एआईको विकासले के साँच्चिकै भविष्यलाई धमिलो बनाउँदैछ ? – Nepal Press

एआईको विकासले के साँच्चिकै भविष्यलाई धमिलो बनाउँदैछ ?

काठमाडौं । विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासक्रमले मानिसहरुको जीवनमा आमूल परिवर्तन ल्याएको छ ।

यसको पछिल्लो उदाहरण हो ओपन एआई । ओपन एआईको एउटा प्रोडक्ट ‘च्याट जीपीटी’ ले मात्रै विश्वभरका माइक्रोसफ्ट, एप्पलदेखि मेटा जस्ता ठूला कम्पनीहरुलाई निकै पेचिलो धक्का दियो ।

जब सन् २०२२ मा ओपन एआईले च्याट जीपीटी लन्च गर्‍यो, त्यसले विश्वभर नै तहल्का पिट्यो । सन् २०२२ मा विश्वमै सबैभन्दा छिटो १० लाख प्रयोगकर्ता पुर्‍याउने सर्भिसहरुमा ओपन एआईको च्याट जीपीटी पहिलो स्थानमा परेको थियो । लन्च भएको ५ दिनमै १० लाखले च्याट जीपीटी उपयोग गरेका थिए ।

सन् २०२३ को फेब्रुअरीसम्म आइपुग्दा च्याट जीपीटीलाई १ बिलियनले प्रयोग गरिसकेका थिए । जुन सन् २०२३ सम्मकै सबैभन्दा छिटो १ बिलियनले प्रयोग गरेको सर्भिससमेत बनेको थियो । च्याट जीपीटी प्रयोग गर्नेको सबैभन्दा बढी १८ देखि ३० वर्षसम्मका रहेको च्याट जीपीटीको तथ्याङ्कले देखाउँछ ।

च्याट जीपीटीले विश्वभर तहल्का पिट्दै गर्दा सन् २०२३ मा ओपन एआईले शब्दहरुबाट फोटो बनाउने ‘डेल’ नामक अर्को सर्भिस सार्वजनिक गर्‍यो । जुन अहिलेसम्म सर्वसाधारणमात्रै नभएर अनलाइन मिडियाहरुमा पनि व्यापक रुपमा प्रयोग भइरहेको हुन थालेको छ । यद्यपि ओपन एआईले सन् २०२१ मै टाइप गरेकै आधारमा फोटो बनाइदिने सेवा लन्च गरेको थियो । तर, त्यसले अहिलेको जस्तो परिणाम दिन सकेको थिएन र अपग्रेड गर्दै सन् २०२३ सेप्टेम्बरमा पुनः लन्च गरेको थियो ।

विश्वभर ‘डेल’का १८ लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् । डेलबाट प्रत्येक दिन २० लाख बढी एआई फोटो क्रियट गर्ने अर्थात बनाइने ओपन एआईको तथ्याङ्कले देखाउँछ । यसका साथै अनलाइनबाट व्यवसाय गर्ने ७० हजार बढीले ओपन एआईकै फोटो बनाउने ‘डेल’ प्रयोग गर्ने निकोलारोजा डटकमले उल्लेख गरेको छ ।

यसका सथै भर्खरै फेब्रुअरी १६ अर्थात गत सातामात्रै ओपन एआईले टाइप गरेरै भिडियो बनाउन मिल्ने ‘सोरा’ नामक सर्भिस सार्वजनिक गरेको छ । सोराले वास्तविक र अवास्तविक भिडियोमा फरक छुट्याउन मुस्किल हुनेगरी भिडियो जेनरेट गर्नसक्छ । ओपन एआईले ल्याएको सोरा नामक सर्भिसले फिल्म तथा अन्य क्षेत्रमा प्रभाव पार्ने प्रश्नहरु आइरहेका छन् । सोराले पनि च्याट जीपीटी र डेल जसरी विश्वमा चर्चा कमाउन थालिसकेको छ । यद्यपि सोरालाई पूर्ण र सबैका लागि खुलाइएको छैन ।

ओपन एआईले बनाएको च्याट जीपीटीबाटै मानिसहरुले प्रयोगकर्ता बनेर एआईको अनुभव गर्न पाएका छन् । एकपछि अर्को ओपन एआईले ल्याएका एड्भान्स प्रविधिहरु समयअनुरुप स्वाभाविक रहेको नेपालको साइबर सुरक्षा तथा पेन्टेस्टिङ प्लेटफर्म ‘बगभी’ का फाउन्डर नरेश लाम्गादे बताउँछन् ।

उनका अनुसार एआईको विकास स्वाभाविक भइरहेको छ । तर, यसले भविष्यको आकारलाई धमिलो पनि बनाउँदै गएको छ ।

नरेश लाम्गादे भन्छन्, ‘ओपन एआईले गर्दा अन्य ठूला कम्पनीहरुले पनि एआईमा प्रतिस्पर्धा बढाउन थालेका छन् । त्यो भनेको राम्रो पनि हो । च्याट जीपीटीकै कुरा गर्दा प्रयोगकर्तालाई चाहिनेचन्दा बढी सूचना दिनसक्छ । च्याट जीपीटीले आफूसँग भएको सूचनाकै आधारमा दिने हो । जसलाई च्याट जीपीटी आफैंले सही अथवा गलत छुट्याउँदैन । केबल एक सिस्टममा चल्नेमात्रै हो च्याट जीपीटी । यसका अन्य पाटाहरु पनि छन्, जुन भविष्यमा नरहन पनि सक्छ ।’

अहिले एआईको प्रयोग गर्दा सबैलाई राम्रो र नौलो लागे पनि यसले भविष्यको चिन्ता पनि बढाउँदै लगेको उनी बताउँछन् ।

‘सबैले च्याट जीपीटी प्रयोग बढाउँदै जाने हो भने मानिसहरुले आफैं सोच्ने र नयाँ खोज्न चाहने सिर्जनाशीलतालाई नाश गर्दै लान्छ । जुन एकदमै नराम्रो हो’, लाम्गादे भन्छन्, ‘एआई मानिसको लागि एक असिसटेन्टको रुपमा रह्यो भने राम्रो हो । हैन, पूर्ण रुपमा एआईकै भरमा पर्ने हो भने त्योभन्दा खराब केही हुँदैन । त्यसैले १०० प्रतिशत एआईको प्रयोग भन्दा पनि आफूलाई सहजीकरण गर्न एक साधनका रुपमा प्रयोग गर्नुपर्छ ।’

ओपन एआईको प्रयोग भनेको धमिरा लागेको काठ जस्तै हो, बाहिरबाट राम्रो भित्रबाट पूरै क्यान्सर लागे जसरी बर्बाद पनि गर्नसक्ने प्रविधिका अध्ययनकर्ताहरु बताउँछन् ।

कम्प्युटर इन्जिनियर सौरभ घिमिरे भन्छन्, ‘बढ्दो प्रविधिको विकासक्रमसँगै अगाडि आएका साधनहरु स्वाभाविक नै हुन् । ओपन एआई’ पनि अहिले प्रविधिको विकासक्रमसँगै अगाडि आएको प्लेटफर्म हो । यसलाई व्यवसायिक तथा डिजिटल रुपमा हेर्दा स्वभावी र सकारात्मक रुपमा ओपन एआईलाई लिनुपर्छ । तर, यसलाई नै सबैथोक र यसमै निर्भर हुने हो भने योभन्दा नराम्रो मानव जीवनका लागि केही हुन सक्दैन । प्रविधिको विकास भइरहन्छ, त्यसलाई कसरी प्रयोग गर्ने कुरामा ध्यान दिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर