिनाको गीतः

मान दिनेलाई मान दिन्छु, शान दिनेलाई शान दिन्छु
तिमीले धोका दियौ भने मा कसम कट्टा हान्दिन्छु

विश्वरामको गीत:

शान दिनेलाई शान दिन्छु, मान दिनेलाई मान दिन्छु
धेरै बढी बोलेपछि कट्टा हान्दिन्छु

आफ्नो गीतको अडियो आइसकेपछि नेत्र अर्यालले चोरी गरेको आरोप विश्वरामको छ । उनलाई अभिनेता तथा भाइरल म्यान जयकिशन बस्नेतले साथ दिएका छन् । बस्नेतका अनुसार उनले आफ्नो फिल्म धुम २ मा बोलेको हिट डाइलग विश्वरामले अनुमति लिएर गीतमा प्रयोग गरेका हुन् ।

‘खासमा मान दिनेलाई मान दिन्छु, शान दिनेलाई हान्दिन्छु भन्ने डाइलग मैले धुम २ मा लेखेको हो । मैले आफ्नो जग्गा बेचेर बनाएको फिल्ममा राखेको डाइलगको कपीराइट मसित छ । विश्वरामजीले अनुमति लिएर प्रयोग गर्नुभयो । तर, उहाँहरूले अनुमति लिनुभएन,’ बस्नेतले भनेका छन् ।

यस विषयमा अर्यालसँग बुझ्न खोज्दा उनको फोन रिसिभ भएन । गीतका संगीतकार तथा गायक खेम सेञ्चुरीले भने नचाहिँदो विवाद सिर्जना खोजिएको भन्दै उनले दुख व्यक्त गरे । दुई हरफ मिल्दोजुल्दो हुनु संयोग मात्र भएको उनको भनाइ छ ।

सेञ्चुरी भन्छन्, ‘कतिपय बोलिचालीका भाषा र शब्दहरू संयोगवश मिल्न सक्छन् । नेत्र अर्याल आफैँमा अब्बल गीतकार हुनुहुन्छ । उहाँले कसैको चोरिरहनु पर्दैन ।’

उनले थपे, ‘यसरी एकाध पङ्ति संयोगवश मिले भन्दैमा कपीराइट क्लेम गर्दै जाने हो भने त कुनै पनि गीत सुरक्षित नहोलान् ।’

विश्वरामले आफ्नो गीत चोरी भएको दाबी गरिरहँदा नयाँ ट्विस्ट आएको छ । गायिका एलिना चौहानले आफ्नो सामाजिक सञ्जालबाट ५ वर्ष पुरानो एउटा गीत सार्वजनिक गरेकी छन्, जसको केही शब्द विश्वरामको गीतसित हुबहु मिल्छ । मोहन साउदले गाएको सो गीतको बोल छ ‘अब धेरै बोलिस् भने कट्टा हानिदिन्छु ।’

विश्वरामलाई ईंगित गर्दै हाँसोको इमोजीसहित एलिनाले लेखेकी छन्, ‘को चोर ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *