झलनाथ खनाललाई प्रश्न- तपाईँ इलाम २ मा उपनिर्वाचन लड्न तयार हो ? (भिडिओ) – Nepal Press

झलनाथ खनाललाई प्रश्न- तपाईँ इलाम २ मा उपनिर्वाचन लड्न तयार हो ? (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताएका छन् ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूको इलाम २ मा चुनाव लड्ने तयारी हो ? भन्ने जिज्ञासामा उनले गठबन्धनले साझा उम्मेदवार बनाए तयार रहेको बताए ।

उनले भने- यसअघिको चुनावमा इलामले मलाई फुर्सद दिएको छ । अहिले पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिलाई दक्षिणपन्थी भड्काउबाट वामपन्थी एकतातर्फ ल्याउने काममा लागेको अवस्था छ । उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए सोच्न सकिन्छ ।

इलाम-२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङको निधनपछि वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा इलाम १ बाट पराजित खनालले गठबन्धनबाट साझा उम्मेदवार बन्ने गृहकार्य गरिरहेका छन् । नेकपा एसले पनि उपनिर्वाचनको विषयमा गठबन्धन दलसँग छलफल गर्ने निर्णय गरिसकेको छ ।

गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा छ । यद्यपि, रवि लामिछाने नेतृत्वको रास्वपाले गठबन्धनमा भए पनि एक्लै चुनाव लड्ने निर्णय गरेर आन्तरिक तयारी थालिसकेको छ । भने अन्य दलले कुनै निर्णय गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर