एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड विजेतालाई युनाइटेड अजोडको ७ लाख बराबरको खेलकुद बीमा – Nepal Press

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड विजेतालाई युनाइटेड अजोडको ७ लाख बराबरको खेलकुद बीमा

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २० औं संस्करणका विजेताहरुलाई नेपालको प्रख्यात बीमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैयाँ बराबरको खेलकुद बीमा पोलिसी प्रदान गर्ने भएको छ ।

यही माघ २८ गते हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डबाहेक आठ विधाका विजेतालाई युनाइटेड अजोडले एक वर्षको लागि सो पोलिसी प्रदान गर्ने भएको हो ।

युनाइटेड अजोड पल्सर स्पोर्टस अवार्डको यस वर्षको इन्स्योरेन्स पार्टनरको रुपमा पनि आवद्ध भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबीच यससम्वन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि सीईओ रावलले नेपालमा भर्खरै शुरु भएको खेलकुद बीमा पोलिसीलाई संस्थागत गर्न यो सहकार्यले सहयोग पुग्ने विश्वास लिएको बताए ।

त्यस्तै मञ्चका अध्यक्ष सुवेदीले नेपालकै प्रतिष्ठित बीमा कम्पनीसँग सर्वोकृष्ट खेलकुद अवार्ड कार्यक्रम जोडिन पाउँदा खेलाडीहरु थप लाभान्वित हुने बताए ।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि सार्वजनिक हुन बाँकी छ । त्यसबाहेक पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।

अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइसको एनएसजेएफको आधिकारिक फेसबुक पेज तथा हंशराज हुलासचन्द एन्ड कम्पनीको आधिकारिक फेसबुक पेजबाट प्रचार कार्य जारी छ ।

यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

स्पोर्ट्स अवार्डका अन्य सहयोगीहरुमा ई–सेवा, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, सुबिसु, रोयल सिंगी होटल, प्लाजा ग्रुप अफ होटल, लालपुर्जा नेपाल, आईएसएस, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *