एमाले रुकुमपूर्वको अधिवेशन सुरु, मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेबाट : सचिव अर्याल – Nepal Press

एमाले रुकुमपूर्वको अधिवेशन सुरु, मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेबाट : सचिव अर्याल

रुपन्देही । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले मुलुकका हरेक परिवर्तनको नेतृत्व आफ्नो पार्टीबाटै भएको र एमालेले अंंगालेको नीति, विचार र अडानका कारण आज मुलुक सहि बाटोमा हिँड्न सकेको बताएकी छन् ।

बिहीबार नेकपा एमाले रुकुमपूर्वको नवौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले देशका मुख्य आन्दोलन एमालेकै अगुवाइ र योजनामा सफल भएको बताइन् ।

‘२०४६–०४७ सालको आन्दोलनमा खेलेको भूमिका होस् कि २०५२ सालदेखि सुरु भएको युद्ध ठिक होइन, शान्तिपूर्ण आन्दोलनबाट राजतन्त्र हटाउनुपर्छ भन्ने विचार होस् वा २०६२–०६३ सालको जनआन्दोलनमा नेकपा एमालेको नीति र विचार अनुसार नै सफल भएको हो, यसबाट प्रष्ट हुन्छ कि हरेको आन्दोलनको नेतृत्व र अगुवाई हाम्रो अगुवाईमा भएको छ’, उनले भनिन् ।

इन्चार्ज अर्यालले नेकपा एमाले पहिचान विरोधी नभएको र सबै जाति,भाषा, लिङ, धर्म, संस्कृति, धार्मिक सहिष्णुतासहितको सद्भाव र एकता कायम हुने गरी एकताबद्ध समाज र राष्ट्र निर्माण हुनुपर्छ भन्ने विचारले अघि बढेको बताइन् ।

‘नेपालको संविधान आफूले भने अनुरुप नभएको भन्दै भारतले गरेको नाकाबन्दी भोग्नुपरेको इतिहास कसैले बिर्सेको छैन, इतिहास सही ढंगले भुझ्नु पर्ने र कसको पालामा के भयो भन्ने कुरालाई ध्यान दिन जरुरी छ’ उनले भनिन् ।

सचिव अर्यालले राजनीतिक अस्थिरताका कारण आज आमजनता निराश हुनुपरेको बताउँदै जसको थोरै सीट छ त्यसैको नेतृत्वमा सरकार बन्ने प्रवृत्तिले राष्ट्रलाई थप कमजोर बनाउने बताइन् । उनले जनताका आशाहरुलाई नेकपा एमालेले कुनै हालतमा कुण्ठित हुन नदिने बताउँदै नेकपा एमालेका कार्यकर्तालाई आन्तरिक प्रतिस्पर्धा नभई एमाले विरुद्धको मोर्चाबन्दी र घेराबन्दी जोड्ने कार्यमा एकतावद्व भएर लाग्न आग्रह गरिन् ।

एमाले पोलिटब्यूरो सदस्य खेममान खड्काले बिगतका दिनको समीक्षा र आगामी कार्ययोजना बनाउने यो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको इतिहासलाई कायम राख्ने बताए । उनले नयाँ जोस जाँगरका साथ नयाँ नेतृत्व एकमना एकताका साथ बन्ने र भोलिको चुनौतीको सामना गर्नसक्ने नेतृत्व चयन हुने धारणा राखेका थिए । उनले मुलुकमा राजनीतिक अस्थिरता अन्त्यका लागि दुई कित्ताको राजनीतिक ध्रुवीकरण आवश्यक रहेको धारणा राखेका थिए ।

अधिवेशनमा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले नेकपा एमालेले विकास निर्माणदेखि गुमेको राष्ट्रको जमिन फिर्ता गराउने, रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान केन्द्रीत गराउँदै आएको बताए। उनले नेकपा एमाले दलित जनता, गाउँमा बस्ने गरिव जनता, श्रमजीवी जनताको पार्टी भएको बताउँदै मुलुकको सर्वाधिक लोकप्रिय पार्टी भएको र यसलाई अझ बलियो बनाउन अब बन्ने नेतृत्वको ध्यान केन्द्रित गर्न आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा रुकुम पूर्व इन्चार्ज नवीन रोकामगर, केन्द्रीय सदस्य यमुना रोका, केन्द्रीय सल्लाहकार नन्दलाल शर्मा, छिमेकी जिल्ला रोल्पा अध्यक्ष अमृत बुढा, रुकमपश्चिम अध्यक्ष नन्दराम देवकोटा, जिल्ला अध्यक्ष टोपबहादुर ओली गोपाल रेउले, भावना बुढाथोकीलगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर