कांग्रेस नेताहरुमाथि आक्रमण भएको त्याे सुरजपुरा काण्डः देउवाको ओठमाथि देखिने खतकाे कथा – Nepal Press

कांग्रेस नेताहरुमाथि आक्रमण भएको त्याे सुरजपुरा काण्डः देउवाको ओठमाथि देखिने खतकाे कथा

गिरिजाप्रसाद, शुशील, शेरबहादुर, रामचन्द्र, शैलजासहित कांग्रेस नेताहरुलाई यसरी जोगाएका थिए कार्यकर्ताले

रुपन्देही ।  कांग्रेसको नेतृत्व गरिसकेका र अहिले गरिरहेका शीर्ष नेताहरुका लागि दुखरुपमा स्मरणीय दिन हाे फागुन २० । चार दशकअघि पञ्चायतकालमा आजकै दिन रुपन्देहीको सुरजपुरामा नेपाली कांग्रेसका शीर्ष नेताहरु सम्मिलित कार्यक्रममा घेरा हालेर आक्रमण भएको थियो ।

२०४० फागुन २० गते हालका राष्ट्रपति रामचन्द्र पौडेल, पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरु स्व. गिरिजाप्रसाद कोइराला, स्व. शुशील कोइरालासहितका नेताहरुकाे उपस्थितमा कार्यक्रम भइरहेकाे घर नै घेरा हालेर तत्कालीन सरकारद्वारा संरक्षित समूहले आक्रमण गरेका थिए । घटनामा दुई जनाको ज्यान गएकाे थियो भने २ सयभन्दा बढी घाइते भएका थिए । कोइराला,  देउवालगायतका कांग्रेसका नेताहरू मुस्किलले जोगिएका थिए ।

पार्टीका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालासहितका शीर्ष नेताहरु आउने सूचना पाएको तत्कालीन सरकारले उनीहरुविरुद्ध आक्रमणको योजना बनाएको त्यो घटनामा घाइतेहरुको स्मरण छ । रुपन्देहीका नेता कार्यकर्तालाई यो दिनले अहिले पनि तर्साउने गर्दछ ।

पञ्चायती शासनको बेला दलमाथि प्रतिबन्ध थियो । दलीय कार्यक्रम गर्न छुट नभएकाले कार्यक्रमकाे तयारी गोप्य तरिकाले गरिएको थियो । सहभागी नेताहरुका अनुसार गिरिजाप्रसादसहितका नेताहरु चढेको गाडी नवलपरासीमा बिग्रिएपछि मिनीबसबाट रुपन्देही आएका थिए ।

सूचनाको गोपनीयता र सुरक्षाका लागि कार्यक्रम गर्ने ठाउँको खोजी भयो, तर कतै भरपर्दो स्थान नभएपछि पार्टीको तत्कालीन रुपन्देहीका सभापति रहेका पुष्पानन्द गिरिले आफ्नो घरमै त्यो बन्दोबस्त मिलाए । अहिले देवदह नगरपालिका वडा नं ३ स्थित सुरजपुरामा रहेको गिरिको घरमै त्यो भव्य कार्यक्रमको व्यवस्थापन गरिएको थियो ।

पुष्पानन्दका छोरा पर्शुरामका अनुसार उनीहरु गिरिजासहितका कांग्रेस नेताहरूलाई लिन गोरुगाडा लिएर राजमार्गमा पर्ने खैरेनी पुगे पनि ५ किमी दक्षिणमा पर्ने सुरजपुरासम्म कोइराला हिंडेरै पुगेका थिए । तर उनी पुगेको आधा घन्टा नपुग्दै गाउँमा कालो झण्डा बोकेर मानिसहरु आइरहेको सूचना आयो ।

अहिले केही अस्वस्थ्य रहेका परशुरामका अनुसार आक्रमण र घेराउको डरले कार्यक्रमको स्वरूप छोट्याउँदै कोइराला मात्र बोल्ने र छिटो कार्यक्रम टुंग्याउने निर्णय भएको थियो । तर योजना बनाउँदा बनाउँदै ढिला भयो । महामन्त्री कोइरालाले बोल्न शुरू मात्र के गरेका थिए, भीडले कार्यक्रम स्थल घेराउ गरिहाल्याे ।

त्यो बैठकको सुरक्षार्थ खटिएका कांग्रेसकाे युवा टोलीले प्रतिरोध गर्न खाेजे पनि कोइरालाले स्वीकृति दिएनन् र शान्तिपूर्ण रुपमा प्रजातन्त्र माग्नेहरु कसैसँग नभिड्ने जवाफ दिएका थिए । तर त्यो बसाईलाई घेरा हालेको भीडले कार्यक्रम बिथोलेपछि कोइरालाले बोल्न त पाएनन् नै,  कांग्रेस नेताहरुमाथि अन्धाधुन्द आक्रमण भयाे।

हातमा बाँसका भाला, खुकुरी, बञ्चरोसहित आएको त्यो समूहले आक्रमण शुरू गरेपछि कार्यक्रम स्थलमा भागाभाग भएकाे थियाे । कम्पाउण्डभित्र पुष्पानन्दका तीनवटा घर थिए । नेता र केही कार्यकर्ता घरभित्र पसे, तर पहिला घरको पर्खाल बाहिरबाट ढुंगामुढा प्रहार गरेका आक्रमणकारीहरूले पछि भित्रै पसेर आक्रमण गर्न थालेपछि स्थितिले गम्भीर मोड लियो ।

केन्द्रीय नेता र अगुवा कार्यकर्तालाई जोगाउन घरभित्र लगेर युवा टोलीले घेरेर बसे । तर घरभित्र लैजाने क्रममा आक्रमणकारीले हानेको इँटा शेरबहादुर देउवाको ओठमाथि लाग्याे । त्याे चाेटकाे खत अहिलेसम्म देउवाकाे ओठमा देखिन्छ ।  आक्रमणकारीले विभिन्न हतियारबाट ढोका फोडे भने भुइँतलामा भएका कार्यकर्तामाथि आक्रमण गरे ।

पुष्पानन्दले नेताहरुलाई बचाउन तेस्रो तलामा पुर्‍याए । घोप्टे (भर्‍याङको मुखमा घोप्टो पारेर लगाइने काठको ढोका) लगाएर राखियाे । आक्रमणकारीले बञ्चरोले घोप्टेमा हानेपनि फोड्न भने सकेनन् । त्यसपछि कपडा जम्मा गरेर आगो लगाउने प्रयास गरे । धन्न, काठले आगो टिपेन । त्यसबेला कोइरालासँगै उपल्लो तलामा रहेका गिरि त्यो दिन सम्झिन्छन्, “बाँच्न लेखेको रहेछ र काठले आगो टिपेन । नत्र त हामी सबै एकै ठाउँमा सकिन्थ्यौं ।”

कांग्रेस नेताहरुका अनुसार ती आक्रमणकारीलाई तत्कालीन सरकारकाे संरक्षण गरेकाे थियो । सो घटनामा गम्भीर घाइते भएका परमानन्द भट्टराई अहिले पार्टीको रुपन्देही जिल्ला सचिव छन् । आक्रमणकारीले नेताहरु बसेको घर घेरेपछि उनी बाहिर निस्केका थिए । तर उनीमाथि नै आक्रमण भयो । गम्भीर घाइते अवस्थामा घर छेउको गहुँबारीमा अचेत अवस्थामा लडेका उनलाई आक्रमणकारी गएपछि मात्र अन्य नेताकार्यकर्ताले भेटेर अस्पताल पुर्याएका थिए ।

भट्टराई घटनालाई यसरी सम्झिन्छन्–

‘म पक्लिहवा क्याम्पसमा आइएसी पढ्थेँ । नेविसंघको जिम्मेवारीमा थिएँ । हाम्रो नेता रामकृष्ण ताम्रकारले पार्टीका शीर्ष नेताहरु आउने कार्यक्रममा जाने निर्देशन दिनुभयाे । त्यसै अनुरुप पुगियो । सभापति  स्व. पुष्पानन्द गिरीकाे घरमा आक्रमण भएको हो । हामी खैरेनीमा पुग्दा नै ठूलो समूहले बाटोमा घेरिरहेका थिए । मण्डलेहरुको विथोल्ने योजना रहेछ । गिरिजाबावुलाई बाटोमै रोक्ने योजना रहेछ । तर उहाँ आएको गाडी बाटोमा बिग्रेर अर्को गाडीमा गएकाले सकेनन् ।’

‘युवा जोश थियो । पार्टीका नेताहरुविरुद्ध घेराबन्दी गरेर आक्रमण गर्न थालेपछि हामी ढोका बाहिरै बस्याेँ ।  गिरिजाबाबुले बोल्दै गर्दा आक्रमण भयो । म पनि गम्भीर घाइते भएँ । गहुँबारीमा बेहोस् अवस्थामा पल्टेको रहेछु । पछि लडियामा मंगलपुर र ट्रकमा बुटवलको अञ्चल अस्पतालमा लगेर उपचार भयाे ।’

‘हामी घाइते भएर लुम्बिनी अस्पताल पुर्याइदा पनि वेवास्ता भयो । काठमाडाैं जान एम्बुलेस, एयर टिकट दिइएन । म, कलाधर गैरे, पदम पाण्डेलाई रात्रीबसको बीचमा सुताएर उपचारका लागि तीन दिनपछि काठमाडाैं लगियाे ।  तर वीरमा पनि उपचारका लागि ठाउँ नदिएर बाहिर राखेर उपचार गरियो । रामबहादुर बीसीले त्यसको संयोजन गर्नुभयो ।’

घटनामा अहिलेका पार्टी सभापति शेरबहादुर देउवालाई पनि इँटाले ‌ओठमा लागेको उनले स्मरण गरे । बहुदलपछि पनि रुपन्देही आउँदा तत्कालीन समयमा सहभागी भएका नेताहरु सुरजपुरा आउने र त्यतिबेलाका घाइतेहरुलाई सम्झने गर्दछन् ।  त्यो  घटना २० गते भए पनि पछि जिल्ला पार्टीले स्मरण गर्ने दिन २२ गते बनाएकोमा उनी सन्तुष्ट छैनन् ।

करिब दुई घन्टा आक्रमण भएको सो स्थानबाट आक्रमणकारीले थुप्रै समानहरु पनि लगेका थिए । भकारीका धान, गहुँ आगो लगाएर नष्ट बनाए भने कपडा, गरगहना लुटे । सोे आक्रमणमा यादवनाथ आलोक र रामप्रसाद चौधरीको मृत्यु भएको थियो भने २ सय ७० जना घाइते भएका थिए । आलोकलाई भाग्ने क्रममा त्यो समूहले नियन्त्रणमा लिएर खुकुरी र भाला प्रहार गरेर मारेको गिरि बताउँछन् ।

चौधरीको उपचारका क्रममा ९ दिनपछि मुत्यु भएको थियो । शान्तिपूर्ण कार्यक्रममा भएको आक्रमणमा परेका एकनाथ भाट, हरिप्रसाद पोखरेल, हरि ढकाल, भाष्कर ढकाल, नारायण दास चौधरी, घनश्याम उप्रेती,तोयराज पाण्डे, मुन्नु केवट, रामरुप केवट, सर्वजित बडईकाे अहिले मृत्यु भैसकेको छ । वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, महासमिति सदस्य मणिप्रसाद शर्मा, जिल्ला सचिव परमानन्द भट्टराईलगायत २७२ जना नेताकार्यकर्ता घाइते भएको कांग्रेस रुपन्देही २ का क्षेत्रीय सभापति प्रजापाल गिरी बताउँछन् ।

दुई घण्टापछि नेताहरू घरबाट तल भरे। घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको थियो । सुरजपुरा काण्डपछि महामन्त्री कोइरालाले देश दौडाहा कार्यक्रम स्थगित गरेका थिए । गिरिका अनुसार, घटनाको एक महिनापछि तत्कालीन गृहसचिव घटनास्थल आएका थिए । तिनले राजा वीरेन्द्रको तर्फबाट पुष्पानन्द गिरिसँग क्षतिपूर्ति दिने प्रस्ताव गरेपनि गिरीको जवाफले क्षतिपूर्ति कुरा नै रोकिएको थियो ।

घटनाका साक्षी रहेका गिरीका अनुसार पुष्पानन्दले भनेका थिए “क्षतिपूर्ति दिने हो भने मेरा दुई जना साथी दिनुस्, अनि प्रजातन्त्र दिनुस् । मलाई अरु चाहिंदैन ।” यो घटनालाई स्मरण गर्दै कांग्रेस रुपन्देही हरेक वर्ष नियमित कार्यक्रम गर्दै आएको छ । तर घटना २० गते भएको, आलोक यादवको मृत्यु २२ गते भएको र चौधरीको मृत्यु त्यसपछि भएकाले स्मरण मितिका विषयमा अहिलेका नेतृत्वले सबैको चित्त बुझाउन सकेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर