शालीनलाई मर्न बाध्य बनाएको भन्दै विद्यालयका तीन शिक्षकविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा – Nepal Press

शालीनलाई मर्न बाध्य बनाएको भन्दै विद्यालयका तीन शिक्षकविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा

चितवन । रत्ननगरको एकता शिशु निकेतनमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा हिरासतमा रहेका विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहन अभियोग लगाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले प्रहरी अनुसन्धानबाट प्राप्त प्रतिवेदनमा बलात्कारपछि हत्या गरिएको प्रमाण नभेटिएपछि शालीनको मृत्युको कारण आत्महत्या नै भएका निर्क्योल गर्दै हिरासतमा रहेका तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालत चितवनमा हिरासतमा रहेका विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका वार्डेन कमलप्रसाद शर्माविरुद्ध शालीनको आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जिल्ला अदालत चितवनमा दायर गरिएको अभियोगपत्रमा भनिएको छ, ‘घटनाको आधार प्रमाणहरु अध्ययन गर्दा निजहरुले तोकिएको पदबाट विचलित भइ होस्टल सञ्चालनको न्यूनतम मापदण्ड र वातावरणको समेत ख्याल नराख्दा र होस्टलमा रहने बस्ने गरेका विद्यार्थीहरुको उचित हेरचाह नगरी मृतक शालीन पोखरेललाई झुण्डिइ मर्न बाध्य बनाइ बाँच्ने अन्य विकल्पहरु नरही बाध्य भइ निज शालीन पोखरेल झुण्डिइ आत्महत्या गरेको देखिन्छ ।’

सोही आधार मानी दायर अभियोगपत्रमा मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा (२) विरुद्धको कसुर गरेको ठहर गरिएको छ ।

मुलुकी अपराध संहिताको दफा १८५ ले आत्महत्या दुरुत्साहन गर्न नहुने उल्लेख गरेको छ । यदि कसैले आत्महत्या दुरुत्साहन गरे कसुर गर्ने व्यक्तिलाई पाँच वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा शालीनका बुबा दीपेन्द्र पोखरेलले फागुन १५ गते दायर गरेको जाहेरीमा तीन शिक्षकले छोरी पोखरेललाई बलात्कार गरी हत्या गरेको उल्लेख छ । सोही अभियोगमा अनुसन्धान गरे पनि अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदनले पोखरेलको कन्या जाली नच्यातिएको, सुसाइड नोट पनि उनकै भएको विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन आएको थियो ।

अभियोगपत्रमा मुलुकी अपराध संहिता १८६ बमोजिम मृतक पोखरेलको हकवालालाई मनासिव क्षतिपूर्ति दिनसमेत मागदाबी गरिएको छ ।

१३ वर्षकी शालीन विद्यालयको छात्रावासमा गत फागुन १२ गते मृत अवस्थामा भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको अभिभावकले आरोप लगाउँदै आएका थिए । तर, अनुसन्धानबाट बलात्कार र हत्या पुष्टि हुने प्रमाण नभेटिएपछि आत्महत्या दुरुत्साहनमा अभियोग लगाएर मुद्दा दर्ता गरिएको हो । उनीहरुविरुद्ध सोमबार थुनछेक बहस हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर