नेपालमा अटोमोबाइल्स एसेम्बल उद्योग दर्ता हुन्छन् तर, चल्दैनन् किन ? – Nepal Press

नेपालमा अटोमोबाइल्स एसेम्बल उद्योग दर्ता हुन्छन् तर, चल्दैनन् किन ?

काठमाडौं । नेपाल सरकारले सवारीसाधन एसेम्बल उद्योगलाई बढावा दिन प्रोत्साहनस्वरुप कर, विद्युत खपत, अन्तःशुल्कलगायतमा छुटको व्यवस्था गर्दै आएको छ ।

चालू आर्थिक वर्षको असोजसम्म उद्योग विभागमा ३० एसेम्बल उद्योग दर्ता भएका छन् । बाहिरी मुलुकहरुबाट सवारीसाधनका पार्टस ल्याएर देशभित्रै जोडजाड गरेर बिक्री गर्ने उद्योगहरुलाई एसेम्बल उद्योगका रुपमा परिभााषित गरिएको छ । यस्ता उद्योगलाई प्रोत्साहन गर्न सरकारले करमा मात्रै ४० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

त्यस्तै एसेम्बल उद्योगले आर्जन गरेको मुनाफामा पाँच वर्षसम्म ४० प्रतिशतले सहुलियत पाउँछ । ५० वर्षसम्मका लागि जग्गा भाडामा लिन पाउने यस्ता उद्योगले १० करोडको विद्युत खपतमा छुटसमेत पाउँछन् । भन्सार र अन्तःशुल्कमा पनि छुट पाउने व्यवस्था सरकारले गरेको छ ।

सरकारले यसरी प्रोत्साहन दिए पनि नेपालमा एसेम्बल उद्योग स्थापनातर्फ आकर्षण छैन । यस्ता उद्योग न्यूनमात्रै सञ्चालनमा रहेको उद्योग विभागले जनाएको छ ।

तर, अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले भने नेपालमा अटोमोबाइल्स एसेम्बलिङ प्लान्ट विस्तारको क्रम बढ्दै गरेको दाबी गर्छ । नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले विविध कारणले न्यून देखिएको एसेम्बल उद्योग सञ्चालन गर्न अहिले वातावरण अनुकूल बन्दै आएको बताए ।

अपेक्षा गरेअनुसार एसेम्बल उद्योग स्थापना नभएपछि पछिल्लो समय सरकारले केही नीतिहरु संशोधन गर्न लागेको र त्यसले एसेम्बल उद्योगमा समस्या पर्नसक्ने उनको भनाइ छ ।

पूर्वअध्यक्ष थापाले एसेम्बल प्लान्टहरुलाई सरकारले दिँदै आएको छुट हटाउन लागिएको बताए । एसेम्बल उद्योगलाई दिँदै आएको विभिन्न छुट सुविधाबाट सरकार पछाडि हट्न खोजेको उनको भनाइ छ ।

‘तर, अहिलेको सरकार एसेम्बल उद्योगको विषयमा सकारात्मक देखिएको छ । अहिले विद्युतीय सवारीसाधनसँगै कमर्सियल भाडामा चल्ने गाडीहरुमा पनि छुट बढाउनुपर्र्छ’, थापाले भने, ‘एसेम्बल उद्योग एकै पटकमा स्थापना हुँदैन । भारत र चीनले समेत एसेम्बल उद्योगबाटै अहिले विश्व बजारमा प्रतिस्पर्धा गरिरहेका छन् ।’

अटोमोबाइल्स औद्योगीकरणको सुरुवात भनेकै एसेम्बल उद्योग रहेको उनको तर्क छ । नेपाल पनि यसमा विस्तारै जम्ने प्रयत्नमा रहेको भन्दै उनले यसलाई सरकारले प्रोत्साहन दिँदै गर्नुपर्नेमा जोड दिए ।

थापा भन्छन्, ‘मुख्य विषय सरकारी नीति हो । हाम्रा नीतिहरु स्थिर भएनन् । एउटा सरकार आउँदा एउटा नीति बनाउने र अर्काे आउँदा परिवर्तन गर्ने नीति हुनु हुँदैन । यसले हाम्रो औद्योगीकरणतर्फ अगाडि बढिरहेको अटोमोबाइल्स क्षेत्रलाई प्रभाव पर्छ । त्यसैले सरकारले बनाउने नीतिहरु ८ देखि १० वर्षसम्म टिक्नुपर्छ । नीतिगत सुनिश्चितता हुनुपर्छ ।’

उद्योग विभागमा सवारी एसेम्बल उद्योग दर्ता भएको तथ्यांकमात्रै छ । दर्ता भएकामध्ये कति सञ्चालन छन् र कति बन्द छन् भन्ने तथ्याङ्क नभएको विभागले जनाएको छ ।

नेपालमा सवारीसाधन एसेम्बल भन्नेबित्तिकै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले चढेको हुलास ग्रुप्सको ‘मुस्ताङ म्याक्सस’ गाडीको झल्को आउँछ । हुलासले त्यसलाई निरन्तरता दिन सकेन ।

नेपालमा एसेम्बल उद्योगले उत्साहजनक बजार बनाउन नसकेको यसबाट पनि पुष्टि हुन्छ ।

चालू आर्थिक वर्षको असोजसम्म उद्योग विभागमा एउटामात्रै नयाँ एसेम्बल प्लान्ट दर्ता भएको छ । गत वर्षको बैशाख २७ गते मोर्डन इलेक्ट्रिक भेइकल प्रालि दर्ता भएको थियो । २९ जनाले प्रत्यक्ष रोजगार पाउने र १४ करोड पूँजी रहेको कम्पनीले काठमाडौंको बुढानिलकण्ठमा प्लान्ट बनाएको छ । जहाँ तीन पांग्रे विद्युतीय भ्यान र चार पांग्रे सवारीसाधान एसेम्बल हुनेछ ।

चालू आर्थिक वर्षको भदौ १३ गते दर्ता भएको स्पोर्ट इलेक्ट्रिक प्रालिले दुई पांग्रे मोटरसाइकल एसेम्बल गर्ने जनाएको छ । उक्त प्लान्टमा ६२ जनाले रोजगारी पाउने कम्पनीले उल्लेख गरेको छ ।

वर्षैपिच्छे एसेम्बल उद्योग दर्ता गरिए पनि नेपाली अटोमोबाइल्स क्षेत्रमा उल्लेख्य प्रगति भएको देखिँदैन । सञ्चालनमा रहेका एसेम्बल उद्योगमा दुई पांग्रे सवारीसाधनका मात्रै छन् । तीन र चार पांग्रे एसेम्बल उद्योग कममात्रै सञ्चालनमा छ । त्यसमाथि चार पांग्रेमाथिका एसेम्बल उद्योग दर्ता नै भएको छैन ।

किन चलेन एसेम्बल उद्योग ?

नेपालमा एसेम्बल उद्योग विस्तार गर्न बजार एवं माग पनि सोहीअनुसार हुनुपर्ने अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सका सञ्चालक सिराज पन्त बताउँछन् ।

पन्त भन्छन्, ‘नेपालमा ‘फिजिबिलिटी’ छैन । देशको बजारको माग कति हो ? हामीले कतिको आपूर्ति दिन सक्छौं भन्ने कुराले एसेम्बल उद्योगलाई प्रभाव पर्ने गर्छ । अहिले हामीकहाँ एसेम्बल उद्योग विस्तार हुन मार्केट नै तयार भएको छैन । मार्केट भए त्यहीअनुसार सप्लाइ हुन्छ ।’

पन्तका अनुसार नेपालमा भएका एसेम्बल उद्योग जीर्ण अवस्थामा छन् । यहाँ सवारीसाधन एसेम्बल गर्दा र बाहिरबाट सीधै तयारी ल्याउँदाको मूल्य एउटै हुने देखिएको भन्दै उनले बजारको माग सृजना हुनुपर्ने आवश्यकता औंल्याए ।

सरकारको नीति र अविश्वासका कारण एसेम्बल उद्योगहरु फस्टाउन नसकेको चार पांग्रे सवारी एसेम्बल कमिटीका अध्यक्ष निराकर श्रेष्ठ बताउँछन् ।

उनका अनुसार लगानीकर्ताले सुनिश्चितता र प्रतिफल खोज्ने गर्छ, जुन नेपालमा छैन ।

‘नेपालमा एसेम्बल उद्योगहरुमा लगानी नभएको होइन । तर, लगानीअनुसारको प्रतिफल पाउन नसकेपछि उद्योगहरु बन्द हुने र सञ्चालनमा ढिलाे हुने हुन्छ’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘अहिले पनि त्यही भएको हो । नेपालको बजारको स्थिति र उद्योगको अवस्था उस्ताउस्तै देखिन्छ । लगानीमैत्री वातावरणको अभाव पनि छ ।’

उनले एसेम्बल उद्योगहरुलाई बढावा दिन सरकारका नीतिहरुमा परिवर्तन आवश्यक रहेकोसमेत औंल्याए ।

‘सरकारले करमा छुटमात्रै दिएर हुँदैन । अहिले ४० प्रतिशत छुट छ । भोलि सरकार परिवर्तन हुँदा के हुन्छ ? कसैलाई थाहा छैन । छुटको दायरा बढाउनुपर्छ’, श्रेष्ठले भने, ‘छुट दिने कुरा सरकारले ऐनमै उल्लेख गर्नुपर्छ । त्यसले लगानीकर्ताहरुमा विश्वासको वातावरण सृजना हुन्छ । ऐनमै एसेम्बल उद्योगहरुलाई प्रदान गरिने सुविधाहरु दीर्घकालीन सुनिश्चित हुनुपर्छ । त्यसले लगानीकर्ताहरुको मनोबल बढाउँछ । ईभीतर्फ पनि अगाडि बढ्नुपर्ने हुन्छ ।’

यता विद्युतीय सवारीसाधनमा प्रदान गरिरहेको छुट बढाउनुपर्ने विषयमा अर्थ मन्त्रालयमा कुरा उठिरहेको छ । सरकारको राजस्व संकलन लक्ष्य पूरा गर्न विद्युतीय सवारीसाधनलगायत एसेम्बल उद्योगलाई प्रदान गर्ने छुटलाई कटौती गर्न लागिएको सरोकारवालाहरु बताउँछन् ।

हाल विद्युतीय सवारीसाधनमा १० देखि २० प्रतिशतमात्रै कर लाग्ने गरेको छ । जसमा अनएसेम्बल अवस्थामा २०० देखि ३०० किलोवाटसम्म पिकपावरका सवारीसाधनमा २० प्रतिशत र ३०० किलोवाटभन्दा माथिका सवारीसाधनमा ४० देखि ४५ प्रतिशत कर लाग्ने गर्छ । सरकारले यी कर कटौती गर्ने तयारी अगाडि बढाएको हो ।

हालसम्म दर्ता भएका अटोमोबाइल्स एसेम्बल उद्योगहरु

शाक्य भेइकल्स प्रालि

वि.सं २०६३ सालमा शाक्य भेइकल्स प्रालि ललितपुर जिल्लामा खोल्ने गरी दुई पांग्रे मोटरसाइकल ऐसेम्बल उद्योग दर्ता भएको थियो । शाक्य भेइकल्स ५ करोड रुपैयाँ पूँजीमा दर्ता भएको थियो । जसमा ८७ जनाले रोजगारी पाउने भनिएको थियो ।

होङफा मोटरसाइकल एसेम्बल कम्पनी

वि.स २०६५ साल असार १ गते ‘होङफा मोटरसाइकल एसेम्बल कम्पनी’ दर्ता भयो । होङफा काठमाडौं जिल्लामै ६५ जनालाई रोजगारी दिने गरी २ करोड ५० लाख रुपैयाँ पूँजीका साथ दर्ता भएको थियो ।

चाइना नेपाल हेन्थी इन्डस्ट्री प्रालि

वि.स २०६६ बैशाख २९ गते ‘चाइना नेपाल हेन्थी इन्डस्ट्री प्रालि’ ४ करोड ९० लाख रुपैयाँ पूँजीका साथ ७६ जनालाई रोजगारी दिने उद्देश्यले कार एसेम्बल दर्ता भयो । ललितपुर जिल्लामा एसेम्बल प्लान्ट खोल्ने गरी दर्ता भएको यस कम्पनीको अहिले अत्तोपत्तो छैन ।

एभर स्टार मोर्टस प्रालि

वि.स २०६८ असार १३ गते ‘एभर स्टार मोर्टस प्रालि’ नामक तीन पांग्रे मोटरसाइकल उत्पादन गर्न नवलपरासीमा ४ करोड ४६ लाख पूँजी र ७६ जनालाई रोजगारी दिनेगरी विभागमा दर्ता भएको थियो ।

सीईसी भेइकल्स कम्पनी प्रालि

वि.स २०७३ भदौ २४ गते सीईसी भेइकल्स कम्पनी ललितपुरमा खुल्नेगरी ४ करोड पूँजीसहित दर्ता भएको थिया । कम्पनीले ब्याट्रीबाट चल्ने दुईदेखि तीन पांग्रे भ्यान तथा चार पांग्रे भ्यान, मोटरसाइकल र स्कुटर एसेम्बल गर्ने उद्देश्य उल्लेख गरेको थियो । सीईसीबाट ३१ जनाले रोजगारी पाउने जनाइएको छ ।

हि डोङ न्यू इनर्जी इन्डस्ट्री

ललितपुर जिल्लामा दुई पाग्रे मोटरबाइक उत्पादन गर्ने गरी वि.सं २०७३ चैत २७ गते ‘हि डोङ न्यू इनर्जी इन्डस्ट्री’ दर्ता भयो । यस कम्पनीले ३१ जनाले रोजगारी पाउने उल्लेख गरेको छ ।

नेझुङ इण्डस्ट्रिज प्रालि

वि.सं २०७३ असोज १० गते मकवानपुरको हेटौंडामा दुई पांग्रे मोटरसाइल र स्कुटर, तीन पांग्रे र चार पांग्रे भ्यानदेखि ६ पांग्रेसम्म भ्यान एसेम्बल गर्ने प्लान्ट स्थाापनाका लागि उद्योग विभागमा दर्ता भएको थियो । यसले ३१ जनाले रोजगारी पाउने जनाइएको छ ।

नेपाल जिआन्ट कार इन्डस्ट्री ग्रुप प्रालि

वि.स २०७५ असोज १० गते दुई पांग्रे विद्युतीय मोटरसाइकल, स्कुटर, तीन पांग्रे भ्यान नेपालमै एसेम्बल हुने गरी ‘नेपाल जिआन्ट कार इन्डस्ट्री ग्रुप प्रालि’ दर्ता भएको थियो । बारा जिल्लामा स्थापना हुने कम्पनीमा ४० जनाले रोजगारी पाउने बताइएको छ ।

एभरेस्ट अटोमोबाइल म्यानुफ्याक्चरिङ कम्पनी प्रालि

वि.सं २०७६ जेठ १४ गते चार पांग्रे कार, भ्यान उत्पादन गर्ने गरी ‘एभरेष्ट अटोमोबाइल म्यानुफ्याक्चरिङ कम्पनी प्रालि’ दर्ता भएको थियो । एभरेस्टले काठमाडौंको चन्द्रागिरीमा स्थापना हुने उद्योगको पूँजी ४८ करोड उल्लेख गरेको छ । यसले ३४ जनालाई रोजगारी दिने जनाइएको छ ।

नेबुल इनर्जी प्रालि

वि.सं २०७७ असार ३१ गते विद्युतीय गाडी उत्पादनका लागि १ अर्ब ४० करोड पूँजीसहित ‘नेबुल इनर्जी प्रालि’ दर्ता भयो । चितवनमा स्थापना भएको कम्पनीमा ६७ जनाले रोजगारी पाउने जनाइएको छ ।

मोर्डन इलेक्ट्रिक भेइकल प्रालि

आर्थिक वर्ष २०७९/०८० को बैशाख २७ गते मोर्डन इलेक्ट्रिक भेइकल प्रालि दर्ता भएको छ । यसबाट २९ जनाले रोजगार पाउने जनाइएको छ । १४ करोड पूँजीको लागतमा काठमाडौंको बुढानिलकण्ठमा स्थापना हुने कम्पनीले तीन पांग्रे विद्युतीय भ्यान र चार पांग्रे सवारीसाधन एसेम्बल गर्ने जनाएको छ ।

चालू आर्थिक वर्षको भदौ १३ गते स्पोर्ट इलेक्ट्रिक प्रालि नामक दुई पांग्रे मोटरसाइकल एसेम्बल हुनेगरी विभागमा दर्ता भएको छ । उक्त प्लान्टमा ६२ जनाले रोजगारी पाउने जनाइएकाे छ ।

२ देखि ६ पांग्रे विद्युतीय सवारीसाधन नेपालमै उत्पादन गर्नेगरी नेपाल इभी कम्पनी प्रालि ललितपुर जिल्लामा स्थापनाका लागि विभागमा दर्ता भएको छ ।

त्यस्तै, हुलास अटो क्राफ्ट प्रालि नवलपरासी, सवारी बेला मोटर्स प्रालि ललितपुर, बेलिन मोटर टेक्नोलोजी कम्पनी काठमाडौं, हुलास अटो क्राफ्ट प्रालि, लक्ष्मी मोटर कर्पोरेशन नवलपरासी, हाङफाव मोटरसाइकल एसेम्बल कम्पनी काठमाडौं, ट्रष्ट इलेक्ट्रिक बाइक प्रालि काठमाडौं, चुंगलिय इन्टरनेसनल ट्रेडिङ काठमाडौं, सीएन्डडी कम्पनी प्रालि काठमाडौं, हेरोइन अटो इलेक्ट्रिक इन्डस्ट्री प्रालि कञ्चनपुर (तीन पांग्रेदेखि मिनिट्रकसम्म), मिथिला अटोक्राफ्ट प्रालि धनुषा (तीन पांग्रे), ग्रेटवाल इलेक्ट्रिक भेइकल प्रालि चितवन (विद्युतीय सवारी), शार्प भिजन इन्टरप्राइजेज सुनसरी (२/३ पांग्रे विद्युतीय सवारी), ग्लोबल अटोमोबाइल प्रालि मोरङ, बेल्टा इलेक्ट्रिकल अटो प्रालि चितवन (विद्युतीय मोटरसाइकल) र नेपाल जायन्ट कार इन्डस्ट्री प्रालि बारा (विद्युतीय मोटरसाइकल तथा कार) एसेम्बल उद्योगहरु विभागमा दर्ता भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *