रामहरि हत्याकाण्डमा शक्तिखोरका कमाण्डर बटालाले कसरी पाएका थिए सफाइ ? यस्तो छ फैसला – Nepal Press

रामहरि हत्याकाण्डमा शक्तिखोरका कमाण्डर बटालाले कसरी पाएका थिए सफाइ ? यस्तो छ फैसला

काठमाडौं । व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा माओवादी जनमुक्ति सेनाका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खाम मंगलबार पक्राउ परे । घटनामा संलग्न भएको भनिएका तेस्रो डिभिजन शक्तिखोरका तत्कालीन ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालाले भने चार वर्षअघि सर्वोच्च अदालतबाट सफाइ पाएका थिए ।

सर्वोच्चका तत्कालीन न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ साल फागुन १८ गते बटालालाई सफाइ दिएको थियो । श्रेष्ठको हत्यामा बटालाको कुनै संलग्नता नरहेको सर्वोच्चले आफ्नो फैसलामा उल्लेख गरेको छ ।

फैसलामा भनिएको छ- प्रतिवादी जीवित भन्ने गोविन्दबहादुर बटालाले कुटपिट गरेको भन्ने मिसिल संलग्न कुनै पनि तथ्य प्रमाणबाट खुल्न आएको देखिँदैन ।

रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते राति २ बजे बटालासहितका माओवादी कार्यकर्ताले केही बुझ्नु छ भन्दै लगेको मृतककी श्रीमती रमिलाले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

बटालाको बयानअनुसार २०६४ चैत १४ गते राति १२ बजे जनमुक्ति सेनाको तेस्रो डिभिजन सम्पर्क कार्यालयमा कालीबहादुर खामका अंगरक्षकलाई नियन्त्रणमा लिई तीन जनाको समूहले एउटा पेस्तोल र १७ लाख रूपैयाँ लुटेको थियो । घटनाको तीन दिनपछि श्रेष्ठको घरको ट्वाइलेटको खाडलमा गंगाराम थापाको टी-सर्टमा पोको पारेको अवस्थामा १७ लाख रूपैयाँ र भर्‍याङमुनि पेस्तोल भेटिएको थियो ।

वैशाख १५ गते बटालाले राति २ बजे श्रेष्ठ र उनकै घरमा बस्ने गंगाराम थापा र केशव अधिकारीलाई सोधपुछका लागि शक्तिखोर लगेको बयान दिएका थिए । त्यसअघि वैशाख ७ गते पनि काठमाडौं आएर उनीहरूसँग सोधपुछ गरेको उनको बयान थियो ।

सोधपुछमा श्रेष्ठले चोरी स्वीकार गरे पनि बाँकी दुई जनाले स्वीकार नगरेको तर कडा केरकारपछि वैशाख २७ गते गंगाराम र केशवले पनि स्वीकार गरेको बटालाको बयान छ । बटालाका अनुसार अधिकारी, श्रेष्ठ र थापालाई एउटै कोठामा राखिएको थियो । वैशाख २८ गते राति ९ बजे उनीहरूलाई राखिएको कोठा खोलेर हेर्दा श्रेष्ठ गम्भीर घाइते अवस्थामा थिए ।

श्रेष्ठको टाउको, छाती र तिघ्रालगायतमा चोट देखिएको बटालाको दाबी थियो । बटालाले प्रहरीसमक्ष भनेका थिए- केशव र गंगारामले घटनाको पोल खोलेको भन्दै श्रेष्ठलाई पिटेछन् । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि काठमाडौं ल्याउँदा बाटोमा मृत्यु भएपछि मलाई झुक्याएर थापा र अधिकारीले शव नदीमा फ्याँकेका हुन् ।

नारायणगढ-मुग्लिन सडक खण्डको भालुढुंगामा श्रेष्ठको मृत्यु भएपछि डिभिजन कार्यालयलाई त्यसबारे रिपोर्ट गर्न केही पर गएर फर्कँदा गाडीभित्र शव पनि नभएको र त्यहाँबाट केशव र गंगाराम पनि भागेको बटालाले बयान दिएका थिए ।

श्रेष्ठको शव २०६५ जेठ १२ गते चितवनको जुगेडीस्थित त्रिशुली नदीमा भेटिएको थियो । स्थानीय भगवती सुवेदीले शव देखेर प्रहरीलाई खबर गरेकी थिइन् । त्यसको तीन दिनपछि मृतककी श्रीमती रमिलाले महाराजगन्जस्थित फोरेन्सिक डिभिजन विभागमा श्रेष्ठको शव सनाखत गरेकी थिइन् । त्रिवि शिक्षण अस्पतालले टाउकोमा गम्भीर चोटका कारण श्रेष्ठको मृत्यु भएको पोस्टमार्टम रिपोर्ट दिएको थियो ।

श्रेष्ठको मृत्यु कहाँ भएको थियो भन्नेबारे प्रहरी अनुसन्धानबाट स्पष्टसँग खुल्न सकेको थिएन, प्रतिवादीको बयानबाहेक । तर बटालालाई सफाइ दिँदै गर्दा केसी र मोक्तानको इजलासले फैसलामा भनेको छ- ‘मृतक रामहरीसहित अन्य दुईजना प्रतिवादी गंगाराम र केशव अधिकारीलाई एउटै कोठामा थुनी राखेको अवस्थामा निजको मृत्यु भएको अवस्था छ ।’

जिल्ला अदालतले बटालालाई ३ वर्ष कैद सुनाएको थियो । जिल्लाको फैसला तत्कालीन पुनरावेदन अदालतले सदर गरेको थियो । त्यसपछि बटाला सर्वोच्च अदालत पुगे । गंगाराम र केशवको हकमा मुद्दा मुल्तबीमा छ । उनीहरू घटना भएदेखि नै फरार छन् ।

रामहरिपत्नी रमिलाले दिएको जाहेरीअनुसार २०६५ बैशाख १५ गते राति माओवादी कार्यकर्ताले केही कुरा बुझ्न कमाण्डर कालीबहादुर खाम ‘विविध’ ले ल्याउनु भनेको छ भन्दै श्रेष्ठलाई लगेका थिए । रमिलाका अनुसार त्यसको १० दिनपछि बटालाले उनलाई श्रीमानसँग एकपटक फोन सम्पर्क गराएका थिए।

त्यतिबेला श्रेष्ठको स्वर बिरामीको जस्तो सुनिएको र बटालाले ४/५ दिनमा फर्काई दिन्छु भन्ने जवाफ दिएको रमिलाले प्रहरीलाई बताएकी थिइन् । जेठ २ गते शक्तिखोरबाट फोन गरी मान्छे बुझ्न आउनु भनेपछि आफू गएको तर खामले तिम्रो श्रीमानको मृत्यु भएको र नारायणी नदीमा फ्याँकिदिएको बताएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

‘बटालालाई यस कारण सफाइ’

सर्वोच्च अदालतले बटालालाई सफाई दिएको फैसलाको पूर्णपाठमा उनले सफाइ पाउने यस्ता कारणहरू उल्लेख छ

बटालाले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा जनमुक्ति सेना तेस्रो डिभिजन सम्पर्क कार्यालय, जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका, वडा नम्बर ३५ कोटेश्वर निवासी रामहरि श्रेष्ठको घरमा रहेकामा मिति २०६४/१२/१४ गते राति १२ बजेको समयमा कालीबहादुर खामको अंगरक्षकलाई ३ जनाले नियन्त्रणमा लिई नगद १७ लाख र पेस्तोल १ थान चोरी भएकोमा सोही चैत्र १७ गते सो घरको ट्वाइलेटको खाडलमा गंगाराम थापाको टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख र भर्‍याङमुनिबाट पेस्तोल फेला परेको घटनाको अनुसन्धानको लागि आफूलाई तेस्रो डिभिजन कार्यालयले खटाएको हुँदा २०६५/०१/७ गते काठमाडौं गई सोधपुछ गरी फर्किएकामा वैशाख १५ गते पुन: काठमाडौं गई राति २ बजे रामहरि श्रेष्ठ, केशव अधिकारी र गंगाराम थापालाई लिई शिविरमा ल्याई सोधपुछ गर्दा रामहरी श्रेष्ठले चोरी गरेको कुरा स्वीकार गरेको र अन्य प्रतिवादीहरूले स्वीकार गरेका थिएनन् ।

२७ गते कडारुपमा प्रस्तुत भएपछि अन्यले पनि चोरी गरेको कुरा स्वीकार गरेका थिए । २८ गते राति कोठा खोली हेर्दा रामहरि श्रेष्ठको टाउको, छाती, तिघ्रालगायतमा चोट थियो ।

घटनाको पोल खुलेको कारण पिटेका हौँ भनी गंगाराम र केशव अधिकारीले आफुलाई बताएपछि उपचारका लागि गाडीमा राखी काठमाडौंतर्फ ल्याउँदा नारायणगण-मुग्लिन सडकखण्डको भालु ढुंगा पुगेपछि निजको मृत्यु भएकाले लासलाई शिविरतिर फर्काउन खोजेकामा गंगाराम र केशवले लासलाई नारायणी नदीमा फालिदिने कुरा गरेकामा मैले सहमती नदिएपनि उनिहरुले लासलाई तन्नामा राखी ढुंगा हाली झोलुङ्गे पुलको बीचबाट नारायणी नदीमा फालेका हुन् भन्नेसमेत व्यहोराले गोविन्दबहादुर बटालाले अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमा कसुरमा इन्कारी बयान गरेको देखिन्छ ।

प्रतिवादी जीवित भन्ने गोविन्दबहादुर बटालाले कुटपिट गरेको भन्ने मिसिल संलग्न कुनैपनि तथ्य प्रमाणहरुबाट खुल्न आएको देखिँदैन । निज प्रतिवादीलाई मृतकलाई कुटपिट गरेको होइन भनी बयान गरेको देखिन्छ । आरोपित कसुरमा नै साविती हुनु र सम्बद्ध तथ्यलाई सम्म स्वीकार गर्नु पृथक कुरा हो । तथ्यको स्वीकारोक्तीलाई नै सावितीसरह निजको विरुद्ध प्रमाणमा ग्रहण गर्न मिल्ने होइन ।

निज प्रतिवादीले उक्त चोरीको घटनाका सम्बन्धमा छानबिन गर्न आफूलाई खटाइएकोमा सोधपुछसम्म गरेको भनी तथ्य स्वीकार गरेकालाई कसुर स्वीकार गरेको भनी अर्थ गर्न मिल्ने देखिँदैन ।

अर्का प्रतिवादी संकल्प भन्ने अर्जुन कार्कीले अदालतमा बयान गर्दा आफू ड्राइभर भएको र बिरामीलाई उपचारका लागि लान पर्‍यो भनी जीवित भन्ने गोविन्दबहादुर बटालाले बोलाउनु भएपछि आई बिरामी लिएर काठमाडौं जान भनि जीवित, आफू, एटम, रघु भै आएका र बाटामा आएपछि बिरामी रामहरि श्रेष्ठ हुन् भन्ने थाहा पाएको हुँ । रामहरि मरेजस्तो छ भनि कुरा गरेका र दासढुंगाभन्दा अगाडि पुगेपछि गाडी रोक्न लगाई जीवित सरले हेडक्वार्टरमा फोन गर्न बाहिर निस्कनु भयो।

आफू पनि ट्वाइलेट गई फर्की गाडीमा आईपुग्दा रघु र एटम दुवैजना थिएनन् कुटपिटको बारेमा आफूलाई थाहा नभएको भनी यी प्रतिवादी जीवित भन्ने गोविन्दबहादुर बटालालाई पोल गरेको पनि देखिँदैन। शंकारहित पुष्टि गर्ने प्रमाणको भार वादी पक्षमा रहने भएकोले यी प्रतिवादी जीवित भन्ने गोविन्दबहादुर बटालाले कसुर गरेको कुरा वस्तुनिष्टरूपमा वादी पक्षले पुष्टी गर्न सकेको देखिँदैन ।

वारदातबारे प्रतिवादी स्वयंमले नै जानकारी दिएपछि मात्र किटानी जाहेरी दिएको देखिन्छ । जाहेरी जे जस्तो पृष्ठभूमिमा परेपनि सोलाई अन्य स्वतन्त्र प्रमाणबाट समर्थन र पुष्टि नभएसम्म जाहेरी आफैंमा प्रमाण हुन सक्दैन । जाहेरी अन्य कुनै प्रमाणबाट समर्थित नभएको अवस्थामा यसको प्रामणिक मुल्य रहेको मान्न मिल्दैन ।

जाहेरी दरखास्त घटना भएको वा घटना घट्ने सम्भावना रहेको अवस्थामा प्रारम्भिकरुपमा सूचित गर्ने माध्यम हो । यी प्रतिवादीको संलग्नता रहेको भनि दिएको जाहेरी अन्य कुनै प्रमाणबाट समर्थित नभएको अवस्थामा केवल जाहेरी दरखास्त मात्रको आधार लिई कर्तव्य ज्यानजस्तो गम्भीर अपराधमा दोषी ठहर गर्न मिल्ने देखिएन ।

वारदातको प्रकृति हेर्दा काठमाडौं महानगरपालिका-३५ कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा रहेको जनमुक्ति सेना तेस्रो डिभिजन सम्पर्क कार्यालयमा मिति २०६४/१२/१४ गते राति भएको हतियार र नगद रुपैयाँको चोरीको आरोपमा संलग्न केशव अधिकारी, गंगाराम थापा र रामहरी श्रेष्ठलाई छानबिनको लागि ब्रिगेडियर कमाण्डर जिवित भन्ने गोविन्दबहादुर बटालाले चितवनस्थित शक्तिखोरमा लगि एउटै कोठामा थुनी राखेको बखत चोरीको रहस्य किन खोलेको ? भनी प्रतिवादी गोविन्दबहादुर बटालाले देखी थाहा पाई सोबारे शक्तिखोरस्थित हेडक्वार्टरमा रिपोर्टिङ गरि उपचार गर्न निजलाई गाडीमा राखी लैजाँदै गर्दा बीच बाटोमा नै निजको मृत्यु भएपछि अब लासलाई नारायणी नदीमा फालिदिने भनि अन्य दुई प्रतिवादीले भनेको कुरामा प्रतिवादी गोविन्दबहादुर बटालाले सहमति नजनाएको र रामहरीको मृत्युको बारेमा शक्तिखोरस्थित हेडक्वार्टरमा जानकारी दिन निज गाडीबाट ओर्ली मोबाइलमा कुरा गर्न अलि पर गएका बखत प्रतिवादी गंगाराम र केशव अधिकारीले नजिकैको नारायणी नदीमा फालेको भन्ने रहेको छ।

वारदाताको उक्त अवस्थालाई विचार गर्दा, प्रतिवादी गोविन्दबहादुर बटालाले आफ्नै तेस्रो डिभिजनको कार्यालयबाट नगद र हतियार चोरी भएको विषयमा छानबिन गर्न तीनैजनालाई काठमाडौं कोटेश्वरबाट चितवनस्थित शक्तिखोरमा लगेको देखिन्छ । सो वारदाताको विषयमा निजले मृतकलगायत अन्य प्रतिवादहरुसँग शक्ति प्रयोग गरेर कुनै केरकार गरेको पनि देखिँदैन ।

प्रतिवादी गोविन्दबहादुर बटालाले मृतकलाई कुटपिट गरेको र गर्न लगाएको अवस्था समेत छैन । मृतक रामहरीसहित अन्य २ जना प्रतिवादी गंगाराम र केशव अधिकारीलाई एउटै कोठामा थुनी राखेको अवस्थामा निजको मृत्यु भएको अवस्था छ ।

मिति २०६५/०१/२८ गते निजहरूमा थुनामा राखेको कोठा खोली हेर्दा मृतक रामहरी कुटपिटबाट मरणासन्न अवस्थामा रहेको देखि प्रतिवादी गोविन्दबहादुर बटालाले उपचार गर्न तत्कालै गाडीमा राखी अस्पताल लगेको र जाँदाजाँदै मृतक रामहरिको बाटोमै मृत्यु भएको देखिन्छ ।

निजको मृत्युपछि तत्कालै लासलाई चितवनस्थित शक्तिखोरमा नै फर्काउने वा के गर्ने भन्ने सम्बन्धमा प्रतिवादी गोविन्द बटालाले हेड अफिस शक्तिखोरमा कुरा गर्न लाग्दा अन्य प्रतिवादीहरुले लासलाई नारायणी नदीमा फालि दिने कार्यमा प्रतिवादी गोविन्दबहादुर बटालाको सल्लाह र सहमती भएको र निजले लासलाई नारायणी नदीमा फालेको कार्यसमेत गरेको देखिँदैन ।

वारदातको उपरोक्त कुनै पनि शृंखलाको कुनै चरणमा पनि प्रतिवादी गोविन्दबहादुर बटालाको मृतक रामहरी श्रेष्ठलाई मार्ने र फाल्नेसम्मको कार्यमा संलग्नता रहेको नदेखिँदा प्रस्तुत वारदातमा निज कुनैपनि प्रकृतिको कसुरदार रहे भएको देखिन आउँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर