अहिलेको गृह प्रशासन समाचारका हेडलाइनका भरमा डराउने खालको छैन – Nepal Press

अहिलेको गृह प्रशासन समाचारका हेडलाइनका भरमा डराउने खालको छैन

– गोष्ठीमा भएको वृहद् छलफलले मधेशको समस्या के हो भन्ने कुराको पहिचान भयो । अब समाधानका उपाय खोजी गर्ने हो भने यहाँ उपस्थित सबै सक्षम छौं । आ-आफ्नो ठाउँमा रहेर सोचौँ । समस्या श्रोत र साधनको मात्रै हो भन्ने मलाई लाग्दैन । हामीभन्दा धेरै राजनीतिक अस्थिरता भएका देश पनि हामीभन्दा अघि छन् । तर, हामी किन छैनौँ ? यो सोच्नुपर्छ ।

– हामी काहीँ न काहीँ कुनै न कुनै दबाबमा काम गरिरहेका छौँ । कानूननले तपाईँलाई दिएको अधिकार कुनै राजनीतिक नेतृत्वलाई नसुम्पिनुस् । तपाईँलाई म मेरो कार्यकालमा कुनै राजनीतिक दबाब दिने छैन । यसबारे मैले पहिले नै स्पष्ट पारिसकेको छु । यदि तपाईँलाई कुनै राजनीतिक दबाब आउँछ भने त्यो मतर्फ सारिदिनुस् । राजनीति म गर्छु तपाईँ दबाबमुक्त भएर काम गर्नुस् । मानिस मरेर जाँदासम्म न्याय नपाएको उदाहरण छ, यो स्थितिको अन्त्य हुने गरी काम गरौँ ।

– प्रदेशसँग समन्वय गरेर काम गर्ने गरी प्रहरी समायोजन ऐन बनाउने कामको सुरुआत भएको छ । परिस्कृत गरेर छिटै संसद्‍मा लैजान्छौं । जनस्तरबाट समेत प्रश्न उठाइएको प्रदेश संरचनामा हाम्रो पनि प्रश्न छन् । यसको अर्थ संविधान या व्यवस्थाको विरोधी होइनौं । अहिलेको प्रदेश संरचनालाई सुधार गरेर भने अघि बढ्नुपर्छ । सुरक्षा निकायले प्रदेशसँग समन्वय गरिरहनुपर्छ ।

– म सञ्चारकर्मी हुँदा सबैभन्दा बढी उठाएको विषय मधेश हो । पार्टी स्थापनापछि पनि महत्व दिइएको क्षेत्र हो यो । उपप्रधानमन्त्री तथा गृहमन्त्रीको हैसियतमा सुरक्षा गोष्ठी राख्न रोजेको स्थान पनि मधेश हो । प्रदेशका मुख्यमन्त्रीले सुरक्षाका सवालमा ध्यान दिनुहोला भनेर गरेको आग्रह सामान्य होइन । म गृहमन्त्रीको हैसियतले यसलाई सामान्य रुपमा मान्न सक्दिन । समन्वयको अभाव भयो भन्ने जुन गुनासो आयो अब त्यो गुनासो नआउने गरी काम गर्नुपर्छ । प्रदेश सरकारसँग समन्वय गरेरै काम गर्नुपर्छ । यसले सुरक्षा प्रबन्धलाई थप बलियो बनाउँछ ।

– सिंहदरबारको गेट छिचोलेर गृहमन्त्रालय पुगेर मन्त्रीलाई भेटेर सचिवालयका कर्मचारीले यस्तो भएको रहेछ भनेर ध्यानाकर्षण गराएपछि हस् हजुर भनेर काम भइहान्ने परिपाटी बसेको छ । यो एकपटक मात्रै होइन पटकपटक भएको छ । नागरिकले दुःख पाउने गरी कसरी कार्यसम्पादन हुन्छ ? हामी कसका मानिस भयौं ? सम्झनुस् कार्यसम्पादन राम्रो भएन भने अब एक क्षण पनि सह्य हुँदैन ।

– मधेशमा दुर्घटना अत्यधिक देखिए । यति धेरै दुर्घटना सामान्य होइन । कसैले परिवारको सदस्य गुमाउनु निकै दुःखद् हो । नियन्त्रणमा गम्भिर रूपले काम गर्नुपर्छ ।

– सीमाको विषयमा हामी गम्भीर छौं । सिमानामा जो खटिनुभएको छ तपाईँलाई अझ बढी श्रोत सम्पन्न बनाउन हामी लागिरहेका छौँ । अवैधरूपमा कारोवार चलाइरहेकाको धन्दा बन्द गर्न कुनै निर्देशन कुर्नु पर्दैन । कसैलाई सोध्नु पर्दैन । अवैध किसिमका कुनै पनि कारोवार कहिँ पनि हुनु हुँदैन ।

– कहिले काहीँ सामाजिक सञ्जालबाट पनि आचरणका सम्बन्धमा तथ्यहीन कुराहरू ल्याइन सक्छन्, नआत्तिनु । अहिलेको गृह प्रशासन समाचारका हेडलाइनका भरमा डराउने खालको छैन । हामी Fact Check गर्छौं । समाचारका लागि कहिले काहीँ संगठनबाटै सूचना चुहाउने प्रवृत्ति छ । समाचार आउला भन्ने डरले कामै नगर्ने, यो हुन सक्दैन । समाचार कसरी बन्छ भन्ने म बुझ्छु, त्यसको पछि तपाईंहरू नलाग्नुस् । समाचारले मात्रै कार्यसम्पादनमा असर गर्दैन । तर, नराम्रो नगर्नु ।

– लागुऔषध प्रयोगकर्तालाई Another Chance,, कारोवारीलाई No Chance । यो मेरो निर्देशन भयो । कैयौं सुधार केन्द्रहरू पीडा दिने केन्द्र बनिरहेका छन् भन्ने गुनासो छ । केन्द्रहरूमा अनुगमनको कमी छ । सुधार केन्द्र नीतिअनुसारका चलेका छैनन् भने अनुगमन गर्नुस् र नीति अनुसारका बनाउनुस् ।

– धार्मिक पर्यटनका लागि मधेश निकै सम्भावना भएको ठाउँ हो । पर्यटकहरूलाई चित्त दुख्ने खालका कुनै पनि कृयाकलाप गृह प्रशासन मातहतबाट नहोस् ।

– अनुचित लेनदेन मधेशमा अझ व्याप्त छ, यस्ता समस्या समाधानका लागि आयोग बनाइएको छ । कहिले काहीँ प्रहरी प्रशासनले पिडक या साहूकरकै पक्षमा काम गरेको गुनासो आउँछ । त्यसो नहोस् । जिल्ला प्रशासनमा आएका हुन् या प्रहरीमा आएका पीडित, उनीहरूलाई साहू महाजनकै मिलेमतोमा धरपकड गर्ने काम त भइरहेको छैन ? सचेत हुनुस् ।

– कुनै लाभका लागि धार्मिक आस्थाका नाममा नागरिक लडाउने काम भइरहेको त छैन ? यसलाई निकै सुक्ष्म निगरानी गर्नुस् । संविधानले सबैलाई आफ्ना धार्मिक कृयाकलाप गर्ने छुट दिएको छ । तर, त्यही आधारमा मानिसहरूलाई उत्तेजित बनाउने काम भइरहेका छन् । त्यसमा गम्भीर भएर निगरानी बढाउनु पर्छ । सञ्चारमाध्यममा समाचार आएपछि त्यसैलाई आधार बनाएर सुरक्षा निकायले सतर्कता बढाएको देखिन्छ, हाम्रा श्रोतहरु कमजोर हुनु हुँदैन । हामीले कुनै पनि घटनाको पूर्वसूचना पाउन र राख्न सक्नुपर्छ । सामाजिक सद्भाव कसरी बढाउन सकिन्छ भन्ने कुरामा जोड दिनुहोस् ।

– मधेशमा बाढी र कटानले क्षती हुनसक्ने पूर्वानुमान भएकोप्रति ध्यानाकर्षण भएको छ । त्यसलाई कसरी कम गर्न सकिन्छ र कति तयारी गर्न सकिन्छ भन्नेमा हामी केन्द्रमा पनि काम गर्नेछौँ । विपद्का कारण कुनै पनि नागरिकको मृत्यु हुने स्थिति आउन नहुनेमा राज्य गम्भीर हुनुपर्छ ।

– कुनै कर्मचारीको वृत्ति विकासका लागि कुनै नेता चिन्न र कुनै कार्यकर्ताको हात समात्न नपर्ने गरी नीतिगत व्यवस्था गर्न लागिरहेका छौँ । अब एआईजीसम्मको वृत्ति विकास स्वचालित प्रणालीबाट हुनेछ । तपाईँको बढुवाको मूल्यांकन तपाईँकै कार्यसम्पादनको आधारमा हुनेछ । र, त्यो मूल्यांकन अहिलेबाटै सुरू भएको छ । अब कुनै दल, नेता र कार्यकर्ताका लागि काम गर्नुस् । आजै राति सुत्नुअघि आफ्नो मोबाइल जाँच गर्नुहोस् र मूल्यांकन गर्नुहोस्, हामीले सबैभन्दा धेरै कुरा गर्ने व्यक्ति कुन वर्गका हुन् ? नेता हुन् कि आम सर्वसाधारण ? यसको जवाफ कसैलाई दिनु पर्दैन, यसले तपाईँ आफैंलाई आफ्नो कार्यसम्पादनबारे स्पष्ट बनाउँछ । जुन तपाईँको वृत्ति विकाससँग जोडिन्छ ।

– केही महिनामै मधेशका केही जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरियो भन्ने चर्चा चल्यो । उहाँहरूले थप राम्रो गर्नुहोला भनेर उपयुक्त स्थानमा लगेर ति जिल्लामा पनि राम्रो काम होस् भनेर उपयुक्त पात्र नै ल्याएको हो । दुवैतर्फकाले फरक शैलीले काम गर्नुभएन र तत्काल सुधारको नतिजा दिन सक्नु भएन भने फेरि जिम्मेवारी परिवर्तन हुन्छ, कति दिन कति महिना भन्ने नै हुँदैन ।

(मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राखेको मन्तव्यका सम्पादित मुख्य बुँदा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर