एमाले झापा अधिवेशन : अध्यक्ष-उपाध्यक्षमा सहमति, अरु पदमा सकस – Nepal Press

एमाले झापा अधिवेशन : अध्यक्ष-उपाध्यक्षमा सहमति, अरु पदमा सकस

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा ३ दिन बित्दासम्म पार्टीको नेतृत्व चयन हुन सकेको छैन । उद्घाटन समारोहमा ओलीले सहमतिमा नेतृत्व छान्न निर्देशन दिएका थिए ।

अध्यक्ष ओलीको निर्देशनअनुसार अध्यक्षमा प्रेमबहादुर गिरी र उपाध्यक्षमा शिव ढुंगेलमा सहमति जनाइएको थियो । सचिवलगायतका पदमा अझै सर्वसम्मत हुन नसकेको हो । अध्यक्ष सर्वसम्मत गराउन पनि नेताहरूले लामै कसरत गर्नुपर्‍यो । अध्यक्षका आकांक्षी शिव ढुंगेल उपाध्यक्षमा सहमति गराए पनि सचिव, उपसचिव र सदस्यमा सहमति नजुटेको हो ।

एमाले झापाको ११औं अधिवेशन चैत १५ बाट सुरू भएको हो । शुक्रबारबाट बन्द सत्र सुरू भएकोमा शनिबार दिउँसो अध्यक्ष र उपाध्यक्षबाहेकका सबै पदमा आवश्यकताभन्दा बढीले मनोनयन दर्ता गराएका छन् ।

सचिवमा तुलसी कार्की, बोधप्रसाद घिमिरे, पुरुषतर्फ १ उपसचिव पदमा असारु राजवंशी, टीकाराम मंग्राती, चन्द्र सुब्बाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतबार गर्ने भनिएको मतदान सोमबारलाई सारिएको छ । अधिकतम प्रयास गरेर अन्य पदहरूमा पनि सहमति जुटाउने कसरतमा नेताहरू लागेका छन् ।

अधिवेशनमा पालिकाहरूबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरूबाट २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना र मनोनीत ३८ जना गरी ७८६ जना प्रतिनिधि सहभागी छन् ।

जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्नेछ । विभिन्न जन वर्गीय सङ्गठनहरूबाट पछि थप १५ जना मनोनीतसमेत हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर