प्रधानमन्त्री कप क्रिकेटमा बायाँ हाते स्पिनरको जगजगी – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटमा बायाँ हाते स्पिनरको जगजगी

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता शनिबार सकिएको छ । पहिलो पटक राउन्ड रोविनका आधारमा भएको प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्यो ।

पुलिसले अपराजित बन्दै उपाधि जित्दा कोशी र लुम्बिनी प्रदेशले ८ हार र एक जीतका साथ प्रतियोगिता टुङ्ग्याए । प्रतियोगिताको उत्कृष्ट ब्याटर मधेस प्रदेशका अनिलकुमार शाह हुँदा उत्कृष्ट बलर र सर्वोकृष्ट खेलाडी बागमती प्रदेशका सूर्य तामाङ घोषित भए ।

यस संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा युवाहरुको प्रदर्शन शानदार रह्यो । बलिङ र ब्याटिङ दुवैमा युवाहरुले उत्कृष्ट छाप छोडे । प्रतियोगिताभर नै बलिङमा स्पिनर हाबी रहँदा तीव्र गतिका बलरको प्रदर्शन भने सम्झन लायक रहेन । तीव्र गतिका बलर सोमपाल कामीबाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेन । सोमपालले १० खेलमा १९ विकेट लिए ।

बलिङमा बायाँ हाते स्पिनरको प्रदर्शन उत्कृष्ट रह्यो । टप ५ उत्कृष्ट बलरमा ४ जना त बायाँ हाते स्पिनर छन् । यी हुन् प्रधानमन्त्री कप क्रिकेटका उत्कृष्ट पाँच बलरः

१) सूर्य तामाङ (बागमती प्रदेश)

प्रतियोगिताभर नै चम्किलो नाम हो सूर्य तामाङ । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शनमात्र गरेनन्, यसअघि बनेका रेकर्डहरू पनि ब्रेक गरे । उनले प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने कीर्तिमान आफ्नो नाममा बनाएका छन् । यसअघि उक्त कीर्तिमान पुलिसका ललित राजवंशीको नाममा थियो ।

सन् २०१९ मा भएको प्रधानमन्त्री कपमा ललितले सर्वाधिक २१ विकेट लिएका थिए । बायाँ हाते स्पिनर सूर्यले लुम्बिनी र मधेश प्रदेशविरुद्ध एक्लैले ६-६ विकेट लिएका थिए ।

प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका सूर्य क्यानडाविरुद्ध हुने एक दिवसीय सिरिज र आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजमा समेटिएका छन् । उनी पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका हुन् ।

२) शेर मल्ल (सुदूरपश्चिम प्रदेश)

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सर्वाधिक विकेट लिने टप पाँच खेलाडीको सूचीमा पर्ने एकमात्र दायाँ हाते स्पिनर हुन् सुदूरपश्चिम प्रदेशका शेर मल्ल । उनी सर्वाधिक विकेट लिनेको सूचीमा दोस्रो स्थानमा छन् । उनले ९ खेलमा ३२९ रन खर्चेर २४ विकेट लिए ।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेका २१ वर्षीय मल्लले ब्याटिङमा समेत औसत प्रदर्शन गरेका थिए । उमेर समूहमा राष्ट्रको प्रतिनिधित्व गरिसकेका मल्ल सिनियर टोलीमा भने पर्न सकेका छैनन् ।

उनी सन् २०२० मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) टी-२० इस्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागि अन्तिम १८ मा परेका थिए । तर, अन्तिम १४ भने पर्न सकेनन् ।

३) ललित राजवंशी (नेपाल पुलिस क्लब)

प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीमा नेपाल पुलिस क्लबका ललित राजवंशी तेस्रो स्थानमा छन् । पुलिसलाई उपाधि जिताउन २४ वर्षीय बायाँ हाते स्पिनर ललितले महत्त्वपूर्ण भूमिका खेले । उनी १० खेलमा २२७ रन खर्चेर २३ विकेट लिन सफल भए । उनी प्रतियोगिताको १० वटै खेलमा विकेटविहीन हुनु परेन ।

सन् २०१९ मा यूएईविरुद्ध डेब्यु गरेका ललित पछिल्लो समय निरन्तर राष्ट्रिय टोलीमा छन् । ललित नेपाली राष्ट्रिय टीमका भरपर्दा बायाँ हाते स्पिनर हुन् ।

४) साहब आलम (त्रिभुवन आर्मी क्लब)

त्रिभुवन आर्मी क्लबबाट खेलिरहेका साहब आलम प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन चौथो खेलाडी हुन् । बायाँ हाते स्पिनर आलमले प्रतियोगिताभर १० खेलमा २८९ रन खर्चेर २३ विकेट लिए । उनले कोशी प्रदेशविरुद्ध एक्लैले ६ विकेट लिएका थिए ।

आलम प्रतियोगिताभर एक खेलमा पनि विकेटविहीन हुनुपरेन । आलमले सन् २०२१ मा भएको नेदरल्याण्डविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

उनले पछिल्लो पटक सन् २०२२ मा केन्याविरुद्ध राष्ट्रिय टोलीबाट खेलेका थिए । त्यसपछि उनले पुनरागमन गर्न सकेका छैनन् । घरेलु क्रिकेट आलमले आर्मीबाट खेल्दै आएका छन् ।

५) विपीन खत्री (गण्डकी प्रदेश)

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पाँचौं खेलाडी हुन् विपीन खत्री । गण्डकी प्रदेशका कप्तान विपीनले ९ खेलमा २३७ रन खर्चेर २० विकेट लिए ।

टीमले राम्रो प्रदर्शन गर्न नसके पनि २६ वर्षीय विपीनको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रह्यो । गण्डकीले प्रतियोगिताभर नै एक खेलमा मात्रै जीत हासिल गरेको थियो । कोशी प्रदेशविरुद्ध विपीन एक्लैले ६ विकेट लिएका थिए । सोही खेलमा मात्रै गण्डकीले जीत निकालेको थियो ।

बायाँ हाते स्पिनर खत्रीले विभागीय टीमविरुद्धसमेत राम्रो प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *