तीन महिनामा ६ प्रतियोगिता जितेकी सन्तोषीको गोजीमा ९ लाख नगद पुरस्कार, भन्छिन्- ओलम्पिक खेल्न पाउँछु की भन्ने आशा छ – Nepal Press

तीन महिनामा ६ प्रतियोगिता जितेकी सन्तोषीको गोजीमा ९ लाख नगद पुरस्कार, भन्छिन्- ओलम्पिक खेल्न पाउँछु की भन्ने आशा छ

काठमाडौं। १९ औँ एसियाली खेलकुद (एसियाड) मा पदक जित्ने लक्ष्यसहित सन्तोषी श्रेष्ठ तयारी गर्न इथियोपिया पुगेकी थिइन्। युरोपमा १० किलोमिटर रोड रेसमा नयाँ राष्ट्रिय कीर्तिमानको समय निकालेर फर्किएकाले सन्तोषीलाई लिएर नेपाली एथलेटिक्स आशावादी थियो। उनी निर्धारित ३ महिना नै इथियोपिया बसिन् तर अन्तिम समयमा पुरानो चोट बल्झियो। पैतालाको बीच भागमा दुखाई बढ्न थाल्यो।

‘नेपाल आएपछि मौसम नमिलेर बिरामी पनि भएँ’, सन्तोषीले भनिन्। अक्टोबरको पहिलो साता चीनको होङजाउमा आयोजित एसियाडको १० हजार र ५ हजार मिटरमा उनले प्रतिस्पर्धा गर्नु पर्ने थियो। १० हजार मिटरमा उनले दौड त पुरा गरिन् तर ट्र्याकबाट ह्विल चेयरमा राखेर निकाल्नु पर्‍यो । उनले सहभागी ९ जनामध्ये छैटौँ स्थान हात पारेकी थिइन्। ५ हजार मिटरमा उनी दौडनुअघि खुबै रोइन् र साढे २ राउन्ड दौडिएपछि ट्र्याक छाडिन्।

‘इन्डोरमा वाम अर्प गर्ने बेला म धेरै नै रोएँ किनभने निकै पिडा भइरहेको थियो। म दौडिन सक्ने अवस्थामै थिइन्। तर नाम लेखिसकेको छ सुरु मात्र गरे पनि हुन्छ भनेकाले मैले नाईँ भन्न सकिनँ। सायद मेरो करियरको यो सबैभन्दा बढी विर्सनलायक समय थियो। मैले, मेरो गुरुले जे सोच्नु भएको थियो एसियन गेम्सका लागि, हामीसँग निराशाबाहेक केही थिएन। मेरा लागि प्रकोप, डिजास्टर जे जति भनिन्छ नि त्यो सबै भएजस्तो भयो’, सन्तोषको तितो अनुभव छ।

अनपेक्षित नतिजापछि घर फर्किएकी सन्तोषीले केही समय (दशैँ) बेड रेस्ट नै गर्नु परेको थियो। इथियोपिया जाँदा तिर्न बाँकी रहेको करिब साढे ३ लाख कसरी भुक्तान गर्ने भन्ने चिन्ता एकातिर थियो भने अबको उपचार र त्यसका लागि आवश्यक खर्च कसरी जुटाउने कुराले थप पिरोल्न थाल्यो।

सन्तोषी नेपाली एथलेटिक्सकी कीर्तिमानी खेलाडी हुन्। नेपालमै आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेर घरेलु एथलेटिक्समा कीर्तिमान रचेकी थिइन्। साग एथलेटिक्समा नेपाली महिला खेलाडीले जितेको यो पहिलो स्वर्ण थियो।

यस्तै एथलेटिक्सको ट्र्याक इभेन्टमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्। विभागीय टोली आर्मी, पुलिस र एपीएफको दबदबा तोडेर उदाएकी सन्तोषीको यो सफलता समग्र नेपाली खेलकुदकै लागि उदाहरणीय थियो। तर म्याराथन र हाफ म्याराथनबाहेक नेपाली एथलेटिक्सको व्यावसायिक पक्ष कमजोर भएकाले खेलेरै जीवीको चलाउँछु भन्नेका लागि कम चुनौतीपूर्ण छैन।

‘ल अब कसरी चल्ने होला नि भन्ने कुराले बेचैन हुन थालिसकेको थिएँ। के गर्ने, कसो गर्ने केही पत्तो पाइरहेको थिइनँ’, सन्तोषीले आफ्नो उकुसमुकुस व्यक्त गरिन्। उनीसँग निको भइहाले खर्च निकाल्न सक्छु भन्ने हिम्मत भने पुरापुर बाँकी थियो। २ वर्षयता व्यावसायिक रूपमा सञ्चालन हुने गरेका हाफ म्याराथनको उपाधि पुरस्कार सन्तोषीको पोल्टाबाट कसैले खोस्न सकिरहेको थिएन।

‘गत वर्ष नेपालमा यस्ता प्रतियोगिता हुने बेला म विदेशमा थिएँ। त्यसैले छुटेको थियो। सायद आर्थिक रूपमा त्यही भएर पनि मलाई गाह्रो भयो। भएको जागिर पनि छोडिसकेको थिएँ’, उनले भनिन्। सन्तोषी सडकमा दौडिएरै नेपाली एथलेटिक्समा उदाएकी हुन्। उनले राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा उपाधि जित्दासम्म सरकारी एथलेटिक्स प्रशिक्षकसम्म पुग्नु परेको थिएन।

उनी भोलेन्टियर प्रशिक्षक रघु वन्तको निगरानीमा आफूलाई तयार गरिरहेकी थिइन्। सायद सडकमै दौडिएर उठेको खेलाडी भएर हुन सक्छ, उनको नजर मोटो पुरस्कार राशि भएका म्याराथन र हाफ म्याराथनमा पर्न थालेको थियो। हुन त उनले आफ्नो करियरकै सुरुवाती समयमा कान्तिपुर हाफ म्याराथनमा दौडिएर महिलातर्फ दोस्रो स्थान हात पारेकी थिइन्।

‘तर म त्यति बेला व्यावसायिक रूपमा तयार भएर खेलेको थिइनँ। कस्तो हुँदो रहेछ भनेर फनका लागि लिन जाँदा दोस्रो भएँ’, उनी भन्छिन्। २ वर्षयता उनी हाफ म्याराथनमा नियमित दौडिन थालेकी हुन्। पहिलो प्रतिस्पर्धामै उनलाई नेपालगन्ज म्याराथनमा पहिलो स्थान प्राप्त भएको थियो। त्यसयता घरेलु हाफ म्याराथनमा सन्तोषीका लागि पहिलो स्थान ‘रिजर्भ’ जस्तै बनिरहेको थियो। त्यसैले निको भए चाँडै सबै कुरा ठिक भइहाल्छ नि भन्ने उनलाई लागिरहन्थ्यो।

‘तिहार नजिकिइरहेका बेला म हिँड्न र हल्का जगिङ गर्न थालिसकेको थिएँ। भाइटिकाकै भोलिपल्ट थाइल्यान्डमा एथलेटिक्सकै कोर्स गर्न जानुपर्ने भयो। पहिला वर्ल्ड एथलेटिक्स र एडिसी जाकार्ताले आयोजना गरेको कोर्स लिएकाले म थाइल्यान्डका लागि छनोट भएको थिएँ। ४५ देशबाट ११ जना सेलेक्ड गर्दा म पनि परेको रहेछु’, उनले भनिन्। त्यो एथलेटिक्सकै लिडरसिप सम्बन्धी ट्रेनिङ थियो।

उनी ६ दिन त्यहाँ बसेर नेपाल आएकै भोलिपल्ट नेपालगन्ज कन्क्लेभमा सहभागी भइन्। त्यसको भोलिपल्ट नेपालगन्ज म्याराथन थियो। सन्तोषीले पनि दौडिने निर्णय लिइन्। यो उनका लागि पुनरागमन गर्ने प्रतियोगिता पनि थियो। त्यहाँ उनले पहिलो स्थान हात पारेर ७५ हजार रुपैयाँ जितिन्। ‘यसले मेरो आत्मविश्वास यति बलियो भयो की अब म तयार भइसकेछु भन्ने लाग्यो’, सन्तोषीले भनिन्।

जनवरीको २६ तारिखमा बंगलादेशमा बंगबन्धु शेख मुजिब ढाका म्याराथन आयोजना हुन लागेकाले सन्तोषीको नजर त्यसतर्फ पर्न थाल्यो। यो ३ हजार अमेरिकी डलर पहिलो पुरस्कार रहेको प्रतियोगिता मात्र थिएन, प्रतिष्ठित खेलाडीहरू पनि प्रतिस्पर्धा गर्दै थिए।

सन्तोषी ढाका उड्नुअघि दार्जिलिङ पुगेर त्यहाँ आयोजित एक अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पनि सहभागी भइन्। त्यहाँ उनी दोस्रो भइन् र ७५ हजार भारतीय रुपैयाँ प्राप्त भयो। एकपछि अर्को सफलताले उनी बंगबन्धु जितेर सन् २०२४ लाई उत्कृष्ट सुरुवात दिलाउन तयार भइरहेकी थिइन्।

‘मेरो खेल जीवनकै पहिलो म्याराथन प्रतिस्पर्धा भएकाले म एक्साइटेड पनि थिएँ’, उनले सुनाइन्। तर, सन्तोषीलाई उपाधि नै हात लाग्यो र त्यो पनि राष्ट्रिय कीर्तिमानी समयसहित। त्यहाँ कर काटेर २३ सय अमेरिकी डलर अर्थात् तीन लाखभन्दा बढी नेपाली नगद पुरस्कार प्राप्त भयो। नेपाल फर्किएर उनी तीन सातापछि पोखरा हाफ म्याराथनमा सहभागी भइन्।

त्यहाँ पनि उनले एक लाख ५० हजार रुपैयाँ राशिको उपाधि पुरस्कार जितिन्। कर काटेर उनको गोजीमा १ लाख १२ हजार जति पर्‍यो । त्यसयता सन्तोषीले १० किलोमिटर दुरीको धरान रोड रेस जितेर ६० हजार, नेपाल आर्मी हाफ म्याराथन जितेर एक लाख नगद र स्कुटर, रन फर प्रोटिन हाफ म्याराथन जितेर एक लाख ५० हजार रुपैयाँ जितिन्।

पछिल्ला यी तीन प्रतियोगितामा दिइएको यो रकम कर काटिए पश्चातको हो। फेरी उनले शनिवार लुम्बिनीमा २ लाख रुपैयाँ पुरस्कार राशिको लुम्बिनी पिस हाफ म्याराथनको उपाधि जितेकी छिन्। यो पनि कर काटिए पश्चातको रकम हो। उनले सन् २०२४ मा मात्र प्रतिस्पर्धा गरेका सबै ६ प्रतियोगिता जितेकी छिन् र यसमा ९ लाख रुपैयाँभन्दा बढी नगद पुरस्कार सन्तोषीको गोजीमा परेको छ।

‘सायद हरेक पटक मैले मात्र जितिरहँदा आयोजकलाई पनि खुसी नै लाग्छ होला’, सन्तोषी हाँसिन्। प्रतियोगितामा खेल्न जाँदा, फर्कँदा खर्च पनि हुन्छ। फिजियो थेरापी गरेबापत दैनिक एक हजार रुपैयाँ तिर्नुपर्छ। यो सबै आफ्नो गोजीबाट निकाल्नुपर्ने सन्तोषीले सुनाइन्। इथियोपिया जाँदा तिर्न बाँकी रहेको साढे ३ लाख रुपैयाँ सरकारले भुक्तान गरिदिने आशा उनले मारेकी छैनन्। ‘त्यति बेला जाने बेला ३ लाख रुपैयाँ दिइयो। फर्केर आएपछि बाँकी मिलाउने भनेकोमा त्यो उधारोमै बसेको छ। मैले आशा मारेको छैन’, उनले भनिन्।

सन्तोषीको इच्छा छ अब ओलम्पिक खेल्ने। विश्वभरबाट खेलाडीको महाकुम्भ ओलम्पिक खेल्ने सपना सन्तोषीले आज देखेकी होइनन्। व्यावसायिक रूपमा खेल्न थालेयता एकपटक चाहिँ जसरी पनि ओलम्पिक खेल्छु भन्ने प्रण गरेको उनले सुनाइन्।

एकपछि अर्को सफलतापछि सन्तोषीले आगामी योजनाबारे सुनाइन्, ‘अहिले केही सोचेको छैन( ओलम्पिक नै जान पाउँछु की भन्ने आसमा छु।’ ओलम्पिक खेलकुदमा पौडी र एथलेटिक्समा हरेक देशको सहभागिता अनिवार्य गरिएको हुन्छ। एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले कसलाई पठाउने भन्ने मात्र निर्णय गर्ने हो। यही कारण सन्तोषी यतिबेला आशावादी छिन्। १३ औँ सागपछि नेपालमा आयोजना भएका कुनै पनि प्रतियोगितामा नहारेकी सन्तोषीको ओलम्पिक दाबेदारी बलियो देखिन्छ।


प्रतिक्रिया

One thought on “तीन महिनामा ६ प्रतियोगिता जितेकी सन्तोषीको गोजीमा ९ लाख नगद पुरस्कार, भन्छिन्- ओलम्पिक खेल्न पाउँछु की भन्ने आशा छ

  1. हार्दिक बधाई तथा आगामी खेल जीवनको लागि हार्दिक शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *