कित्ता बदल्दै मन्त्री बन्न पल्केका दीपक मनाङे – Nepal Press

कित्ता बदल्दै मन्त्री बन्न पल्केका दीपक मनाङे

मनाङे भित्र्याए पनि सरकार जोगिन कठिन

पोखरा । गण्डकी प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे)ले आइतबार प्रदेशसभा सचिवालयमा दल त्यागको घोषणा गर्दै स्वतन्त्र सांसद हैसियतका लागि निवेदन दिए । प्रदेशसभा सचिवालयका अनुसार उनको त्यो निवेदनमाथि कुनै निर्णय भएको छैन । तर, निवेदन दिएको २४ घण्टा नबित्दै उनी मन्त्री बनिसकेका छन् ।

२०७९ साल मंसिर ४ गते भएको निर्वाचनबाट स्वतन्त्र सांसद बनेका मनाङे त्यसको केही दिनपछि नै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । केन्द्रमा भएको गठबन्धनबाट आफू मन्त्री बन्न पाउने देखेपछि उनी एकीकृत समाजवादी लागेका थिए । तर, त्यति वेला मुख्यमन्त्री पाण्डे अनिच्छुक हुँदा मनाङे मन्त्री बन्न पाएका थिएनन् ।

अहिले अल्पमतमा परेको पाण्डे नेतृत्वको सरकारमा मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्त भएका छन् ।
पाण्डेले विश्वासको मत पाउने आशमा मनाङेलाई मन्त्री बनाएका छन् । नेकपा माओवादी केन्द्रले गत फागुन २३ गते समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा छ ।

मध्यावधि रोक्न आफू सरकारमा गएको नवनियुक्त भौतिक पूर्वाधारमन्त्री मनाङे बताउँछन् ।

‘मलाई सोधेर पार्टी फुटेको होइन, मलाई सोधेर गठबन्धनमा गएको पनि होइन’, उनले भने, ‘म नआऊँ, यो फेरि मध्यावधिमा जान्छ । मध्यावधिमा जाँदा धेरै खर्च हुन्छ । पैसा पनि दिनुपर्ने हुन्छ । फ्रीमा कसैले जित्दैन ।’

मध्यावधि भए पनि आफूले भाग नलिने मन्त्री मनाङेले दाबी छ । ‘मध्यावधिमा जानै दिन्न । गए पनि म मध्यावधि चुनावमा भाग लिन्न’, उनले भने ।

उसो त दीपक मनाङे परिस्थितिअनुसार आफ्नो पोजिसन फेरिरहन्छन् । गत मंसिरमा भएको निर्वाचनको समयमा एमालेतिर ढल्किएका मनाङे निर्विरोध निर्वाचित भएपछि कांग्रेसका उम्मेदवारको प्रचारमा सहभागी भएका थिए ।

मनाङे अघिल्लो कार्यकालमा ३ पटकमन्त्री बने । २०७८ वैशाख १६ गते पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारमा उनी पहिलो पटक खेलकुदमन्त्री नियुक्त भए । त्यसको केही दिनमै जेठ ९ गते दोस्रो पटक मन्त्री बन्ने सौभाग्य प्राप्त गरे ।

तत्कालीन नेकपामा प्रवेश गरेका मनाङेले यसको जानकारी संसद सचिवालयलाई पार्टीले जानकारी नगराउँदा उनी स्वतन्त्र हैसियतमै थिए । साढे १ महिनाअघि एमालेतिर ढल्किएका मनाङेले २०७८ असारमा कांग्रेस नेतृत्वको सरकार बनाउन निर्णायक भूमिका खेले । कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चासहितको गठबन्धनमा ३० सीट रहेकोमा मनाङे मिल्दा बहुमत पुगेको थियो । असार २७ गते उनी तेस्रो पटक खेलकुदमन्त्री बने ।

मनाङेलाई भित्र्याए पनि छैन सरकारलाई सहज

विश्वासको मत पाउने आशमा दीपक मनाङेलाई सरकारमा ल्याएका मुख्यमन्त्री पाण्डेलाई सरकार टिकाइराख्न भने सहज छैन । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ (सभामुखसहित), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का २ र एकीकृत समाजवादीका एक सांसदको मनाङ छन् । प्रदेशसभा सचिवालय अभिलेखमा एकीकृत समाजवादी सांसदको रूपमा रहेका मनाङेले दल त्यागको निवेदन दिएका छन् ।

२७ सांसदको समर्थन रहेको पाण्डे नेतृत्वको सरकारलाई बहुमतका लागि थप ४ सांसद आवश्यक पर्छ । मनाङेले विश्वासको मत दिएको खण्डमा पनि पाण्डे सरकारलाई बहुमत पुग्ने अवस्था छैन । यो अवस्थामा पाण्डे सरकारलाई थप ३ सांसद आवश्यक पर्छ ।

माओवादीको चिन्ह लिएर चुनाव जितेका नेपाल समाजवादी पार्टीका नेता फडिन्द्र देवकोटा र राप्रपाले विश्वासको मत दिएको खण्डमा मात्र पाण्डे नेतृत्वको सरकार अगाडि बढ्न सक्छ । नेसपाका नेता देवकोटा माओवादीमै रहने कि आफ्नै पार्टीको मान्यता पाउने भन्नेबारे अन्योल छ । राप्रपाले पनि हालसम्म पाण्डे नेतृत्वको सरकारमा जाने नजानेबारे ठोस निर्णय लिइसकेको छैन ।

यसो त स्वतन्त्र रूपमा जितेर सांसद बनेका दीपक मनाङेको बारेमा प्रदेशसभा सचिवालयबाट कुनै निर्णय भइसकेको छैन । मनाङेलाई पार्टीले कारबाही गर्न पाउने नपाउने भन्नेबारे अझै अन्योल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर