यू-१९ विश्वकपः भारतसँग नेपाल १३२ रनले पराजित – Nepal Press

यू-१९ विश्वकपः भारतसँग नेपाल १३२ रनले पराजित

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनले पराजित भएको छ ।

भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए । ओपनर अर्जुन कुमालले २६ र दीपक बोहराले २२ रनको योगदान दिए । नेपालका लागि दीपक बोहरा र अर्जुन कुमालले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । तर, त्यसपछि २९ रन जोड्दा नेपालले ७ विकेट गुमायो ।

उत्तम थापामगर ८, सुभाष भण्डारी ५, विशालविक्रम केसी १ र दीपक डुम्रे शुन्य रनमा पभेलियन फर्किए । गुल्सन झा १, दीपेश कँडेल शुन्य रन आउट हुँदा आकाश चन्द १८ र दुर्गेश गुप्ता २९ रनमा अविजित रहे । चन्द र गुप्ताले ४५ रनको अविजित साझेदारी गरे ।

यसअघि दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो । भारतका लागि भारतका लागि कप्तान उदय शहारान र सचिन दासले शतक प्रहार गरे ।

सचिनले ११६ रन र कप्तान शहारानले १ सय रनको योगदान दिए । ६२ रनमा ३ विकेट गुमाएको भारतका लागि दास र कप्तान उदय शहारानले दोहोरो शतकीय साझेदारी गरेका थिए । भारतका प्रीयान्शु मोलिया १९, अर्शिन कुलकणी १८ र आदर्श सिंह २१ रनमा आउट भए । बलिङमा नेपालका गुल्सन झाले ३ र आकाश चन्द १ विकेट लिए ।

जितसँगै भारत सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ । नेपालले भने यो संस्करणको यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता टुग्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *