सञ्चारमन्त्री शर्माको जोड- नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छ – Nepal Press

सञ्चारमन्त्री शर्माको जोड- नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको बताएकी छन् ।

पुलचोक इन्जिनियरिङ क्याम्पसमा सुरू भएको २० औं लोकस प्राविधिक महोत्सव उद्घाटनको क्रममा उनले अब पुरानो पुस्ताले गर्न सकेन भनेर आलोचना गरेर बस्नेभन्दा पनि नयाँ पुस्ताले हामी देश बनाउँछौं भनेर संकल्प गर्ने बेला आएको बताइन् ।

‘अहिलेको पुस्ताले पुरानो पुस्ताको जस्तो दुःख नभोगेको पनि नेपालको इतिहास पक्कै पढेको छ । सबै जनताका छोराछोरीले पढ्न लेख्न नपाउने, शासकहरुले गर्ने जस्तोसुकै अत्याचार पनि सहेर बस्नुपर्ने, उनीहरुसँग आँखा जुधाएर प्रश्न गर्न नपाउने, महिला, दलित, जनजाति, मधेशीजस्ता उत्पीडित समुदायलाई नागरिक नै नठान्ने जुन राजनीतिक व्यवस्था थियो, हामीले लामो संघर्ष गरेर, हजारौं हजार जनताका छोराछोरीले रगत बगाएर त्यसखाले व्यवस्थाको अन्त्य गरेका छौं’, शर्माले भनिन् ‘आज हामी सबै जनता बराबर हुने संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । पुरानो पुस्ताले लडेर यो परिवर्तन नल्याइदिएको भए आज पनि हामी पुरानै कालरात्रीमा रहने थियौं ।’

अध्ययन अनुसन्धानका सिलसिलामा विश्वका जुनसुकै देशमा गए पनि जन्म दिने माटो र आफू हिँडेको बाटोलाई कहिल्यै नबिर्सन र प्राप्त विज्ञता देशका लागि प्रयोग गर्न उनको आग्रह छ । शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप धेरै भयो भन्ने नयाँ पुस्ताको गुनासोलाई मध्यनजर गरी इतिहासमै पहिलोपटक त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिष्पर्धाबाट नेतृत्व चयनको प्रक्रिया थालनी गरिएको शर्माको भनाइ छ ।

उनले भनिन्, ‘सबै क्षेत्रमा सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर डिजिटल नेपाल निर्माण गर्ने र त्यसमार्फत नै जनताको दैनिक जीवनलाई सहज बनाउँदै समृद्धिको बाटोमा अघि बढ्नसक्ने छौं । डिजिटल नेपाल निर्माणका लागि डिजिटल पूर्वाधार र त्यसलाई परिचालन गर्ने आवश्यक जनशक्तिको विकास गर्नु आजको हाम्रो प्राथमिकता हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर