‘म एक घाइते सिपाही हुँ’ – Nepal Press

‘म एक घाइते सिपाही हुँ’

नरबिर परियार (विमर्श) एक घाइते सिपाही हुन् । उनलाई फागुन १ गते जनयुद्ध दिवसले आफ्नो विगतहरु चर्चाराउन मद्दत गर्छ । तर घाउमा मल्हम भने लगाउँदैन । उनले आफ्नो विगत र वर्तमान भोगिरहेको पीडालाई जनयुद्ध दिवसका दिन कविता लेखेका छन् । उनको यथार्थपरक वेदनामिश्रित कविता यस्तो छः

नरबिर परियार (विमर्श)

सामन्ती निरंकुशतालाई गलहत्याएर निकाल्ने
अनि सुन्दर नेपालको सपना बोकी
गणतन्त्र ल्याउनका लागि
गोली खाएको म एक घाइते सिपाही हुँ
राष्ट्रघाती असमान सन्धि सम्झौताको विरुद्धमा लड्ने
अनि स्वर्ग जस्तै प्यारो नेपाल मेरो
गोली खाएको म एउटा घाइते सिपाही हुँ

अन्याको दलदलमा फँसेका आम नेपाली जनसमुदायको लागि
न्यायको लडाईमा साथ दिँदा तानाशाहीबाट
गोली खाएको म एक घाइते सिपाही हुँ
समाज परिवर्तन, आत्म सम्मान
र छुवाछुतको अन्त्यका लागि लड्ने
अनि दबाइएका आवाजका साथ
गोली आएको म एक घाइते सिपाही हुँ

चुलो चौको र घाँस दाउरामा सीमित चेलीलाई
देशको प्रमुख र ज्याला मजदुरी र खलो प्रथा हटाई
दलित समुदायलाई मन्त्रीसम्म बनाउने व्यवस्था ल्याउँदा
गोली खाएको म एक घाइते सिपाही हुँ
सिंहदरबारमा एकतर्फी शासन जमाएको सत्तालाई
गाउँ गाउँ, गरिब बस्ती बस्तीमा पुर्याउने
व्यवस्था ल्याउनका लागि लड्दा
गोली खाएको म एक घाइते सिपाही हुँ

तर, व्यवस्था फेरियो अवस्था फेरिएन
हात भएर, अपांग खु्टटा भएर लंगडो
आँखा भएर अन्धो कान भएर पनि बहिरो
हुँदै वीर अस्पलता ट्रमा सेन्टरमा
औषधि उपचार गराइरहेको
म एक घाइते सिपाही हुँ

एक तन्त्रीय शासन हटाइ, संघीय गणतन्त्र ल्याउँदा
गोली खाएको म एक घाइते सिपाही हुँ
शरीरभरी बन्दुकका गोली र बम बारुदका
छर्रा बोकी औषधि र उपचारको लागि
छटपटाइरहेको म एक घाइते सिपाही हुँ

तर कुन तन्त्र भयो अनुभव छैन
शान्ति प्रक्रियाको आभास छैन
रगत र पिप बगेका घाउ देखाउँदै
१३ दिन माइतीघर मण्डलामा आमरण अनसन बस्ने
म एक घाइते सिपाही हुँ

नव धनाड्यको वचन वाण सहदै
औषधि उपचार गर्न दिनुस् भन्दा
मगन्ते आरोप खेपिरहेको
म एक घाइते सिपाही हुँ

टाउकोमा बमको छर्राको कारण
बेला बेला अचेत भएर भुईंमा लडीबुडी खेल्दा
छारे रोग र मृगी रोगको आरोप लागेको मान्छे
म एक घाइते सिपाही हुँ

आफ्नै व्यक्तिगत सम्पत्ति उपचारका लागि
बेचेर सडकमा आउँदा पनि निको नहुँदा
ज्याला मजदुरी गरी उपचार गर्न नसक्ने
म एक घाइते सिपाही हुँ

रगतले इतिहास कोर्ने भनी हिँडेको
आफ्नै परिवारको सदस्य गुमाएको
औषधि उपचार गर्दा सम्पत्ति गुमाएको
आफन्त र परिवारको माया गुमाएको
चारैतिर ऋण र सापटीमा फँसेको
कैंयौं रात दिन भोकै बसेको
म एक घाइते सिपाही हुँ
म एक गतणन्त्रको सिपाही हुँ

(परियार पूर्व जनमुक्ति सेना नेपालमा कार्यरत घाइते लडाकू हुन्)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *