नेपाली क्रिकेटका लागि किन विशेष छ ‘भ्यालेन्टाइन डे’ ? करण केसीको त्यो अविस्मरणीय इनिङ – Nepal Press

नेपाली क्रिकेटका लागि किन विशेष छ ‘भ्यालेन्टाइन डे’ ? करण केसीको त्यो अविस्मरणीय इनिङ

काठमाडौं । ६ वर्षअघि ठीक आजकै दिन अर्थात प्रणय दिवसमा नेपालका करण केसीले अविश्वसनीय पाली खेले । सायद क्यानडाका खेलाडीहरुले त्यो हारलाई अझै पनि विश्वास गर्न सकिरहेका छैनन् । नामिबियामा भएको आईसीसी वर्ल्ड क्रिकेट लिगको त्यो अन्तिम खेलमा नेपाललाई एक विकेटमात्र साथमा रहेका बेला ५१ रन जीतका लागि चाहिएको थियो ।

क्रिजमा बाँकी थिए करण केसी र सन्दीप लामिछाने । ४३औं ओभरको पहिलो बलमा आरिफ शेख नवौं विकेटका रुपमा आउट हुँदा करणले २ बल खेलिसकेको भए पनि रन जोड्न सकेका थिएनन् । नयाँ ब्याट्सम्यानका रुपमा आएका थिए सन्दीप लामिछाने ।

आरिफ आउट भएपछि नेपालले त्यस ओभरमा कुनै रन जोड्न सकेन । अब नेपाललाई जीतका लागि ५१ रन आवश्यक थियो । बाँकी विकेट जाँदा नेपाल विश्वकप छनोटमा पुग्ने थिएन र एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने सम्भावना पनि सकिने थियो । तर, त्यसपछि क्रिजमा जे जे भयो, सबैले विश्वास गर्न नसक्ने खालको थियो । करण एक्लैले इनिङ्स सम्हाले ।

अन्तिम ओभर बाँकी रहँदा नेपाललाई ८ रन आवश्यक थियो । स्ट्राइकमा थिए करण । उनले सुरुका चार बलमा रन जोड्न नसकेपछि नेपालले हार टार्ने सम्भावना सजिलो थिएन । तर, उनले पाँचौं बलमा छक्का प्रहार गरे । छैटौं बल क्यानडाले वाइड फ्याँकेपछि नेपालले अर्को एक बल खेल्ने मौका पायो । त्यही बलमा विजयी रन जोड्दै करणले नेपाललाई विश्वकप छनोटमा पुर्‍याए ।

करणले ३१ बलमा ४२ र सन्दीपले १८ बलमा ५ रन जोडेका थिए । विश्वकप छनोटमार्फत नेपालले पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो ।

५ वर्षपछि उस्तै अवस्था

नेपाल विश्वकप लिग- २ का तीन वटामात्र त्रिकोणात्मक श्रृंखला खेल्न बाँकी रहँदा सहभागी सातमध्ये पुछारबाट एक स्थानमात्र बाँकी थियो ।

नेपालले अब खेल्न बाँकी १२ मध्ये लगभग सबै खेल जितेमात्र एक दिवसीय मान्यता कायम रहने सम्भावना थियो । स्कटल्याण्ड, नामिबिया, यूएई जस्ता टोलीहरुसँग नेपालले खेल्न बाँकी थियो ।

बाँकी तीन श्रृंखलामध्ये नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित श्रृंखला सन् २०२३ को फेब्रुअरी १४ कै दिनमा कीर्तिपुर मैदानमा सुरु भयो । भ्यालेन्टाइन डेकै दिन नेपालको प्रतिस्पर्धा नामिबियासँग थियो । पहिला ब्याटिङ गरेको नामिबियाले २८६ रनको लक्ष्य दियो । करण केसीले ५ विकेट लिएका थिए । यो खेलमा कुशल भुर्तेलले ११५ र रोहित पौडेलले ७२ रन जोडेपछि नेपाल २ विकेटले विजयी भएको थियो ।

तीन दिनपछि आयोजित अर्को खेलमा नेपालले स्कटल्याण्डविरुद्ध २७५ रनको लक्ष्य पछ्याउने क्रममा ७७ रन जोड्दा ५ विकेट गुमाएको थियो । त्यसपछि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १०० रनको साझेदारी गरे ।

दीपेन्द्रले सोमपाल कामीसँग आठौं विकेटका लागि अविजित ५५ रनको साझेदारी गरेका थिए । एक दिनपछि भएको खेलमा नामिबियालाई ३ विकेटले हराएको नेपालले अन्तिम खेलमा स्कटल्याण्डलाई पराजित गरेको क्षण स्मरणीय छ । पहिला ब्याटिङ गरेको स्कटल्याण्ड २१२ रनमा समेटिए पनि नेपालले धेरै संघर्ष गर्नुपर्‍यो ।

घरेलु टोलीले १३८ रन जोड्दा ८ विकेट गुमाइसकेको थियो । क्रिजमा थिए रोहित पौडेल र करण केसी । उनीहरुले सम्हालिएर खेल्दै ७५ रनको साझेदारी गरे र नेपाललाई महत्वपूर्ण जीत दिलाए । यो खेलमा रोहितले ९५ र करणले ३१ रन जोडेका थिए । विश्वकप लिग- २ मा नेपालले पहिलो पटक कुनै पनि श्रृंखलाका सबै खेल जितेको थियो ।

त्यसपछि यूएई पुगेको नेपालले श्रृंखलाका चारमध्ये ३ खेल जितेको थियो । अनि घर फर्किएर अन्तिम श्रृंखला खेल्दै नेपालले सबै चार खेल जित्यो र एक दिवसीय अन्तर्राष्ट्रिय मान्यतासँगै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

‘नामिबिया’ संयोग

नेपालले विश्वकप लिग- २ को नयाँ संस्करण बुधबार नामिबियासँग खेल्दै सुरु गर्दैछ । प्रतियोगिताअन्तर्गत पहिलो श्रृंखलामा नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

यस पटक विश्वकप लिग- २ मा ८ टोली सहभागी छन् । प्रतियोगिताको समाप्तीमा शीर्ष ४ स्थानमा रहने टोलीले विश्वकप छनोटमा सोझै स्थान बनाउनेछन् ।

नेपालले त्रिवि क्रिकेट मैदानमा १५ खेलयता एक दिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हारेको छैन । अन्तिम पटक सन् २०२२ को नोभेम्बरमा यूएईसँग पराजित भएको थियो ।

नेपालका लागि नामिबिया फेरि अर्को एक प्रतिस्पर्धाका लागि फेब्रुअरी महिना जुरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *