बझाङका एमाले उम्मेदवार भण्डारीको दाबी- अघिल्लो गठबन्धन तोडिएको छ, जित्नेमा ढुक्क छौं – Nepal Press
नेपाल टक

बझाङका एमाले उम्मेदवार भण्डारीको दाबी- अघिल्लो गठबन्धन तोडिएको छ, जित्नेमा ढुक्क छौं

कैलाली । बझाङ प्रदेशसभा १ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । नेपाली कांग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि उक्त क्षेत्र रिक्त भएको थियो ।

अघिल्लो निर्वाचनको परिणामअनुसार यहाँ नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ २०४८ र २०५६ साल संसदीय निर्वाचनमा कांग्रेस विजयी भएको थियो । त्यसयता नेकपा एमाले र पछिल्लो पटक नेकपा एकीकृत समाजवादी विजयी भएका छन् ।

२०५१ र २०६४ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट भानुभक्त जोशी निर्वाचित भएका थिए । २०७४ सालमा पनि एमालेकै भैरवबहादुर सिंह निर्वाचित भएका थिए । अहिले नेकपा एकीकृत समाजवादीमा रहेका भानुभक्त जोशी २०७९ सालको निर्वाचनमा फेरि विजयी भए । उनले एमाले उम्मेदवारलाई पराजित गरेका थिए ।

उक्त निर्वाचनको समानुपातिक मत हेर्दा बझाङमा एमाले पहिलो छ । एमालेले २२ हजार २०४ मत पाएको थियो । कांग्रेसले १६ हजार ६५३ मत पाउँदा माओवादी केन्द्रले ८ हजार १५ र नेकपा एकीकृत समाजवादीले ७ हजार ८३३ मत पाएका थिए ।

बैशाख १५ गते हुने प्रदेशसभाको उपनिर्वाचनका लागि सबैजसो दलले उम्मेदवार टुंग्याइसकेका छन् । यहाँ सबैभन्दा पहिले नेकपा एमालेले उम्मेदवार टुंग्याएको थियो । उसले दमन भण्डारीलाई अगाडि सारेको छ ।

एमाले उम्मेदवार भण्डारी प्रदेशसभा निर्वाचन क्षेत्रमा पार्टीको बलियो अवस्था र आफ्नो लोकप्रियताका कारण निर्वाचन जित्न कठिन नहुने दाबी गर्छन् । उनै दमन भण्डारीसँग उपनिर्वाचन केन्द्रित रहेर गरिएको कुराकानी नेपाल टकमाः

– कस्ता एजेन्डा लिएर प्रचारप्रसारमा हिँडिरहनु भएको छ ?

समृद्ध नेपाल, सुखी नेपाली भन्ने हाम्रो नारा छ । त्यसलाई आधार बनाएर हामी एजेन्डाहरू बोकेर हिँडिरहेका छौं ।

समाज रूपान्तरण, समाज बदल्न, समाजमा भएका विसंगतिहरुको अन्त्य, शिक्षा, स्वास्थ्य, पूर्वाधारहरूको सुधार गर्ने हामीले नीति बनाएका छौं । भ्रष्टाचार व्यापक रूपमा भइरहेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा हामी लाग्छौं ।

– अहिले तपाईंहरू कांग्रेसले जितेको क्षेत्रमा लड्दै हुनुहुन्छ । जित्ने आशा छ कि पुरानै नतिजा दोहोर्‍याउने अवस्था हुन्छ ?

हामी त्यो क्षेत्रमा बलियो अवस्थामा छौं । २०४८ देखि पार्टी विभाजन र गठबन्धन हुँदा मात्रै हामीले हारेका छौं । नत्र कुनै पनि बेला हामी हारेका छैनौं । अस्ति निर्वाचनमा माओवादी, कांग्रेस र नेकपा एस मिल्दा पनि हामीले प्रतिस्पर्धा गरेका थियौं । प्रतिनिधिसभामा हामी ९९५ मतले मात्रै पछाडि परेका थियौं । प्रदेशसभामा करिब ३ हजार मतले पछि परेका थियौं, ती तीन पार्टी मिल्दा पनि ।

अहिलेको अवस्था भनेको हामी १३ हजारको हाराहारीमा छौं । कांग्रेस १० हजारको हाराहारीमा छ । माओवादी ४ हजार छ । समाजवादी २ हजार २०० को हाराहारी छ । अर्को कुरा जनतासँग हामी जाने धेरै आधार छन् ।

एकीकृत समाजवादीका भानुभक्त जोशीजी हुनुहुन्छ । उहाँ मन्त्री हुनुहुन्छ । तल्लो क्षेत्रमा भीम भण्डारी हुनुहुन्छ । उहाँ सुदूरपश्चिम प्रदेशको सभामुख हुनुहुन्छ । केन्द्रमा समाजवादी, माओवादी र एमाले मिलेर गठबन्धनको सरकार बनाएको छ । बझाङमा एमालेको प्रतिनिधित्व छैन । त्यसैले पनि जनताले मत दिनुहुन्छ । हामी जित्छौं ।

– सुदूरपश्चिम प्रदेशमा तपाईंको जीत र हारलाई लिएर सरकार कसको बन्ने भन्ने चर्चा सुरु भइसकेको छ । अहिलेदेखि नै तपाईंलाई निर्वाचन जितेपछि मन्त्री बन्ने प्रस्ताव आइसकेको भन्ने सुनिन्छ नि ?

कुनै पनि व्यक्ति सांसद भइसकेपछि मन्त्री बन्ने कुरा त सामान्य हो । मैले त्यसलाई ठूलो रूपमा बुझेको छैन । हामी अहिले १० जना एमालेका प्रदेशसभा सदस्य छौं । माओवादीका ११ र नेकपा एकीकृत समाजवादीका ४ जना छन् ।

एमाले पृष्ठभूमि नै रहनु भएर पनि स्वतन्त्र निर्वाचित हुनुभएका डा.तारा जोशी हुनुहुन्छ । सबै मिल्दा वामपन्थीको सरकार बन्ने सम्भावना छ । त्यसो भएको हुँदा केन्द्रमा गठबन्धनको सरकार बन्दा बझाङको एक सीटको अझै महत्त्व बढेको हो । त्यसकारणले एक सीट जितेपछि तपाईं मन्त्री पदमा जानुहुन्छ भन्ने कुरा आइरहेको छ । त्यो स्वाभाविक नै हो ।

– अहिले गठबन्धनभित्रैबाट अन्य दलहरूले पनि उम्मेदवार उठाउँदा तपाईंलाई कठिन होला जस्तो लाग्दैन ?

मलाई त्यस्तो लाग्दैन । पहिलो कुरा निर्वाचनसँग मलाई कुनै डर लाग्दैन । बझाङको निर्वाचन हुने क्षेत्रमा ५० वडा र सात पालिका पर्छन् । म सबै ठाउँमा जाँदा निकै उत्साहित भएको पाउँछु ।

२०५४ सालमा गाविस अध्यक्ष भएँ मटेलाको । त्यसपछि मैले कुनै पनि पदमा दाबी गरिनँ । गत वर्ष पनि म प्रदेशसभाको आकांक्षी थिएँ । अर्को साथीले पाउनुभयो । त्यसपछि म निरन्तर खटिरहें ।

अहिले मैले अन्य पार्टीबाट पनि राम्रो सुझाव पाएको छु । अहिलेसम्म लोभ नगरेको र कुनै पनि लाभको पदमा नबसेको भन्दै सबैले साथ दिनुभएको छ । त्यसैले म जित्छु भन्नेमा ढुक्क छु ।

– तपाईंको प्रतिस्पर्धी को हुनुहुन्छ ?

हाम्रो प्रतिस्पर्धी त कांग्रेस नै हुन्छ । व्यक्ति त जो पनि हुनसक्छ । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुन्छ । कांग्रेसका जो व्यक्ति आए पनि हामी सजिलै निर्वाचन जित्छौं ।

– सबै दल एक्लाएक्लै भिड्दा त कांग्रेस बलियो हुन्छ भन्ने पनि चर्चा छ नि ?

त्यस्तो हुँदैन । नेकपा एमाले अघिल्लो वर्ष एक्लै लड्दा पनि हामीले १३ हजार बढी मत पाएका थियौं । त्यो हाम्रोमात्रै मत हो । अझै केही मत समाजवादीमा पनि गएका थिए । तैपनि हामीले १३ हजार बढी मत पाएका थियौं ।

त्यो बेला कडा गठबन्धन भएको हुँदा माओवादी र नेकपा एकीकृत समाजवादीको पनि मत जोडेर कांग्रेस निर्वाचित भएको हो । त्यो मतको आधारमा हेर्दा पनि हामी बलियो अवस्थामा छौं । जित्छौं भन्नेमा ढुक्क छौं ।

– अहिलेको निर्वाचन परिणामले दलहरूले भनिएको मिसन ८४ लाई केही संकेत गर्छ त ?

अहिले नेताहरू र पार्टीहरूको मिसन ८४ मा कुन पार्टीको धरातल कस्तो छ भन्ने बुझिरहेका छन् । यसले पछिको संकेत गर्छ । अहिले यी दुई क्षेत्रबाट जसले जित्छ, मिसन ८४ को लहर आउने संकेत देखाउँछ ।

– केन्द्रमा सत्ता गठबन्धन हुँदा पनि प्रदेशमा एमाले, नेकपा एस र माओवादी एक्लाएक्लै लड्ने तयारी गरेका छन् । गठबन्धनमा सल्लाह नगरी एमालेले उम्मेदवार छिटो सार्वजनिक गर्दा सहमति नभएको हो ?

सरकार गठन गर्दा केही सहमति भएका थिए । तर, त्यो सहमतिमा उपनिर्वाचनको विषय थिएन । त्यसो भएको हुँदा हामी अगाडि बढ्यौं । अर्को कुरा, उपनिर्वाचनको लागि समय पनि निकै कम छ ।

चैत २४ गते मनोनयन गरेर १२ गतेसम्म मात्रै छ । त्यहाँ हामी ५० वडामा पुग्नु छ । सैपालमा एक वडाबाट अर्को वडामा पुग्न एक दिन लाग्छ । त्यसकरणले त्यहाँ निकै समय लाग्छ । हामीले पनि सिफारिस छिटो गर्छौं, उम्मेदवारको विषयमा छिटो निर्णय गरिदिन अनुरोध गरेका थियौं पार्टीको केन्द्रीय कमिटीलाई । त्यो आधारमा उहाँहरूले छिटो गरिदिनु भएको हो ।

– सत्ता गठबन्धनको भागबन्डा पेचिलो छ । इलाम र बझाङ भागबन्डा गर्नुपर्ने अवस्था सृजना भयो र बझाङ तपाईंलाई परेन भने के गर्नुहुन्छ ?

त्यो सम्भावना नै हुँदैन । जित्ने आधार उहाँहरूको कम देख्छु । हामीसँग १३ हजार छ । २ हजार र ४ हजार मत भएको मान्छेलाई अगाडि बढाउँदा हामी कार्यकर्ताहरू त इमानदार भएर लाग्छौं, भोट हाल्छौं । तर, सबै जनतालाई डोर्‍याउन निकै गाह्रो हुन्छ । त्यसो भएको हुँदा मलाई त्यस्तो हुन्छ जस्तो लाग्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर