विदेश पलायनको बहस- ‘उता गए’ धनीको सामाजिक प्रतिष्ठा, ‘यता गए’ गरिबको बाध्यता ? – Nepal Press

विदेश पलायनको बहस- ‘उता गए’ धनीको सामाजिक प्रतिष्ठा, ‘यता गए’ गरिबको बाध्यता ?

राजनीतिमार्फत सामाजिक क्रियाकलापमा सक्रिय दुई सहयोद्धा केही समयअघि क्यानडा भासिए । मुलुकमै केही गर्ने हुटहुटी भएका उनीहरू दुबैमा देश परिवर्तनको एउटा नवीन सङ्कल्प थियो । उनीहरु राजनीतिबाटै देशमा स्थापित हुन चाहन्थे । तर, त्यो धेरै समय टिक्न सकेन । उनीहरूभन्दा अगाडि मैले चिनेका वा मेरा साथीसंगी आफन्त मेरै उमेर समूहका धेरै युवा पलायन भइसकेका छन् । अहिले पनि त्यो क्रम रोकिएको छैन । बरु अझै बढिरहेको छ ।

विद्यार्थीको बहानामा विदेशमै बस्नेहरू भनेका कैयौं गुणा धेरै छन् रोजगारीको लागि विदेश पस्नेहरू । तर, त्यो पनि कहाँ पो त्यति सहज छ र ? पसिना बगाउन जान पनि रातो रगत बनाउनुपर्ने बाध्यताले नेपाली युवाहरूलाई पिरोल्न थालेको छ । केही दिनअघि ललितपुरको बालकुमारी घटनाले त्यही सङ्केत गर्छ । जुन दुर्भाग्य हो । कोरिया जान भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राखेर आन्दोलनरत दुई कलिला युवाले अकालमै ज्यान गुमाउनु पर्‍यो ।

विदेश पलायन हुन कति बाध्य छ भन्नेबारे धेरै उल्लेख गर्नैपर्दैन । आमनेपालीलाई जानकारी भएको विषय हो । त्योभन्दा पनि बढी प्रस्ट हुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निधारमा रातो टीका र काँधमा ठूलो झोला भिरेका युवाहरूको भीड हेर्दा पुग्छ । काँधमा बोकेको झोलाभन्दा ठूलो ऋणको भारी बोकेर श्रम गर्न विदेश जानेहरूको ताँती र सुकिलामुकिला भएर अध्ययन वा अन्य सन्दर्भमा विदेश जानेहरूको भीड दुवैले यो देशको अवस्था चित्रण गर्छ ।

एउटा युवाले जसोतसो गरेर पढाइ सक्छ । अनि आफ्नो योग्यताअनुसारको इलम खोज्छ । ऊ आफ्नो योग्यताअनुरूपको कामको निम्ति कति धाउँछ, कतिलाई चाकरी गर्छ, कतिसँग आग्रह गर्छ र कतिलाई आग्रह गर्न लगाउँछ ? यति हुँदा पनि आफ्नो योग्यताअनुसारको काम पाउन धौ धौ हुन्छ । त्यसपछि उसको मनस्थितिमा आउने एउटै योजना हुन्छ विदेश पलायन ।

हुनेखाने र जो सक्षम छन्, उनीहरूको रोजाइमा पर्छ अमेरिका, अष्ट्रेलिया, क्यानडा र अन्य युरोपेली देश । अनि निम्न वर्गीय र ऋणको भारी बोकेकाहरूको रोजाइमा पर्छ खाडी, मलेसिया जस्ता मुलुक । देशमा युवा बेरोजगार बढिरहेको छ । विदेश पलायन हुने युवाहरूको संख्या पनि बढिरहेको छ ।

काँधमा बोकेको झोलाभन्दा ठूलो ऋणको भारी बोकेर श्रम गर्न विदेश जानेहरूको ताँती र सुकिलामुकिला भएर अध्ययन वा अन्य सन्दर्भमा विदेश जानेहरूको भीड दुवैले यो देशको अवस्था चित्रण गर्छ ।

श्रम विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या गत आर्थिक वर्षमा ७ लाख ६१ हजार छ । यीमध्ये २ लाख मलेसिया गएका छन् भने बाँकी मध्यपूर्व र सानो संख्यामा अन्य देशमा जाने छन् । अन्य अनौपचारिक बाटो, भिजिट भिसा, अवैध तरिकाबाट जाने र कामका लागि भारत जानेको संख्या यसमा समावेश छैन ।

वैधानिक रुपमा श्रम स्वीकृति लिएर विदेश जानेभन्दा ठूलो संख्या अनौपचारिक ढंगले जाने र भारतमा कामका लागि जानेहरुको दोब्बरभन्दा बढी छ । यतिसम्मका रुस-युक्रेन युद्धमा भाग लिएर ज्यान गुमाउनेको संख्या समेत आधा दर्जन नाघिसक्यो ।

गत आर्थिक वर्षकै तथ्यांक हेर्ने हो भने करिब डेढ खर्ब रुपैयाँ वैदेशिक शिक्षाका लागि नेपालबाट बाहिरिएको छ । यो भनेको सवा लाख नेपाली युवा पढ्ने नाममा विदेशिएका छन् । उनीहरु त्यहाँ गएर पढ्न मेहनत गर्छन् कि पीआर र ग्रीनकार्डका लागि भन्ने लुकाइरहनु पर्दैन ।

शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार २०६५ सालदेखि २०७८ सालसम्म १३ वर्षको अवधिमा चार लाख १६ हजार ३४४ जना नेपाली विद्यार्थीले विदेशमा उच्च शिक्षा अध्ययन गर्न नो अब्जेक्सन पत्र लिएका थिए । शिक्षा मन्त्रालयले हाल वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि दैनिक ५०-१०० को हाराहारीमा नो अब्जेक्सन पत्र जारी गर्ने गरेको छ । अध्ययन गर्न होस् अथवा श्रमका लागि देशका भर्भराउँदा युवा जनशक्ति विदेशिने क्रम कति कहालीलाग्दो छ भन्ने कुरा माथिका तथ्यले देखाउँछ ।

अहिलेका युवाहरूको पलायनको अवस्था विश्लेषण गर्दा दुइटा पक्षले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । त्यो भनेको एउटा तानिने र अर्को धकेलिने ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या गत आर्थिक वर्षमा ७ लाख ६१ हजार छ । यीमध्ये २ लाख मलेसिया गएका छन् भने बाँकी मध्यपूर्व र सानो संख्यामा अन्य देशमा जाने छन् । अन्य अनौपचारिक बाटो, भिजिट भिसा, अवैध तरिकाबाट जाने र कामका लागि भारत जानेको संख्या यसमा समावेश छैन ।

नेपालमा महँगो शुल्क र लामो समय खर्च गरेर विश्वविद्यालयदेखि अन्य प्राविधिक विषयसम्म पढ्छन् । अन्तिममा भने जस्तो रोजगारी पाउँदैनन् र युवाहरू विदेश जान बाध्य हुन्छन् । त्यसलाई हामी विदेश धकेलिनेहरूको दृष्टिकोणबाट हेर्न सक्छौं ।

अहिलेको विदेशिने क्रम हेर्दा प्रत्येकजसो घरबाट कोही न कोही विदेश गएकै देखिन्छ । उनीहरूको लवाइखवाइ, यहाँबाट गएको केही महिनामै जीवनशैलीमा देखाइने परिवर्तन, बिदाको समयमा सुन्दर ठाउँहरू र समुद्रतिर घुमघामले रहरैरहरमा पनि सम्पन्नशाली मुलुकतिर गएकाहरू पनि छन् ।

जसलाई हामी विदेशमा भएकाहरूको आग्रहमा दबाबमा वा सुझावमा अथवा देखासिखीमा गएको बुझ्न सक्छौं, ती विदेश तानिनेहरूको सूचीमा पर्छन् । पछिल्लो समय वैदेशिक भ्रमण, अध्ययन वा रोजगारी बाध्यतामात्र नभएर देखासिखी वा फेशन पनि भइसकेको छ ।

आफ्नो सुन्दर भविष्यको खोजीमा अध्ययन भिसामा विदेश गएका युवा किताब र क्याम्पसभन्दा पनि काम र दाममा समय खर्च गर्न बाध्य छन् । आजको विश्वव्यापीकरण युगमा मानिसहरू विश्वमा जुनसुकै देशका भए पनि राम्रो अवसरको खोजी गर्ने, आफ्नो योग्यता र क्षमता जहाँ मिल्छ, त्यहाँ पलायन हुने प्रवृत्ति बढेको छ । तर, हाम्रो अवस्था भने अलि फरक छ ।

अझै पनि नेपाली युवाहरू त्यहाँ गएर के गर्ने, कस्तो काम हो भन्ने विषयमा जुझेरै वा जानकारी नलिएरै काम गर्न विदेश गइरहेका छन् । जसका कारण काम गर्न समस्या हुने, एउटा काम छोडेर अर्को काममा जानुपर्ने वा लुकेर बस्नुपर्ने बाध्यता आइरहेका छन् ।

गत आर्थिक वर्षकै तथ्यांक हेर्ने हो भने करिब डेढ खर्ब रुपैयाँ वैदेशिक शिक्षाका लागि नेपालबाट बाहिरिएको छ । यो भनेको सवा लाख नेपाली युवा पढ्ने नाममा विदेशिएका छन् । उनीहरु त्यहाँ गएर पढ्न मेहनत गर्छन् कि पीआर र ग्रीनकार्डका लागि भन्ने लुकाइरहनु पर्दैन ।

नेपालमा रोजगारी नपाएकाहरूको त गन्तव्य अहिले विदेश बनिरहेको छ । यहाँ सबै थोक भएकाहरू पनि अहिले नेपाल छोड्न तत्पर भइरहेका छन्, जुन विडम्बना हो । जसका बाबुआमा सम्पन्नशाली छन्, तीन पुस्तालाई पुग्ने सम्पत्ति छ, उनीहरु किन देशमा बस्दैनन् ? यसले विदेश बाध्यता हो भन्ने भाष्यलाई विषयान्तर गर्छ ।

सरकारी जागिर भएका, राम्रै आम्दानी गरिरहेकाहरू पनि अमेरिका अष्ट्रेलिया, क्यानडालगायतका देशको स्थायी बासिन्दा हुने अवसर पाउँदा यहाँको सबै थोक छोडेर त्यहाँ जान तयार भएको र गएको पनि हामीले देख्दै सुन्दै आइरहेका छौं ।

कोही एउटा व्यक्ति अमेरिका जान मानव तस्करलाई ९० लाखसम्म लुटाउन तत्पर हुन्छ भने कसरी बुझ्ने ? के नेपालमा ९० लाख यही केही गर्न नसकिने हो ? एउटा दुःखद कुरा त के छ भने अहिलेको युवालाई विदेशमोह यतिसम्म भयो कि उनीहरू लाखौं खर्च गरेर अवैधानिक रूपमा लामो कष्टकर यात्रा गरेर भए पनि विदेश जान तयार भइरहेका छन् ।

जब विदेशको भिसा लाग्छ, युवाहरूले विजयोत्सव झैं पार्टी मनाउँछन् । विदेश जाने स्वर्णिम ढोका खुलेकोमा अभिभावकलाई त झन् खुसीको कुरा हुन थाल्यो । एउटा छोरा अष्ट्रेलिया छ, अर्को छोरा क्यानडा छ, छोरी अमेरिका छ, हामी पनि केही दिनमा जाँदैछौं भन्ने कुरा सामाजिक प्रतिष्ठाको विषय बन्न थाल्यो । जसले गर्दा छोराछोरी विदेश नपठाएसम्म स्वर्ग पुगिँदैन कि भन्ने जस्तो महसुस एक तहका अभिभावकले गर्न थालेका छन् ।

विदेश गएका युवाको रेमिट्यान्सले घर, परिवार र राज्यसमेत रमाएको देखिन्छ । नेपाल रेमिट्यान्सले धानेको देश भन्छौं । तर, त्यही रेमिट्यान्सलाई समेत हामीले अनुत्पादक क्षेत्रमा र विलासी जीवनशैलीमा लगानी गरिरहेका छौं । युवा विदेश भासिँदा कृषि, निर्माण कार्य र अन्य काम गर्ने कामदारको अभाव देखिन थालेको छ, जसका लागि हामीले भारतीय श्रमिकमा निर्भर हुनुपरेको छ । हाम्रा युवाले पठाएको विप्रेषण यहाँबाट भारत जाने गरेको छ । विदेशमा दुःखको साथ गरिएको कमाइको अधिकांश भाग पुनः विदेश नै फर्किंदैछ ।

विदेश पठाउन ५० लाख खर्च गर्ने अभिभावकले स्वदेशमा त्यही रकम लगानी गरेर उनीहरूलाई अगाडि बढ्न किन प्रेरित गर्दैनन् ? यसमा आजका युवा र अभिभावकले अवश्य ध्यान दिनुपर्ने देखिन्छ । सरकारले पनि लगानीको वातावरण निर्माण गर्ने र युवाहरूलाई प्रोत्साहन गर्ने खालका नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ ।

विदेश गएका युवाहरूलाई स्वदेश फर्किने वातावरण राज्यले बनाउनुपर्छ । अहिले रेमिट्यान्सको लोभमा युवा पलायन भएको टुलुटुलु हेरेर बस्न राज्यको नैतिकताले दिँदैन । देशमा भविष्य नदेखेर विदेशिन बाध्य युवालाई देशभित्रै सुन्दर भविष्यको छनक पाउने अवस्था सिर्जना गर्न सकिएन भने देश गम्भीर दुर्घटनातर्फ जाने निश्चित छ । त्यसैले युवाको क्षमतालाई सकेसम्म देशभित्रै सही उपयोग गर्ने र युवा पलायन रोक्ने उपायको खोजी गरी देश युवाविहीन हुनबाट बचाउन राज्यले अभिभावकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्छ ।

(बम अनेरास्ववियु स्थायी कमिटी सदस्य हुन् ।)


प्रतिक्रिया

One thought on “विदेश पलायनको बहस- ‘उता गए’ धनीको सामाजिक प्रतिष्ठा, ‘यता गए’ गरिबको बाध्यता ?

  1. किनकी त्यो ५० लाख नेपालमा लगानी गरेर ब्यबसाय गर्न २५% नेताले पालेका कर्मचारीलाई घुस खुवाउनु पर्छ त्यतिले काम गर्न थालिहाले नेता र पार्टिका लम्पट झोलेहरुलाई चन्दा दिनुपर्छ कमाई हुन थालेपछि पार्टी र नेताले संरक्षण गरेका टोले गुण्डाहरुलाई हप्ता दिनुपर्छ पुलिस र पार्टिलाई दिनु त छदैछ अनि नाफा होस वा घाटा राज्यलाई बुझाउने कर त छदैछ अनि कसरी नेपाल मै गर्ने हो ? बिदेशमा कर तिर्नुपरे पनि एकथरी राज्यलाई मात्र तिरे पुग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *