दुई खेलअगावै पुलिस क्लव प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा – Nepal Press

दुई खेलअगावै पुलिस क्लव प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

काठमाडौं । गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लवले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

सोमबार लगातार सातौं जीत निकाल्दै पुलिसले १४ अंकसहित दुई खेलअघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको हो । पुलिस यो सिजनमा फाइनल पुग्ने पहिलो टीमसमेत बन्न सफल भएको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले ३८.३ ओभरमा १७० रन बनाएको थियो । ४५ ओभरमा छोट्याइएको खेलमा पुलिसले सो लक्ष्य २४.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

पुलिसको जीतमा रसिद खान एक्लैले ५ विकेट लिए । उनले ६ ओभरमा २५ रन खर्चिएर ५ विकेट लिएका हुन् । त्यस्तै करण केसी र ललितनारायण राजवंशीले समान २-२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।

ब्याटिङतर्फ पुलिसका दीलिप नाथले ५७, अर्जुन साउदले नट आउट ४४, कुशल भुर्तेलले २२, शंकर रानाले १२, आरिफ शेखले नट आउट २७ रन बनाए । प्रेम तामाङ खाता नै नखोली पेभेलियन फर्किएका थिए ।

यता गण्डकीका लागि ब्याटिङमा अमृत गुरुङले ५० रन बनाए भने करण पंगेनी र कमल परियारले समान ३०-३० रन बनाए । समीर कँडेलले २९ र कृष ऐरले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रनको स्कोर छुन सकेनन् ।

त्यस्तै सोमबार नै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिममाथि आर्मीले ९७ रनको जीत दर्ता ग¥यो । आर्मीका लागि जितेन्द्र मुखिया एक्लैले ५ विकेट लिए । उनले ६.१ ओभर बलिङ गर्दै २ मेडनसहित १० रनमात्रै खर्चिए ।

त्यस्तै सोमपाल कामीले २ विकेट, साहव आलम, बासिर अहमद र साहब आलमले समान १-१ विकेट हात पारे ।

व्याटिङतर्फ आर्मीका कुशल मल्लले ७५, सन्दीप रजाइलीले ३७, बासिर अहमदले ३६, सोमपाल कामीले ३१, सन्तोष कार्कीले ३० र साहब आलमले २१ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । उनले ९.३ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ६८ रन खर्चिए । नरेन साउदले ३ र विकास अग्रीले १ विकेट लिए ।

२६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४०.१ ओभरमा १६५ रनमात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ६८, शेर मल्लले २४, नरेन भट्टले १८, नारायण जोशीले १३, गजेन्द्र बोहराले १२ र प्रकाश पाण्डेले ११ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहोरो रनको स्कोर खडा गर्न सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *