उम्मेदवार खोज्नुपर्ने एमाले रुकुमपूर्वमा अहिले ‘माथापच्ची’, नेतृत्वका लागि आधा दर्जन आकांक्षी – Nepal Press

उम्मेदवार खोज्नुपर्ने एमाले रुकुमपूर्वमा अहिले ‘माथापच्ची’, नेतृत्वका लागि आधा दर्जन आकांक्षी

तीन जनाबीच मुख्य प्रतिस्पर्धा हुने

रुपन्देही । केही वर्ष पहिले नेकपा एमालेबाट सबै ठाउँमा उम्मेदवार बनाउन अनुरोध गर्नुपर्ने लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा अहिले नेतृत्वका लागि माथापच्ची चल्न थालेको छ । अहिले जिल्ला नेतृत्वका लागि आधा दर्जन आकांक्षी मैदानमा पुगेपछि पार्टीमा नेताहरुलाई मिलाउन चुनौती देखिएको छ ।

एमाले रुकुमपूर्वको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि आकांक्षी धेरै जना भएपनि तीन जनाको मुख्य प्रतिस्पर्धा रहेको नेताहरुको बुझाई छ ।

चैत २९ र ३० गते आयोजना गरिएको अधिवेशनका लागि अहिलेका अध्यक्ष टोपबहादुर वली, प्रदेश कमिटी सदस्य लीलामणि गौतम र प्रतिनिधि सभामा उम्मेदार रहेका कैलाश मल्ल नेतृत्वका लागि बलियो दावेदारका रुपमा अगाडि सरेका छन् ।

उनीहरुसँगै किसान महासंघ अध्यक्ष ओपेन्द्रलाल कामी, बागलाल बुढा, तेजेन्द्र बुढा, पशुपति खड्का पनि आकांक्षी रहेका छन् । केही वर्षअघि वडावडामा उम्मेदारका लागि पनि व्यक्ति खोज्नुपर्ने यो जिल्लामा २ हजार ४४ पार्टी सदस्यमध्ये ३४४ जना प्रतिनिधि छनौट भएको एमाले नेताको भनाइ छ । ती मध्ये ११४ जना आयोजक र बाँकी प्रतिनिधि छनौट भएका हुन् ।

अधिवेशनका उद्घाटनका लागि पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल आउने निश्चित भएको र अन्य तयारी पूरा भएको एमाले केन्द्रीय सदस्य तथा सो जिल्लाका इन्चार्ज नबिन रोकाले नेपाल प्रेसलाई बताए ।

‘प्रतिनिधि छनौटको काम पूरा भएको छ, नेतृत्वका लागि आकांक्षीहरु आउनु त स्वभाविक हो तर सकेसम्म सर्वसम्मत नेतृत्व छान्न सबैको सल्लाह छ’, उनले भने ।

नयाँ नेतृत्वको लागि दावेदारी गरेका प्रदेश कमिटी सदस्य लीलामणि गौतमले सबैको सल्लाहमा पार्टीको नेतृत्वको लागि अगाडि सरेको बताए । ‘अहिले जिल्लामा पार्टी बलियो बन्दै गएको छ, यसअघि प्रदेश कमिटीमा रहेपनि यहाँको कमिटीलाई बलियो बनाउन धेरै साथीहरुको आग्रहअनुसार म नेतृत्वको लागि तयारी भएको हुँ, अहिले आकांक्षीको नाम धेरै आएपनि मलाई सबैले सर्वसम्मत गर्नुहुन्छ भन्ने लागेको छ’ गौतमले भने ।

अर्को आकांक्षी कैलाश मल्लले यसअघिको सहमतिअनुसार आफूले नेतृत्वको दावेदारी गरेको बताउँछन् । प्रदेश अधिवेशनकै समयमा मलाई जिल्ला नेतृत्व दिने भनेर समझदारी भएको हो, गत निर्वाचनमा यहाँ पार्टीले पराजित हुने निश्चित भएपनि म मैदानमा पुगेको हुँ, त्यो लगानीका हिसाबले र प्रदेश निर्वाचनमा गरिएको समझदारीअनुसार मलाई न्याय गरेर नेतृत्व दिनुहुनेछ, छलफलमा अनेकता र निर्णयमा एकताअनुसार अगाडि जान सकिन्छ भन्ने बुझेको छु’, मल्लले भने ।

अहिलेका जिल्ला अध्यक्ष टोपबहादुर वलीले लामो समय आफूले जिल्लामा अगुवाई गरेकाले अब सर्वसम्मत भएमात्रै नेतृत्वमा जाने तर निर्वाचन हुने भए नजाने बताए । ‘अब म चुनाव लडेर नेतृत्वमा जाने मुडमा छैन, धेरै साथीहरुको आकांक्षा बढेकाले सहमतिमा मलाई नै जिम्मेवारी लिन सबैको आग्रह भएमात्रै जाने हो’, उनले भने ।

नेकपा माओवादीले बलियो आधार क्षेत्र मानेको यो जिल्लामा तीन गाउँपालिका मात्रै रहेका छन् । सुरुमा एमालेमा संगठित सदस्यतासमेत कमजोर भएपनि अहिले बिस्तारै बलियो बन्दै गएको एमाले नेताहरुको भनाइ छ ।

पछिल्लो स्थानीय तहको निर्वाचनमा सिस्ने गाउँपालिका उपाध्यक्षसहित ३ वडामा, भूमे र पुथा उत्तरगंगाका एक एक वडाध्यक्षमा एमालेका उम्मेदार विजयी भएका थिए । जिल्लाका ३१ वडामध्ये ५ वडामा एमालेले जितेको हो ।

सो क्षेत्रमा झण्डै ३५ वर्षदेखि पार्टीमा काम गरेका टोपबहादुर वलीले पहिले पार्टीको अस्तित्व बचाउन संकट पर्ने जिल्लामा नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकांक्षी आउनु निकै खुसीको कुरा भएको बताउँछन् । माओवादीको आधार इलाका भएको ठाउँमा ठूलो मेहनतका साथ पार्टीलाई जोगाएको र पछिल्लो समय धेरै मजबुत बन्दै गएको उनको दाबी छ ।

‘पछिल्लो स्थानीय तहको निर्वाचनमा ३१ वडामध्ये ५ वडा र एक पालिका उपाध्यक्षमा जितेका छौं, बाँके, रुकुममा भन्दा हामीले बढी नजिता निकालेका हौं, सबै दल एकातिर हुँदा पनि त्यो नतिजा धेरै राम्रो हो,अहिले अझै चार्मिङ बढेको छ’, वलीले भने । माओवादीको सशस्त्र युद्धका बेला सदरमुकाम केन्द्रीत गरेर पार्टीलाई जोगाएको बताउँदै उनले अहिले त्यो बेलाको अवस्थाबाट धेरै सहज भएको बताउँछन् ।

२०४७ सालको पुसमा पार्टीको सदस्य भएको बताउने वलीले सरकारी शिक्षण पेशा छाडेर एमालेको राजनीतिमा लागेका थिए । जिल्लामा एमालेलाइृ बलियो बनाउन पोलिब्यूरो सदस्य खेममान खड्का, केन्द्रीय सल्लाहकार परिषद सदस्य नन्दलाल बुढाको ठूलो योगदान रहेको वलीको भनाइ छ ।

उनीहरुसँगै अहिले नेकपा एसमा रहेका शेरबहादुर केसी, देवी वली, भीउमान घर्ती, विमल पुन खगेन्द्र घर्तीले पनि उत्तिकै संघर्ष गरेको र अहिले पनि पुनः एकता गरेर बलियो बनाउन चाहेको वली बताउँछन् ।

पछिल्लो समय पार्टीलाई जिल्लामा बलियो बनाउन नेकपाकालको एकता प्रकृयामा पहिले लामो समय माओवादीमा रहेका नेताहरुले एमाले रोजेका कारण पनि धेरै सहज भएको उनको विश्लेषण छ । पछिल्लो संघीय निर्वाचनमा उम्मेदवार बनेका कैलाश मल्ल, किसान महासंघका अध्यक्ष ओपेन्द्रलाल कामी, लजिम पुन, निर्माण बुढा, तेजेन्द्र बुढा नेकपा एकता प्रकृयापछि एमाले रोजेर बसेका नेताहरु हुन् ।

जिल्लामा यी प्रभावशाली नेताहरुले एमाले रोज्नु र माओवादीभित्रै नेतृत्वमा आउने खटपटका कारण पनि एमाले बलियो बन्दै गएको नेता वलीको विश्लेषण छ ।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा यसअघि रुकुममा जिल्ला अधिवेशन सकिएको छ भने अन्य जिल्लामा तयारी गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर