ढोलाहिटी ग्याङफाइट: पक्राउ परेका १८ बाट कसरी छाँटियो ४ जना ? – Nepal Press

ढोलाहिटी ग्याङफाइट: पक्राउ परेका १८ बाट कसरी छाँटियो ४ जना ?

काठमाडौं । फागु पर्वको दिन ललितपुरको ढोलाहिटीमा भएको ग्याङ फाइटमा छुरा प्रहारबाट २ युवा मारिए । डी पोपिना खाजाघरमा दुई युवा समूहबीच विवाद हुँदा रेवस राई र पुजन राईको मृत्यु भएको थियो । रेवसको छाती र पुजनको तिघ्रामा छुरा रोपिएको थियो ।

खाजाघरकै सञ्चालकमध्येका एक विजय राईले किचनबाट चक्कु झिकेर प्रहार गर्न खोज्दा सुरुमा आफ्नै समूहका पुजनलाई तिघ्रामा लाग्न पुगेको र त्यसपछि विवाद बढ्दै जाँदा विजयले रेवसको छातीमा छुरा प्रहार गरेको ललितपुर प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

प्रहरीले सोमबार बिहानसम्म १८ जनालाई नियन्त्रणमा लिएको थियो । दुवै समूहका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

‘तीमध्ये १२ देखि १५ जना घटना भएका बेला त्यहाँ भएको देखिन्छ । तर, सबै जनालाई आरोप लगाउन सक्ने अवस्था छैन’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

ललितपुर प्रहरी प्रमुख खनालले अहिले घटनामा ५ जनाको मात्र संलग्नता देखिएको र १ जना फरार रहेको जानकारी दिए । ‘५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी आएको छ । तीमध्ये एक जना फरार छन्’, उनले भने ।

प्रहरीले अन्य ८ जनालाई पनि हिरासतमा राखेर अनुसन्धान गरिने तर तत्काल उनीहरुको संलग्नता नदेखिएको जनाएको छ ।

प्रहरीले डी पोपिनाका सञ्चालकद्वय विजय राई र सुलभ राईसहित विशाल हाङ मुकारुङ राई, छेङविहाङ राईलाई कर्तव्य ज्यान कसुरमा म्याद थप गरेको छ ।

घटनापछि विजय राईले मोटरसाइकलमा राखेर भगाउन खोज्ने व्यक्तिलाई पनि प्रहरीले यही कसुरमा अनुसन्धान गर्ने तयारी गरेको छ । डी पोपिनाका तीन जना सञ्चालकमध्ये भुपाल राई भने त्यस दिन त्यहाँ थिएनन् ।

‘मुख्य व्यक्ति विजय नै हुन् । अरु मतियार जस्ता देखिन्छन्’, अनुसन्धान अधिकारी भन्छन् । ललितपुर प्रहरी प्रमुख खनालले पनि आइतबार साँझ साढे ८ बजेतिर सुलभ, विजय, विशाललगायतको समूह खाजाघरमा बसेर खाइरहेको समयमा छेङविहाङ राई चार जनाको समूह लिएर त्यहाँ पुगेको र विवाद गरेको बताए ।

‘त्यसपछि विशाल र छेङविहाङबीच विवाद बढ्दै जाँदा सञ्चालकमध्येका एक सुलभले यस्तो कुरा यहाँ नगर भन्दै सम्झाइबुझाइ गर्दै सडकसम्म निकालेको देखिन्छ’, एसएसपी खनालले भने, ‘त्यसपछि छेङविहाङले घरमा बसिरहेका रेवस राईलाई फोन गरेर आफूहरुलाई डि पोपिनाबाट हेपेर बाहिर निकालेको बताएपछि उनी त्यहाँ आएको देखिन्छ ।‘

छेङबिहाङले आफूहरु सडकमा रहेको बताएपछि रेवस राति १० बजे त्यहाँ आइपुगेको र बन्द रहेको सटर खोलेर डी पोपिनाभित्र पसेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ ।

‘रेवसले मेरा भाइहरुलाई निकाल्ने को हौ तिमीहरु भनेपछि उनको विशाल हाङ मुकारुङ राईसँग विवाद र धकेलाधकेल सुरु भएको देखिन्छ’, एसएसपी खनालले भने, ‘खाजाघरका सञ्चालक विजयले पनि रेवसलाई त्यहाँबाट धकेल्दै बाहिर निकाल्न खोजेपछि उनीहरुबीच पनि विवाद बढेको देखिन्छ ।‘

प्रहरीका अनुसार त्यही क्रममा विजयले किचनबाट चक्कु ल्याएर रेवसलाई प्रहार गर्न खोज्दा सडक किनारमा बसिरहेका पुजनले त्यसो गर्नु हुँदैन भन्दै रोक्न खोजेको र त्यही क्रममा उनको तिघ्रामा छुरा लाग्न पुगेको थियो । त्यसपछि विशाल र सुलभले घाइते पुजनलाई खाजाघरभित्र लगेका थिए ।

त्यसपछि सडकमा आएर सुलभ, विशाल, विजय, छेङबिहाङ, रेवसबीच मुक्कामुक्की सुरु भएको अनुसन्धान अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर