एमाले पर्वत अधिवेशन : गणेश तिमिल्सिनासहित नेताहरूको समूहसँग एक्लै भिड्दै पदम गिरी – Nepal Press

एमाले पर्वत अधिवेशन : गणेश तिमिल्सिनासहित नेताहरूको समूहसँग एक्लै भिड्दै पदम गिरी

पोखरा । नेकपा एमालेको पर्वत जिल्ला अधिवेशनमा कानूनमन्त्रीसमेत रहेका युवा नेता पदम गिरी समर्थित उम्मेदवारलाई पराजित गर्न राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिनासहित केन्द्रीय नेताहरू एकजुट भएका छन् ।

मंगलबार उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि रस्साकस्सी चलिरहेका बेला पदम गिरीको बढ्दो प्रभाव रोक्न सबै नेताहरू एकजुट भएका हुन् ।

राष्ट्रियसभा अध्यक्ष हुनुअघि एमाले पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्जसमेत रहेका तिमिल्सिना यसपटक केन्द्रीय सदस्य मनोनीतसमेत हुन नपाएपछि पार्टीको नेतृत्वसँग असन्तुष्ट बनेका छन् ।

तत्कालीन सभामुख सुवास नेम्वाङ पदबाट बाहिरिएको भोलिपल्टै एमालेले स्थायी कमिटीमा मनोनीत गरेको नजिर देखाएर तिमिल्सिनाले पनि स्थायी कमिटी दाबी गरेका थिए । तर, उनी केन्द्रीय सदस्यसमेत मनोनीत हुन सकेका छैनन् ।

यसको झोक फेर्न उनले पर्वतमा पदम गिरीविरुद्ध केन्द्रीय र प्रदेशस्तरीय नेताहरूलाई संगठित गरेर अधिवेशनमा शक्ति प्रदर्शन गरेको जिल्लाका नेताहरूले बताएका छन् । तिमिल्सिना अध्यक्षबाट बाहिरिएलगत्तै पर्वत आएर पदम गिरीविरुद्ध कार्यकर्ता भेला गर्दै हिँडेको आरोप छ ।

गिरीले दुई पटक सांसद जितेर प्रमुख सचेतक हुँदै दुईपटक मन्त्री बनेपछि उनको प्रभाव बढेको छ । गिरीको पक्षमा तल्लो पंक्तिका कार्यकर्ताहरु देखिए पनि केन्द्र र प्रदेशस्तरीय नेताहरू भने उनको विपक्षमा प्यानलबन्दीमा जुटेका छन् ।

गिरी समर्थितलाई अध्यक्ष बन्न नदिन तिमल्सिनासहित केन्द्रीय सदस्य कल्पना चापागाईँ, गण्डकीका पूर्वमन्त्री विकास लम्साल, प्रदेश कमिटी उपसचिव मन्जु अधिकारी, प्रदेशसभा सदस्यहरू भक्त कुँवर, मित्रलाल बस्याल, फलेबासका पूर्वमेयर पदमपाणी शर्मालगायत नेताहरूले एउटै प्यानल बनाउने तयारी गरेका छन् ।

गिरी पक्षबाट अध्यक्षमा गोविन्द पहाडीको उम्मेदवारी घोषणा भएको छ । गणेश तिमल्सिनासहितका अन्य नेताहरूको प्यानलबाट वर्तमान अध्यक्ष राजु पौडेल र पदमपाणी शर्मामध्ये एकजना उम्मेदवार बन्ने तयारी छ ।

सर्वसम्मतिको पहल भइरहे पनि अन्ततः निर्वाचनको सम्भावना रहेको नेताहरुले बताएका छन् । गिरी गण्डकीको राजनीतिमा खगराज अधिकारी पक्षका हुन् भने अन्य नेताहरू पृथ्वीसुब्बा गुरुङ पक्षका मानिन्छन् ।

तिमिल्सिना र गिरी पक्षबीच प्रतिनिधि ल्याउने बेलादेखि नेतृत्वमा रस्साकस्सी चलिरहेको छ । तिमल्सिना पक्षले पहिलेकै नेतृत्वलाई दोहोर्‍याउने कसरत गरिरहदा युवा टीमको नेतृत्व गर्दै मन्त्री गिरी निवर्तमान जिल्ला कमिटी सचिव पहाडीको पक्षमा लागिपरेका छन् ।

गिरी समूहबाट पहाडी एक्ला प्रतिस्पर्धी बन्दा तिमिल्सिना पक्षबाट राजु पौडेल र पदमपाणी शर्माले आ-आफ्नो दाबी प्रस्तुत गरेका छन् । वर्तमान अध्यक्ष राजु पौडेलले नेतृत्वमा दोहोरिने चाहना राखेका छन् । पदमपाणी शर्माले वर्तमान उपाध्यक्ष भएकाले स्वाभाविकरूपमा नेतृत्वको दाबी कर्ताका रूपमा आफूलाई पेस गरेका छन् ।

तिमिल्सिना पक्षले कुश्माको रोयल कुश्मा होटललाई सचिवालय बनाएर चुनावकेन्द्रित तयारी गरिरहेको भएपनि तिमिल्सिनाले राजु पौडेललाई बोक्ने संकेत पाएपछि बलियो मानिएका पदमपाणी शर्मा भने अप्ठेरोमा परेका छन् ।

तिमिल्सिना पक्ष वर्तमान अध्यक्ष राजु पौडेललाई नै सकेसम्म सर्वसम्मत गर्ने नभए निर्वाचनमा भिड्ने मुडमा रहेको छ ।

हालसम्म एमाले पर्वतमा गुट नभएपनि गत फागुन २० गते राष्ट्रियसभा अध्यक्षको पदावधि सकिएर जिल्ला फर्किएका गणेश तिमिल्सिना पालिका दौडाहामा हिडेपछि गिरी पक्षले काउन्टर दिन र नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न बलियो तयारी गरिरहेको छ ।

यसबीचमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि पर्वत पुगेका छन् । एमाले पर्वतका अध्यक्ष राजु पौडेलले आफ्नो नेतृत्वमा एमाले पर्वतले धेरै सफलता पाएकाले पुनः नेतृत्वको दौडमा होमिएको बताए ।

उनले भने, ‘म अध्यक्ष भएपछि एमाले पर्वतले धेरै सफलता पाएको सबैलाई छर्लङ्गै छ । मेरो कार्यकाल ९ महिना बाँकी रहदै अधिवेशन गर्न लागेका छौं, यसले पनि मैले धेरै भन्न परेन ।’

उनले सकेसम्म सर्वसम्मत गर्ने प्रयास आफू रहेको बताए । सहमति नभएमात्र निर्वाचनमा जाने बताए । उता उपाध्यक्ष पदमपाणी शर्माले आफू तल्लो पदबाट क्रमिक रुपमा उपाध्यक्षसम्म आएकोले अध्यक्षका लागि आफ्नो दाबी स्वाभाविक भएको दाबी गरे ।

उनले आफूलाई नेता कार्यकर्ताले न्याय गर्नेमा विश्वस्त रहेको बताए ।

यस्तै गिरीपक्षका गोविन्द पहाडीले नेकपा एमाले पर्वत हाँक्नसक्ने व्यक्ति आफू नै भएको दाबी गरे । प्रतिनिधि चयन भएपछि हौसिएका पहाडीले प्रतिस्पर्धा गर्नेगरी आफूले तयारी गरेको बताउँदै आएका छन् ।

राजु पौडेललाई अध्यक्ष बनाउने बेला नै १० औं अधिवेशनमा पहाडीलाई नेतृत्व हस्तान्तरण गर्ने भनेर तिमिल्सिनाले बोलेको गिरी पक्षले स्मरण गराएको छ । यस्तोमा तिमिल्सिनाले पछिल्लो समय आफ्नो वचनविपरीतको सक्रियता बढाएपछि गिरी पक्ष त्यसको बलियो जवाफ दिने तयारीमा लागेको उनीहरूको दाबी छ ।

अधिवेशनमा भाग लिन ६१ वटै वडा, जिल्ला कार्य समिति, पालिका समिति, जनवर्गीय संगठन गरी तीन सय ८३ जना प्रतिनिधि सहभागी छन् । तर, कुश्मा नगरपालिका-११ पक्कुवाको भने प्रतिनिधि विवादका कारण टुंगो लाग्न सकेको छैन ।

तिमिल्सिना समूहले होटललाई तयारी स्थल बनाएको छ भने गिरी पक्षधरले पार्टी कार्यालय र अधिवेशन स्थलमा बसेर आफ्नो रणनीति बनाइरहेको छ ।


प्रतिक्रिया

One thought on “एमाले पर्वत अधिवेशन : गणेश तिमिल्सिनासहित नेताहरूको समूहसँग एक्लै भिड्दै पदम गिरी

  1. hotel मा होइन कार्यालयलाई अधिवेशन स्थल मान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर