प्रचण्ड सरकारका धनाढ्य मन्त्री: टप ५ मा को को ? – Nepal Press

प्रचण्ड सरकारका धनाढ्य मन्त्री: टप ५ मा को को ?

काठमाडौं । संघीय सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक विवरणमा सबैभन्दा धनी मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ देखिएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पछ्याएका छन् ।

यहाँ पाँच धनाढ्य मन्त्रीहरुको सम्पत्ति विवरण उल्लेख गरिएको छ ।

१) रघुवीर महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ केन्द्रीय मन्त्रीहरुमा सबैभन्दा धनी देखिएका छन् । उनको अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको विवरणमा खुलाइएको छ ।

श्रीमती जुलीकुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिकामा ३ कठ्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम जग्गा रहेको छ । यस्तै जुलीकुमारीकै नाममा धनुषामा ७ विघा ३ कठ्ठा, सिन्धुलीमा ४ कठ्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषामा ३ कठ्ठा ११ धुर रहेको विवरणमा उल्लेख छ ।

रघुवीर महासेठकै नाममा भने जनकपुरमा १ विघा १५ कठ्ठा रहेको छ । यस्तै महासेठको बैंक ब्यालेन्स २ करोड २५ लाख रहेको छस जुन पैतृक सम्पत्ति बेचेर आर्जन गरेको भनिएको छ ।

यस्तै ४३ तोला सुन र १.५ केजी चाँदी रहेको छ । जुलीकुमारी महतोको नाममा फाइनान्स, लघुवित्त, बैंक गरी ३ करोड ५५ लाखको शेयर रहेको छ ।

२) रवि लामिछाने

उत्कृष्ट धनाढ्यमा गृहमन्त्री रवि लामिछाने परेका छन् । यद्यपि उनले अधिकांश सम्पत्ति श्रीमतीको नाममा भएको बताएका छन् । निकिताको नाममा बूढानीलकण्ठ- ८ मा एउटा घर छ । ५ आना क्षेत्रफलमा फैलिएको उक्त घर ३ करोड ५० लाख रुपैयाँमा चार वर्षअघि खरिद गरिएको विवरणमा उल्लेख छ । यो घरको लागि लिएको बैंक ऋण डेढ करोड रूपैयाँ चुक्ता गर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।

निकिताले गोपीकृष्ण इन्टरनेसनल सञ्चालन, भाडा, नारी टीभी र ब्राण्ड इन्डोर्समेन्टबाट गरेको कमाइले घर किनेको जनाइएको छ । रवि लामिछानेको आफ्नै नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिको रुपमा रहेको छ ।

यस्तै निकिताको शेयर रहेको गोपीकृष्ण प्रालिको नाममा काठमाडौं- ७ मा १० रोपनी जग्गा पारिवारिक सगोलको रुपमा रहेको छ । १० रोपनी ८ आनाको २५ प्रतिशत शेयर निकिताले पाउनेछिन् ।

निकितासँग ८० तोला सुनका गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । अधिकांश सुन आमाबाबुबाट पाएको तथा केही खरिद गरेको विवरणमा उल्लेख छ । यस्तै चाँदीका भाँडाकुँडा १५-२० केजी छन् । रविको ग्लोबल आईएमई र नेपाल बैंकको खातामा १ लाख १० हजार रुपैयाँ छ । निकिताको नेपाल बैंकको खातामा ५ लाख रूपैयाँ छ । गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा निकिताको ८ लाख ७५ हजार कित्ता शेयर छ, जसको मूल्य ८ करोड ७५ लाख हुन आउँछ ।

यसैगरी टाटा नेक्सन ईभी गाडी ४२ लाख रुपैयाँमा निकिताले खरिद गरेको उल्लेख छ ।

३) डीपी अर्याल

श्रम तथा रोजगारमन्त्री डीपी अर्याल तेस्रो धनाढ्य ठहरिएका छन् । उनले बुझाएको सम्पत्ति विवरणमा १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको उल्लेख छ । २०७४ सालअघि सुन ८२ लाख २० हजारमा खरिद गरेको भनिएको छ ।

यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा रहेको देखिन्छ । अर्यालको जनसागर सहकारीमा १ करोड ५० लाख, प्राइम बैंकमा १३ लाख, मेगा बैंकमा १ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ४ लाख नगद जम्मा रहेको छ ।

यस्तै उनकी श्रीमती अम्बिका केसीको नाममा जनसागर सहकारीमा १५ लाख, ग्लोबल आईएमई बैंकमा ५० लाख, हिमालयन बैंकमा २० लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख छ । सो सम्पत्तिको स्रोत व्यापार भनिएको छ ।

यस्तै विभिन्न १२ ठाउँमा जग्गा रहेको विवरण उनले सार्वजनिक गरेका छन् । काठमाडौं- १६ मा अम्बिका केसीको नाममा ३ करोड मूल्य बराबरको घर रहेको छ ।

४) धनबहादुर बुढा

शहरी विकासमन्त्री धनबहादुर बुढा पनि धनी मन्त्रीको सूचीको पाँचभित्र परेका छन् । मन्त्री बुढाको डोल्पामा ४ र काठमाडौंमा दुई गरी ६ वटा घर, थप जग्गा र प्रशस्त सुनचाँदी र नगद मौज्दात रहेको विवरणमा उल्लेख छ । काठमाडौंमा एउटा १७ आना र अर्को २० आनामा बनेको श्रीमती हिमालीको नाममा घर रहेको छ । काठमाडौंमै अर्को ७ आना जमिन पैतृक रहेको उल्लेख छ ।

यस्तै मन्त्री बुढाको नाममा १५० तोला सुन र ३०० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको नाममा १५ लाख बैंक ब्यालेन्स छ । श्रीमतीको नाममा ४५ लाख नगद रहेको उल्लेख छ ।

५) सुमना श्रेष्ठ

शिक्षामन्त्री सुमना श्रेष्ठको नाममा काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा खरिद गरेको जग्गा छ । पारिश्रमिकबाट खरिद गरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको विवरणमा उल्लेख छ । एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको भनिएको छ । दुवै स्रोत उनले पारिश्रमिक रहेको जिकिर गरेकी छन् ।

बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १-१ सेट हिराको हार र टप रहेको उल्लेख छ । बैंकसहित विभिन्न कम्पनीको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सवारीसाधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको उनले विवरणमा उल्लेख गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर