‘आस्था र नास्ता’ बीचको लडाइँमा ओखलढुंगे एमालेले खोजेका सर्वमान्य ईश्वर – Nepal Press

‘आस्था र नास्ता’ बीचको लडाइँमा ओखलढुंगे एमालेले खोजेका सर्वमान्य ईश्वर

ओखलढुंगा एमालेको जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा यो शीर्षकमा लेख्दै गर्दा केही ‘अजासु’ हरूलाई लाग्ला कि यसले ईश्वर पोखरेलविरुद्ध लेख्यो । तर, यहाँ उनका पक्ष या विपक्षमा होइन कि उनको भूमिकाले ओखलढुंगाको वाम जनमत र एमालेको पार्टी जीवनमा आएको उथलपुथलको समीक्षा गर्न लागिएको हो ।

ईश्वर पोखरलले देशका ठूला नेता, एमालेका वरिष्ठ उपाध्यक्ष र अझ मेरै पालिका (चिसंखुगढीको माम्खा) मा जन्मिएका व्यक्ति हुन् । राज्य र पार्टी सत्तामा लामो समय उच्च नेतृत्वको भोग गर्ने भित्रमा उनी पनि पर्छन् । उनी जिल्लाको सर्वमान्य र सर्वोच्च नेताका रूपमा स्थापित हुँदा सबैभन्दा खुसी हुनेमा यही पंक्तिकार पनि पर्छ ।

ईश्वर पोखरेललाई मैले ओखलढुंगामा जन्मेका नेता हुन् भनेर ‘प्रतिगमन आधा सच्चिएपछि’ बनेको ‘अग्रगामी देउवा सरकार- २०६१’ का उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा चिनेको हुँ । पोखरेल मन्त्री हुँदा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको रूपमा अखिलको आन्दोलनमा सहभागी फुच्चे पात्र म पनि थिएँ ।

मेरो पुस्ताले ओखलढुंगामा उनलाई समाचारमा सुने जाने पनि प्रत्यक्ष रूपमा बेला-बेला अतिथिका रूपमा २०६५ पछि मात्र भेटेको हो । त्यसअघि र भूमिगतकालमा उनले संगठन निर्माणमा प्रशस्तै योगदान गरेका होलान्, त्यो इतिहास छुट्टै लेखौंला ।

तर, अहिले ओखलढुंगामा जब जब उनको नाममा बहस हुन्छ, तब तब एमालेभित्र झगडा र बाहिरको वामपन्थी जनमत उनको विरुद्धमा बहसमा उत्रिन्छ । वरिष्ठ नेताविरुद्ध वाम जनमत र अधिकांश कार्यकर्ता किन पैरवी गर्छन् त ? यसैको नालीबेली खोतल्न यस आलेखमा एमाले ओखलढुंगाको पछिल्लो राजनीतिक जीवनमा उनी कसरी प्रस्तुत भए भन्ने समीक्षा गर्न खोजिएको हो ।

सर्वमान्य विगत, पक्षधरताको वर्तमान

राजनीतिक उचाइका हिसाबले उनीभन्दा उँचो कदको ओखलढुंगाको नाम जोडिने अर्को नेता अहिलेसम्म नेपालमा छैन । शुरुवातमा उनी जिल्लाका लागि सर्वमान्य जस्ता थिए । उनलाई २०६० पछि जिल्लाको सबैभन्दा ठूलो कार्यक्रम २०६५ चैत २९ गते नेकपा एमालेको जिल्ला कार्यालय भवन (पुष्पलाल स्मृति प्रतिष्ठानको भवन) शिलान्यास गराउन एमालेले जिल्लामा प्रमुख अतिथि बनाएर ल्याएको थियो ।

त्यसयताका धेरै सार्वजनिक कार्यक्रमहरूमा उनलाई एमालेले ल्यायो । २०७० सालसम्म आउँदा उनलाई जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट संविधान सभाको उम्मेदवार बनाउने प्रस्ताव जिल्ला कमिटीले गरेको थियो । उनलाई तुलनात्मक रूपमा संगठन बलियो भएको क्षेत्र छानेर लड्न पनि केही नेताहरूले घरैमा पुगेर आग्रह गरेका थिए ।

यो प्रचार एमालेले निर्वाचनमा शक्ति आर्जन गर्ने अस्त्रका रूपमा पनि लिएको थियो । यसबारे पहिलो पटक समाचार तत्कालीन एमालेका जिल्ला सचिव यज्ञराज सुनुवारको अग्रहमा पंक्तिकारले लेखेको थियो । यसपछि ईश्वरको चर्चा जिल्लामा शुरू भएको हो । अन्य नेता नआउँदा पनि आफू जन्मेको जिल्ला भनेर उनले बढी नै माया गरेर धेरै पटक जिल्ला आउजाउ गरेका छन् । यसले एमालेको आन्त आन्तरिक जीवनमा फाइदा पनि भए होलान् ।

२०७० अघिसम्म सर्वमान्य नेताका रूपमा थिए, उनी । अझ महाधिवेशनमा प्रतिनिधि जाँदा गुट नछुट्याइ उनलाई सबै प्रतिनिधिले मतदान गर्ने भनेर निर्णयनै गरी महासचिवमा दुई-दुई पटक मतदान गरेर ओखलढुंगे एमालेजनले गुन लाएका थिए ।

उनको बाक्लो उपस्थितिपछि जिल्लामा एउटा यस्तो समूह निर्माण भयो त्यो समूहले एमालेका नाममा हुने वडा कमिटीका अधिवेशनमा पनि उनलाई सोध्न थाल्यो । साविक पोखरे गाविसको शौचालय उद्घाटन (खुल्ला दिसामुक्त घोषणा कार्यक्रम) मा पनि उनैलाई ल्याउनु पर्छ भनेर उनीनिकट व्यापारिक समूह लाग्दा एमालेभित्र चर्को विवाद भएको थियो । वडा कमिटी अधिवेशनमा समेत उनको सहमति लिन खोज्ने समूहकै कारण उनले जिल्लामा हस्तक्षेप बढाउन थालेको आरोप लाग्यो ।

२०७३ पुस २ गतेको एमालेको जिल्ला अधिवेशनमा उनको चाहिनेभन्दा बढी हस्तक्षेपले एमालेमा विग्रहमात्रै देखिएन त्यसको असर पार्टी सदस्यस म्म पुग्यो । उद्घाटन सत्रबाट बिदा भएर हिँडेका तत्कालीन महासचिव पोखरेल फर्किएर फेरि बन्द शत्रमा बसे । उनको उपस्थितिपछि जिसस हल बन्द सत्र नभएर । ‘हल्ला चौतारी’ जस्तो मात्र भएन, अधिवेशन ३ दिन लम्बियो ।

उनीनिकटका केही राजनीतिक कम तर ज्यादा व्यापारिक समूहको स्वार्थमा जिल्ला नेतृत्व चयन गर्न आडभरोसा मिल्यो । त्यसबेला पेशागत संगठनको तर्फबाट प्रतिनिधि रहेको यो पंक्तिकारलाई बन्दसत्रको मर्यादा भएन भनेबापत केही अराजक भीडले हलभित्र पस्न जबर्जस्ती रोक नै लगाएका थिए ।

प्रतिनिधि आएका व्यक्तिलाई ‘तँ कस्लाई समर्थन गर्छस्’ भनेर धम्क्याउने र प्रतिवाद गर्नेमाथि चेतावनी दिने काम भएका थिए । यस्तो अवस्था सिर्जना भएपछि एक तिहाइ प्रतिनिधि बन्द सत्रमै नबसी घर फर्किएका थिए ।

प्रतिनिधि नै धमाधम घर हिँड्न थालेपछि सहमतिमा एकखाले नेतृत्व चयन भयो । त्यसरी हिँडेका धेरै प्रतिनिधि तथा जिल्ला कमिटीका सदस्यहरू अहिले एमालेमा छैनन् । केही नेता अन्य पार्टी र कतिपय सदस्यता समेत नवीकरण नगरी बसेका छन् ।

पोखरेललाई धुरी मान्ने व्यापारिक समूह अहिले पनि एमालेमा निर्णायकजस्तै छ । उक्त समूहको बोलवाला रहेकै कारण एमालेका जीवनभर पसिना बगाएका पुराना र त्यागी कार्यकर्ताहरू एमाले भनेर हिँड्न रुचाउँदैनन् । यसरी गैरराजनीतिक व्यक्ति र समूहलाई लिफ्ट दिएकै कारण वामपन्थी रुझानका मतदाता र एमालेका पुराना नेता कार्यकर्ताहरू पोखरेललाई एमालेका अभिभावकका रूपमा स्वीकार गर्न अप्ठेरो मान्ने अवस्थामा पुग्दैछन् ।

यसको ज्वलन्त उदाहरण २०७४ को वाम गठबन्धनका उम्मेदवार कस्लाई बनाउने भन्नेमा पोखरेल र माओवादीका राम कार्कीको चर्चा भयो । पछि एमालेको भागमा संघीय प्रतिनिधिसभाको टिकट पर्ने भएपछि निर्वाचनमा पोखरेल ल्याएर लडाउनु पर्छ भनेर एउटा समूह सक्रिय थियो ।

त्यसबेला अधिकांश एमालेका कार्यकर्ता र गठबन्धनमा रहेको माओवादी केन्द्रले समेत ‘हाइट र वेट’ ले मात्रै चुनाव फेस गर्न सकिन्न भनेर जिल्ला पार्टीलाई सुझाव दिएका थिए । जिल्लामा पोरखेलले लिफ्ट दिएको गैर राजनीतिक स्वार्थ समूह र विवादास्पद व्यक्तिहरूको कारण उनी सर्वमान्य नेता बन्ने मौकाबाट वञ्चित हुँदै आएका छन् ।

सदस्यमा खुम्चिँदै एमाले

अघिल्लो अधिवेशनमा ९ हजार बढी संगठित सदस्य रहेकोमा अहिले ४ हजार १ सयमा सीमित हुनु ओखलढुंगाका राजनीतिक व्यापारीहरूको बाहुबली रवैयाको परिणाम हो । अझ लाजमर्दो विषय त जिल्ला कमिटीका १४ सदस्यले सदस्यता नै नवीकरण गरेका छैनन्, जो यही चैत २६-२७ गते हुने अधिवेशन आयोजक कमिटीका सदस्य छन् ।

त्यसरी एमालेमा निर्माण भएका गुट उपगुटले एमाले पार्टी नभएर अहिले व्यापारिक स्वार्थ समूहको झुण्ड जस्तो भएको छ । त्यसअघि पनि एमालेमा माधव नेपाल र केपी ओली गुट थिए । तर, ‘महाधिवेशनमा विवेक प्रयोग गर्ने, जिल्ला कमिटीमा गुटका कुरा नगर्ने भद्र सहमति’ थियो । त्यसैले कार्याकर्ताहरूले गुट भनेको नै बुझ्दैनथे ।

पोखरेल धृतराष्ट्र बनेर अराजनीतिक समूहलाई धाप मार्दा एमालेभित्र निर्माण भएको गुट अहिले व्यापारीहरूको एउटा समूहले चलाउँछ । त्यो समूहले उनको र शेरधन राईको नाम लिएर आफ्नै सहयोद्दा कमरेहरूमाथि लान्छाना र त्यस्तै परे भौतिक हमलाको धम्की पनि दिन्छ । यसरी जिल्लामा गुट बनाउने क्रममा तत्कालीन नेकपाकालमा प्रचण्ड-माधवविरुद्ध ओली समूह भनेर चिनिएको पुरानो समूहसमेत भत्किएर छिन्नभिन्न भइसकेको छ । त्यसअघिका केही नेता एकीकृत समाजवादीमा पुगेका छन् भने केही निष्कृय छन् ।

नास्ता र आस्थाको लडाइँ

यही अवस्थामा एमालेको जिल्ला नेतृत्व चयन हुँदैछ । अघिल्लो वर्षबाटै प्यानलगत प्रतिस्पर्धामा गएको एमालेको ओरालो यात्रा २०७३ को आठौं जिल्ला अधिवेशनबाट शुरू भएको थियो । २०७४ मा जितेका चारमध्ये दुई पालिका २०७९ मा गुमायो । संघ र प्रदेशका तीन सीटै गुमायो ।

हारको कारण गठबन्धन भनेर भनिए पनि एमाले राजनीतिक व्यापारीको कब्जामा पुगेपछिको परिणाम हो यो । नत्र समानुपातिक मत कांग्रेसभन्दा अहिले पनि एमालेको केही सय बढी नै छ र एमालेका राजनीतिक नेताहरूलाई नाकाबन्दी नगर्ने हो भने गठबन्धनकै बीच पनि एमाले बलियो शक्ति बन्ने थियो ।

यही चैतमा २६ देखि शुरू हुने दशौं जिल्ला अधिवेशनमा पनि पोखरेलको साथ पाएका छौं भन्ने त व्यापारिक समूह र तुलनात्मकरूपमा राजनीतिक समूहबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित छ । यो अधिवेशनका प्रमुख अतिथि पनि वरिष्ठ उपाध्यक्ष पोखरेल हुनेछन् । उनी प्रमुख अतिथि हुने भएपछि व्यापारिक समूह उत्साहित देखिएको छ ।

२० देखि २०८० सम्म आइपुग्दा एमालेका सबै गतिविवि आस्थामा नभई ‘नास्ता’ मा चलेका छन् अर्थात् व्यापारिक समूहको लगानीबाट परिचालित छन् । यस पटकको निर्वाचनमा ‘आस्था’ कि ‘नास्ता’ कस्को जित हुन्छ भन्न फेरि निर्वाचन नै पर्खिनुपर्छ यस पटक पनि ‘आस्था’ र ‘नास्ता’ को लडाइँका पछि पोखरेलको नाम दुरूपयोग हुँदैछ ।

पोखरेलसामु अझै पनि एमालेको मात्र नभएर ओखलढुंगा जिल्लाकै सर्वमान्य नेता बन्ने अवसर कायमै छ । किनकी उनीजत्तिको उचाइ भएको र सक्रिय राजनीतिमा शीर्षस्थानमा रहेको नेता अर्को छैन । यसपटक उनले एमालेको नेतृत्व चयनमा २०७३ को पुनरावृत्ति गरेर एमालेमा राजनीतिक समूह समाप्त गर्छन् या उनका वरिपरिका व्यापारीहरूलाई रोकेर राजनीतिक चरित्र देखाउँछन् हेर्न बाँकी छ ।

(ढुंगाना समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव हुन् । प्रस्तुत आलेख लेखकका निजी विचार हुन्)


प्रतिक्रिया

One thought on “‘आस्था र नास्ता’ बीचको लडाइँमा ओखलढुंगे एमालेले खोजेका सर्वमान्य ईश्वर

  1. समाजबादिमा बसेर कम्तुनिस्ट आन्दोलनलाइ प्रतिकृयाबादिको पाउमा समर्पण गराउन चाहने नेतृत्वको बुइ चढेर एमालेको नेतृत्व प्रती बीस बमन गर्नु कुन नौलो कुरा भयो र! ।एमालेमा नै रहेर कमिकमजोरी औलायको भय केही हद सम्म जाहेज नै ठहर्थ्यो।अफसोच दाना पानी राम्रै मिले जस्तो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर