उपेन्द्र सुब्बाको फेरियो बोली : जारी २ बनाउने घोषणा (भिडिओ) – Nepal Press

उपेन्द्र सुब्बाको फेरियो बोली : जारी २ बनाउने घोषणा (भिडिओ)

काठमाडौं । यस वर्षको ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाले २०८२ सालमा ‘जारी २’ ल्याउने घोषणा गरेका छन् । नेपाल प्रेससँगको अन्तर्वार्ताका क्रममा आफूले सुरुवातमा ‘जारी’को श्रंखलामा काम नगर्ने घोषणा गरे पनि अहिले आएर ‘जारी–२’ ल्याउने निर्णयमा पुगेको बताए ।

उनले भने, ‘दुईचार ठाउँमा त जारी २ बनाउँदिनँ भनेर हिँडेँ । तर, नबनाई धर नहोला जस्तो छ ।’

‘जारी’को श्रंखला ब्राण्डको कारण व्यापार गर्छ भनेर हो कि कथाले नै मागेकाले हो ? भन्ने प्रश्नमा सुब्बाले भने, ‘कथाले मागेर पनि हो । साथै देश विदेशदेखि साथीभाइले बनाउनुपर्छ भनेर साह्रै भनिरहे । यहीँका वितरक साथीहरूसँग बस्दा, कहिलेकाहीँ हलका साथीहरूसँग बस्दा पनि ‘जारी २’ कहिले आउँछ भनेर सोधिरहे । यस्तो हुँदा मोह पनि जाग्दो रहेछ पैसाकै कुराले गर्दा पनि । सबै पैसा आउँछ भन्छन्, लोभ पनि देखाउँछन् (लामो हाँसो) । म पनि छु भनेर भनिदिन्छन् ।’

सबैले दबाब दिएपछि यसबारे दयाहाङलाई ‘फुर्सद छ त रु’ भनेर सोध्दा ‘त्यसका लागि समय मिलाउँला नि दाइ’ भनेपछि जारी २ बनाउने जाँगर पलाएको सुब्बाको स्वीकारोक्ति छ । तर, २०८२ का लागि आफू ‘जारी २’ भन्दा पनि एक बंगाली साथीको कथामा काम गर्ने मनसायमा रहेका थिए । अब भने उक्त कथालाई केही समयका लागि पछाडि धकेलेर ‘जारी २’मा अगाडि बढ्ने सुब्बाले बताए ।

उनले भने, ‘मेरो समुदायको कथा त म राम्रोसँग सोच्न जान्दछु । कथा सोच्दासोच्दै मीठो कथा आयो, त्यसपछि टिममा साथीभाइलाई सुनाएँ । लु दाइ यो कथामा काम गर्ने भनेर हौस्याए । अब त ‘जारी २’ बनाउँछु नै ।’

साथै आफू ५० वर्षदेखि फिल्म क्षेत्रमा निर्देशकको रूपमा प्रवेश गरेकाले अब आफूसँग धेरै समय नभएको र हरेक वर्ष एउटा फिल्म बनाउने सोचमा रहेको बताए । ६० वर्षसम्म काम गर्ने, त्यतिन्जेल आफूसँग भएका पाँच छ वटा कथालाई फिल्म बनाएर सिध्याउने र आफ्नो नीजि जीवन बाँच्ने योजनामा रहेको बताए ।

उनले भने, ‘म फरक तरीकाले बाँच्नुपर्छ भन्नेमा पर्छु । यो सामाजिक जिन्दगीभन्दा बाहिर निस्कन्छु भन्नेमा छु । यस कारण जे जति गर्नु छ, ६० भित्रै गर्नुपर्छ, त्यो म गरिसक्छु । यस वेलासम्म एउटा कविता संग्रह ल्याउँछु । फुटकर कथाहरू छन्, त्यसलाई सिध्याउँछु । त्यसपछि आफूले चाहेको जीवन जिउँछु ।’

‘कबड्डी’ फिल्मबाट व्यावसायिक पटकथा लेखनमा प्रवेश गरेका उपेन्द्र सुब्बा नौ वर्षपछि ‘जारी’ मार्फत निर्देशकको अवतारमा देखा परेका थिए । २०८० सालको नयाँ वर्षमा प्रदर्शन भएको यस चलचित्रले १७ करोडमाथि व्यापार गरेको थियो भने समीक्षात्मक रूपले राम्रो समीक्षा पनि पाएको थियो ।

यही फिल्मबाट दयाहाङ राई र मिरुना मगरको जोडी समेत हिट भयो । यो हिट जोडीलाई लिएर बनेका आधा दर्जन जति फिल्म बनिसके भने उस्तै हाराहारीमा बाँकी फिल्महरू प्रदर्शनको तयारीमा छन् । अहिले भने दया–मिरुनाकै जोडीलाई लिएर सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्म ‘मनसरा’ आउँदो वैशाख २१ बाट प्रदर्शनमा आउँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *