मन्त्रीको शपथ खान ठिक्क परेको हानेपाले बागमतीमा किन माग्यो मुख्यमन्त्री ? – Nepal Press

मन्त्रीको शपथ खान ठिक्क परेको हानेपाले बागमतीमा किन माग्यो मुख्यमन्त्री ?

गगन थापा र हानेपाका सांसदसहित पदाधिकारीबीच मध्यरातमा भेट भएको कांग्रेस स्रोतको भनाइ

हेटौंडा । सत्ता गठबन्धनको सरकार विस्तारमा निर्णायक मानिएको हाम्रो नेपाली पार्टी (हानेपा) ले एकाएक मुख्यमन्त्री मागेपछि शालिकराम जम्कट्टेल नेतृत्वको सरकार अलमलमा परेको छ । एमाले-माओवादी-समाजवादी सत्ता गठवन्धनलाई अनिवार्य आवश्यकताको रूपमा रहेको हानेपाले आइतबार विज्ञप्ति जारी गर्दै एकाएक मुख्यमन्त्रीमा दाबी गरेसँगै सत्तारुढ गठबन्धनलाई समस्या उत्पन्न भएको हो ।

केन्द्रीय सत्ता गठबन्धनले सरकार बनाउनको लागि बागमतीमा आवश्यक ५६ सीटमध्ये एक सीट अपुग भएको अवस्थामा दुई सीट रहेको हानेपालाई सरकारमा ल्याउने करिब निश्चित भएको थियो । हानेपाका दुवै सांसदलाई मन्त्री दिएर मुख्यमन्त्री जम्कट्टेलले सरकार विस्तारको तयारीसमेत गरिसकेका थिए । उनले हानेपाका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य र सरिता खड्कीलाई मन्त्री पदको शपथको लागि खबरसमेत गरिसकेको स्रोतले बतायो ।

प्रदेश प्रमुखको कार्यालयले शपथग्रहणको तयारी समेत गरिसकेको र त्यसकै लागि हेटौँडा बाहिर रहेका प्रदेश प्रमुख यादवराज शर्मा आइसकेका थिए । एकाएक शपथ केहीपछि गरौं भनेर सन्देश आएको प्रदेश प्रमुखनिकट स्रोतले बतायो ।

हेटौंडामा शपथग्रहण केही समय स्थगित गर्न सन्देश पठाएर हानेपा सांसदसहितको केन्द्रीय पदाधिकारीको टोलीले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग मध्यरातमा भेट गरेको स्रोतको दाबी छ । थापासँग भेटेपछि हानेपाले तत्कालै कम्युनिष्ट गठबन्धनको सरकारमा सहभागिता नहुने निर्णय लिएको बताइएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै कांग्रेसनिकट स्रोतले भन्यो, ‘उहाँहरूसँग हाम्रो भेट भएर वर्तमान राजनीतिक विषयमा छलफल भएकै हो, तर सरकारको सभागिताबारे भने हामीले कुनै फोर्स गरेका थिएनौं ।’

बागमतीमा हानेपा निर्णायक हुने भएपछि सत्तारुढ गठबन्धनका नेता तथा कांग्रेस-राप्रपाको नेताहरूले बारम्बार हानेपा पदाधिकारीसँग अनौपचारिक भेट गरेका छन् । हानेपालाई मुख्यमन्त्री पाएमात्र सरकारमा जान उनीहरूकै सुझाव रहेको पनि स्रोत बताउँछ ।

तर, हानेपाले भने आफूहरूलाई यसअघिको दुई सरकारले राजनीतिक बेईमानी गरेको भन्दै पुनः विश्वासको मत दिने वातावरण नभएको दाबी गरेको छ ।

बज्राचार्य भन्छन् ‘हामी पनि सरकारको नेतृतव गरेर प्रदेशलाई विकसित तथा सुशासनयुक्त बनाउन सक्छौँ भन्ने पूर्ण विश्वास छ, तसर्थ हामीले प्रदेश सरकारको नेतृत्व दाबी गरेका हौँ ।’

कांग्रेसले आफ्ना ६ जना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेललाई ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।

तर, हानेपाले मुख्यमन्त्री पाए सरकार बनाउने, नत्र दुवै गठबन्धनलाई समर्थन नगर्ने औपचारिक निर्णय गरेसँगै बागमती प्रदेशको सरकार पुनर्गठन थप पेचिलो बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर