वाईसीएलको ‘डिजिटल वक्तृत्वकला’ मा ५१ सहभागी सर्टलिस्ट, विजेतालाई प्रधानमन्त्रीले पुरस्कृत गर्ने – Nepal Press

वाईसीएलको ‘डिजिटल वक्तृत्वकला’ मा ५१ सहभागी सर्टलिस्ट, विजेतालाई प्रधानमन्त्रीले पुरस्कृत गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले २८औं ‘जनयुद्ध दिवस’ का अवसरमा गरेको ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगितामा सहभागीमध्ये ५१ जनाको भिडिओ सर्टलिस्टमा परेका छन् ।

वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा भिडिओमार्फत वृहत् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । यसमा सहभागीले भिडिओमा आफ्नो कुरा बोलेर पठाउन भनिएको थियो ।

४ मिनेटको भिडिओमा जनयुद्धका उपलब्धिबारे बोलेर केन्द्रीय कार्यालयको फेसबुक पेजमा पठाउन भनिएकोमा ५१ जना सहभागीको भिडिओ छनौट गरिएको वाईसीएलका सचिव तथा उपभोक्ता हकहित संरक्षण विभाग प्रमुख हरि ढकालले बताए ।

डिजिटल बहसमा सहभागी हुनेले माओवादी जनयुद्धअघिको राज्यको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्था र त्यसपछि देशले प्राप्त गरेका उपलब्धिमा केन्द्रित रहेर आफ्ना तर्क प्रस्तुत गरेका छन् । ५१ जनामध्ये उत्कृष्ट सहभागीलाई फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर पुरस्कृत गरिने ढकालले बताए । वाइसिएलका महासचिव गणेश शाहीको नेतृत्वमा टोलीले आइतवारै प्रधानमन्त्री तथा माओवादी पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पुरस्कार वितरणको लागि निम्ता दिएको छ ।

पार्टीको विधान अधिवेशनको समेत सोही दिन पारेर प्रचण्डको हातबाट सहभागीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने ढकालले बताए । आज माघ २८ गते आइतबार दिउँसो १२ बजेसम्म आएका लाइक, कमेन्ट, शेयर र भ्यूजको आधारमा विजेता तथा उपविजेताको टुंगो लगाइने ढकालले जानकारी दिए ।

यद्यपि निर्णायक मण्डलले सहभागी वक्ताको विषयवस्तु उठान, बोल्ने शैली र अन्य क्षमतालाई समेत मूल्यांकन गरेर अन्तिम नम्बर दिनेछ । भिडिओको लाइक, कमेन्ट, भ्यूज र शेयरको ५० प्रतिशत मूल्यांकन हुनेछ । विषयवस्तु र कलात्मक प्रस्तुतिको ५० प्रतिशत मूल्यांकन गरिने आयोजकले जनाएको छ ।

पुरस्कार राशी रकममध्ये ५० हजार रुपैया प्रेम,पुर्ण,प्रताप फाउण्डेशनले सहयोग गरेपछि पहिलो हुनेले ५५ हजार,दोस्रोले ३५ र तेस्रोले २० हजार पुरस्कार पाउनेछन् । प्रतिस्पर्धीहरूले पठाएको भिडिओ आयोजकको आधिकारिक पेजबाट मात्रै प्रसारण गरिएको थियो ।


प्रतिक्रिया

One thought on “वाईसीएलको ‘डिजिटल वक्तृत्वकला’ मा ५१ सहभागी सर्टलिस्ट, विजेतालाई प्रधानमन्त्रीले पुरस्कृत गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर