प्रदेशमा ‘असफल’ नवलकिशोरले संघमा पनि हत्याए मन्त्री – Nepal Press

प्रदेशमा ‘असफल’ नवलकिशोरले संघमा पनि हत्याए मन्त्री

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र नवलकिशोर साह वन तथा वातावरण मन्त्री बनेका छन् ।

प्रचण्ड सरकारको क्याविनेटमा चारजना उपप्रधानमन्त्रीमध्ये यादवको वरीयता अन्तिममा छ । रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने क्रमश: पहिलो, दोस्रो र तेस्रो वरीयतामा छन् । वरीयाताका कारण मधेसमा उनको आलोचना सुरू भएको छ । यद्यपि जिम्मेवारी सम्हाल्दै यादवले जनताको सेवा गर्न वरीयाताले फरक नपार्ने प्रष्टीकरण दिएका छन् ।

अध्यक्ष यादव वरीयतालाई ख्याल नै नगरी आफैं मन्त्री बन्न तयार भएको र प्रदेशमा ‘असफल’ मन्त्रीको ट्याग लागेका साहलाई पनि मन्त्री बनाएको भन्दै पार्टीका धेरै नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।

साह ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सप्तरीबाटै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनलाई पार्टीले सामाजिक विकास मन्त्री बनायो । उनीमाथि सन्तोषजनक काम गर्न नसकेको साथै कमिसनमुखी भएको आरोप लाग्यो ।

पार्टीकै नेताहरू असन्तुष्ट बनेपछि नेतृत्वले उनलाई मन्त्रीबाट फिर्ता बोलाउने तयारी गरिरहेकै बेला तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकता भयो । तर, एकता धेरै दिन टिक्न सकेन । तत्कालीन राजपाका नेताले जसपा छाडेर लोसपा गठन गरे ।

मधेस सरकारको नेतृत्व जसपाको हातमा थियो । पुरानो पार्टीमा फर्केपछि मन्त्री पद गुम्ने डरले साह जसपा रोजे । जसपाले पनि उनलाई पार्टीमा टिकाउन मन्त्रीमा निरन्तरता दिए ।

मन्त्री पद गुम्ने डरले नै तत्कालीन राजपाबाटै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका रामनरेश रायले पनि जसपा नै रोजेका थिए । तर, अहिले उनी घर न घाटको भए । पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका उनी पराजित भए । राय अहिले लोसपा त्यागेर राजेन्द्र महतोको ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानमा लागेका छन् ।

साह भने जसपामा आफ्नो प्रभाव जमाउन सफल भए । सप्तरी क्षेत्र नम्बर १ बाट टिकट पाएका उनी विजयी भए । प्रदेशबाट संघमा उक्लिए । र, अहिले वन तथा वातावरणमन्त्री पड्काए ।

प्रदेशमा सामाजिक विकासमन्त्री भएका बेला साह कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, कर्मचारी नियुक्ति र योजना बाँडफाँटमा ठूलो रकम अनियमितता गरेको आरोप छ ।

मधेस प्रदेशका असफल मन्त्रीको ट्याग लागेको साहबारे उपेन्द्र यादव अनभिज्ञ छैनन् । आर्थिक चलखेलबाट उनले मन्त्री हत्याएकाे टिकाटिप्पणी हुन थालेको छ ।

जसपाका एक नेताले भने, ‘पैसाको चलेखल भएको हो/होइन म भन्न सक्दिनँ । तर, प्रदेशका असफल मन्त्रीलाई संघमा पनि अवसर दिएर अध्यक्षजीले ठीक गर्नुभएन ।’ योग्यलाई पाखा लगाएर अयोग्यलाई मन्त्री बनाएपछि आश्चर्य लागेको ति नेताको भनाइ छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर