अदालतले तीनतिर बनाइदिएको ३ वर्ष पुगेकै दिन ओलीसँग प्रचण्ड-माधवको संयुक्त मिलन – Nepal Press

अदालतले तीनतिर बनाइदिएको ३ वर्ष पुगेकै दिन ओलीसँग प्रचण्ड-माधवको संयुक्त मिलन

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा भंग गरेको तीन वर्षपछि केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको मिलन भएको छ । २०७७ फागुन २३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी मुद्दा फैसला गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्युँताएको थियो । अदालतको फैसला आउने बेलामा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । प्रचण्ड र माधव नेपाल मिलेर ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेको बेलामा अदालतको फैसला आएको थियो ।

अदालतले एमाले र माओवादी व्युँताइदिए पनि ओली र माधव नेपाल एकै ठाउँमा बसेनन् । एमालेमै बस्न नेपालले धेरै प्रयत्न गरे पनि कुरा नमिलेपछि पार्टी फुटाएका थिए ।

रोचक संयोग मान्नुपर्छ, तीन नेता तीनतिर भएको ठ्याक्कै तीन वर्षपछि बुधबार फेरि उनीहरूबीच सहकार्य सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण थालेपछि तीन नेताको मिलन सम्भव भएको हो ।

यद्यपि माधव नेपालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरे पनि प्रचण्डसँगको सहकार्य भने छाडेका थिएनन् । आजबाट उनले एमालेसँग पनि सहकार्यको हात अघि बढाएका छन् ।
प्रचण्डले एमालेसँग सहकार्य गर्न जाँदा आफूसँग सल्लाह नगरेको भन्दै सुरुमा असन्तुष्टि जनाएका नेता नेपाल अहिले सरकारमा जान राजी भइसकेका छन् ।

मंगलबार साँझ प्रचण्ड र ओली स्वयं नेपाल निवास पुगेर सहकार्यको प्रस्ताव राखेपछि उनी सरकारमा सहभागी भएर सहकार्य गर्न राजी भएका हुन् । त्यसो त गत निर्वाचनमा गठबन्धनबाट जाँदा पनि १० सीट जिते पनि राष्ट्रिय दल बन्न नसकेपछि नेपाललाई पार्टीमा नेता कार्यकर्ता टिकाउनै मुस्किल परिरहेको छ ।

नेता कार्यकर्ता एमालेमा फर्किन थालेपछि माधव नेपाललाई पनि कार्यगत एकता हुँदै एमालेमै पार्टी मिसाउने बाटो खुलेको छ ।

नेकपा एसको आज बसेको बैठकमा पनि प्रचण्ड र ओलीले नै प्रस्ताव राखेपछि वामपन्थी सरकारको पक्षमा जानुपर्नेमा अधिकांश नेताहरुले जोड दिएका थिए ।
एमाले र माओवादीबीचको सहकार्यमा नेकपा एसले आफूलाई सहभागी गराएपछि फेरि वाम एकताको चर्चा चल्न थालेको छ ।

कांग्रेसले आगामी निर्वाचनमा एक्लै लड्ने र जनयुद्धलाई अपमानित गरेको दस्तावेज महासमितिको बैठकबाट पारित गरेपछि प्रधानमन्त्री प्रचण्ड बिच्किएर एमालेसँग काँध जोड्न पुगे । आगामी निर्वाचनमा माओवादीमात्रै होइन, माधव नेपालले नेतृत्व गरिरहेको नेकपा एस पनि एक्लै चुनावमा जानसक्ने अवस्था छैन । नयाँ दलहरुको उदयले धक्का खाएको एमाले पनि मिसन ८४ को अभियानमा छ । तर, अब फेरि वाम गठबन्धन हुँदै एकतासम्म पुग्न सके २०७४ सालमा झैं दुई तिहाइ नजिक जित्न सकिने आँकलन नेताहरुको छ ।

विगतको धोकालाई बिर्सिएर माओवादीसँग सहकार्य गर्ने तहसम्म ओर्लिएका ओली नेकपा एससँग पार्टी एकता नै गर्नेसम्मको तयारीमा रहेको बताइन्छ । अध्यक्ष नेपालले पार्टीको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अफर गर्दा पनि आफूले अस्वीकार गरेको ब्रिफिङ गरेका थिए । देउवाले नेपाललाई घरमै पुगेर भनेका थिए, ‘प्रचण्डले जे मनलाग्यो, त्यही गर्न पाउँदैनन् । हामी चार दल (कांग्रेस, एस, जसपा र जनमोर्चा) मिलेर जाऔं । तपाईंहरू अहिले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिनुस् ।’

प्रचण्डले धोका दिएपछि देउवाले वैकल्पिक गठबन्धन बनाउने गृहकार्य छाडेका छैनन् । उनले आजैमात्र जनमतका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरी र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई घरमै बोलाएर सहयोग मागिसकेका छन् ।

आगामी निर्वाचन लक्षित गर्दै पार्टीको अस्तित्व नै संकटमा पर्ने खतरा बढ्दै गएको अवस्थामा प्रचण्ड र नेपाल पनि एमालेसँग सहकार्य गर्न बाध्य भएको बताइन्छ । तर, अहिले सरकारको विषयमा मात्रै छलफल चलेको नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

वामपन्थी एकता आजको आवश्यकता भएको बताउँदै उनले आफूहरु सधैं खुला रहेको औंल्याए । उनले भने, ‘अहिले सरकारमा सहकार्यको कुरा छ । हामी सबै वामपन्थी एकताको पक्षमा त रहिरहेकै छौं । तर, पार्टी एकताको तहसम्म तत्काल पुग्दैनौं ।’

त्यसो त नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सुरुदेखि नै एमालेसँग सहकार्यको पक्षमा उभिँदै आएका छन् । वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका नेता खनालले तत्काल एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने बताए ।

उनले भने, ‘हामीले खास अवस्थामा विद्रोह गरेर अलग पार्टी बनायौं । यत्रो ठूलो पार्टी जुन ढंगले विभाजित भयो । आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहावलोकनका विषयहरु हुन् । एमाले र नेकपा एसबीच विचारमा, नीतिमा, सिद्धान्तमा एकता भयो भने पार्टी फेरि एकीकरण हुनलाई के गाह्रो हुन्छ र ?’

नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको उनको भनाइ छ ।

नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको माओवादीका सचिव देवेन्द्र पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘वामपन्थी दलहरु एक होऊन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त स्टेप चालिएको हो । विगतका त्रुटि कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल छ । कुनै न कुनै बेला ‘ब्रेक थु्र’ गर्न त्यस्तो समय आवश्यक पर्छ । अब हामीले नयाँ अध्याय सुरु गरेका छौं ।’

उनले बीचमा केही समय अलग भए पनि विगतकै निरन्तरता भएको दाबी गरे ।

तर, एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम अहिले माओवादी र नेकपा एससँग कार्यगत एकतामात्रै भएको दाबी गर्छन् ।

उनी भन्छन्, ‘यो कार्यगत एकतामात्रै हो । सरकार सञ्चालन गर्न प्रमुख वामपन्थी र अन्य राजनीतिक दलहरुबीच कार्यगत एकता हो । अहिले नै एकताको तहसम्म पुग्ने भन्ने होइन, विभिन्न सम्भावना औंल्याएर एकता हुनसक्छ ।’

उनले गठबन्धन र सरकारलाई बलियो बनाउन नेकपा एसलाई पनि समेट्न तयार भएको बताए ।

माओवादी र नेकपा एससँग सुरु भएको कार्यगत एकता पार्टीसम्म पुग्छ कि पुग्दैन भन्ने प्रश्नमा उनले थपे, ‘अब त्यो सम्भावना नै छैन भन्न सकिँदैन । तर, त्यो निकै परको विषय हो । अहिले सरकारमा हामीले कार्यगत एकतामात्रै गरेका हौं ।’

कम्युनिष्ट पार्टीहरुबीच फेरि सुरु भएको सहकार्य कति टाढासम्म जान्छ भन्ने नीति र कार्यक्रममा निर्भर हुने राजनीतिक विश्लेषक हरि रोक्का बताउँछन् ।

उनी भन्छन्, ‘फेरि पार्टी एकतासम्म पुग्छ पुग्दैन भन्ने विषय नीति, कार्यक्रम र एजेण्डामा भरपर्छ, उहाँहरुले यसअघि गरेको प्रयास त असफल भयो नि ! पुरानो असफलताबाट सफलतातर्फ लान अब चाहनुहुन्छ कि हुन्न भन्ने कुरा मुख्य हो । पुरानो कुराबाट कति सिक्नुहुन्छ ? त्यसबाट सिक्नुहुन्छ कि हुन्न भन्ने लेखाजोखा गर्नुहुन्छ कि हुन्न भन्नेमा भरपर्छ ।’

ओली माधव नेपाललाई सहयोग माग्ने तहसम्म ओर्लिनुलाई कसरी बुझ्नुहुन्छ भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘त्यो उहाँहरुमा भरपर्ने कुरा हो । उहाँहरुको एजेण्डामा अहिले एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपाबीच केही फरक त छैन, राजनीतिक र सांगठनिक रुपमा होस् या व्यवस्थापकीय रुपमा पनि ।’

एजेण्डालाई व्यवस्थित बनाएर जान सक्नसके फेरि पार्टी एकता हुन पनि सक्ने उनको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर