स्टाफ नर्स ह त्या प्रकरण : प्रेम सम्बन्धका कारण घटना भएको आशंका – Nepal Press

स्टाफ नर्स ह त्या प्रकरण : प्रेम सम्बन्धका कारण घटना भएको आशंका

विराटनगर । नोबेल मेडिकल कलेजमा कार्यरत चन्द्रा कुमारी दासको प्रेम सम्बन्धका कारण हत्या भएको प्रहरीले आशंका गरेको छ । विराटनगरमा डेरा बसेको घरभित्र शव फेला परेकी स्टाफ नर्स दासको उनकै केटा साथीले हत्या गरेको आशंका गरिएको छ ।

विराटनगर महानगरपालिका–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दासको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले बताए ।

उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि फालेको अवस्थामा शव भेटिएको हो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको दाहालले बताए । शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाइ हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्त एवं परिवारका सदस्यलाई प्रहरीले घटनाको जानकारी गराइसकेको छ । उनीहरु सिरहाबाट विराटनगर आउने क्रममा रहेको डीएसपी दाहालले बताए । यो घटनापछि दासका ‘ब्वाई फ्रेन्ड’ भनिएका युवा सम्पर्कविहीन बनेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

मृतकका साथीहरुले प्रहरीलाई दिएको जानकारीअनुसार दास सिरहाको फुल्काहकट्टी नै घर भएका अमिन धानुकसँग प्रेम सम्बन्धमा थिइन् । दासका प्रेमी धानुक अहेब रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनी सिरहाको गोलबजारमा काम गर्छन् ।

दासको हत्यामा धानुक संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ । तर, धानुक विराटनगर कहिले आएका थिए भन्ने यकिन भइसकेको छैन ।

प्रहरी स्रोतका अनुसार मृतक बसकै घरमा उनका अरु साथीहरू पनि डेरा बस्थे । तीमध्ये एकजना साथीको वाट्सएपमा ‘मैले हत्या गरेर शौचालयमा छाडिदिएको छु’ भन्दै धानुकले म्यासेज गरेर फोटाहरु पठाएको पाइएको प्रहरी स्रोतले बतायो । उनले कुन नम्बरबाट वाट्सएप गरे भन्ने प्रहरीले खुलाएको छैन । तर, घटनापछि सम्पर्कविहीन भएकाले खोजीका लागि प्रहरी परिचालन गरिसकिएको एसपी कार्कीले बताए ।

एसपी कार्की घटनामा अरु नै व्यक्तिको संलग्नता पनि हुन सक्ने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर