असमावेशी उद्योग वाणिज्य संघ चितवन- सदस्यमा मात्रै महिला, पदाधिकारीमा पहिलाेपटक रजनीकाे उम्मेदवारी – Nepal Press

असमावेशी उद्योग वाणिज्य संघ चितवन- सदस्यमा मात्रै महिला, पदाधिकारीमा पहिलाेपटक रजनीकाे उम्मेदवारी

चितवन । चितवनका उद्योगी व्यवसायीहरुलाई अहिले चुनावी सरगर्मी लागेको छ । हरेक ३ वर्षमा हुने निर्वाचनको सरगर्मी बढ्दै गएको उद्योगीहरुको संस्था उद्योग वाणिज्य संघ चितवनमा अध्यक्षदेखि सदस्यसम्मका उम्मेदवार प्रचारमा व्यस्त छन् ।

२०१६ सालमा तत्कालिन व्यापार संघ नारायणगढको नामले स्थापित भएको व्यवसायीहरुको संस्था ५७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनसम्म आइपुग्दा पनि यसले समावेशी नीतिको पालना गर्न भने यहाँका पदाधिकारीले कुनै चासो देखाएका छैनन् ।

नयाँ संविधान बनेर नेपाल संघीय संरचनामा गएको ८ वर्ष भइसके पनि यस संघले अझै पनि २०६१ साल (अहिलेसम्म संशोधन नगरिएको) कै विधान अन्तर्गत कार्यसमिति चयन गर्दै आएको छ । २०६१ सालको विधानअनुसार उद्योग वाणिज्य संघको कार्यसमितिमा २५ जनाको लागि हुने निर्वाचनमा एकजना मात्रै महिला हुने व्यवस्था छ ।

जबकी कार्यसमितिमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष र तीन जना उपाध्यक्ष हुने व्यवस्था संघको विधानले गरेको छ । पुस २१ र २३ गते हुने अधिवेशनका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता राजकुमार श्रेष्ठ संघको विधानले महिला सहभागिता एक जना मात्रै सुनिश्चित गरेको बताउँछन् । विधानको यो व्यवस्थालाई हेर्दा जम्मा ४ प्रतिशत मात्रै सदस्यमा महिलाको सहभागिता सुनिश्चित गरिएको छ ।

तर, संविधानले व्यवस्था गरेअनुरुप समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिताको सुनिश्चितता विधानले गरेको छैन । कार्यसमितिमा कम्तिमा ३३ प्रतिशत सहभागिता समेत सुनिश्चित गरेको देखिँदैन ।

स्थापनाको ६४ वर्षमा उपाध्यक्षमा पहिलो उम्मेदवार महिला

२०१६ सालमा स्थापना भएयताको समय हिसाब गर्दा हालको उद्योग वाणिज्य संघ चितवन स्थापना भएको ६४ वर्ष पुगेको छ । यसका विभिन्न विधामा व्यवसाय गर्ने सदस्यहरुको जसले निर्वाचनमा मतदान गर्न पाउँछन्, उनीहरु २ हजार ९ सय ७४ जना पुगेका छन् ।

मतदान गर्न पाउने गरि करिब ६ सयको हाराहारीमा व्यवसायी महिला पनि पुगिसके । तर, अहिलेसम्म संघको पदाधिकारी तहमा महिला पुगेका छैनन् । संघमा ४ उपाध्यक्ष र १ अध्यक्ष गरि ५ जना पदाधिकारी हुने व्यवस्था भएपनि महिला वा समावेशी समूह नभएको कारण कहिल्यै महिला पदाधिकारी तहमा पुग्न नसकेको भन्दै पहिलोपटक एक महिलाले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् ।

निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको अन्तिम नामावली अनुसार वाणिज्य तर्फको उपाध्यक्ष पदमा रजनी मास्केले उम्मेदवारी दिएकी हुन् । तर, आआफ्ना समूह बनाएर निर्वाचन प्रकृयाका कुनै समूहले पनि उनलाई आफ्नो समूहमा भने राखेका छैनन् ।

यसअघि ६ पटकसम्म संस्थापन पक्ष बनेर कार्यसमितिको सदस्य पद सम्हालेकी मास्केले आज भरतपुरमा पत्रकार सम्मेलन गरि आफूले उपाध्यक्ष पदको दाबी गर्दा स्वतन्त्र उम्मेदवारी दिनुपर्ने अवस्था आएको बताइन् ।

‘तपाईँ हामीलाई चाहिने मान्छे हो, तर सदस्य पदमा बस्नुस् भन्छन्, मास्केले भनिन्, ‘म ६ कार्यकालभन्दा बढी सदस्यमा बस्नुभन्दा कुनै समूहमा नपरेपनि आफ्नो क्षमताका कारण नै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताइन् ।’

कुल २५ जनाको लागि हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई, वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदमा दुई/दुई जनाको उम्मेदवारी परेको छ । कार्यसमितिमा महिलाको एक पदका लागि दुई जना महिला सहित कुल उम्मेदवार महिला भने ५ जनाले उम्मेदवारी दिएका छन् । तर, पाँचै जना भने निर्वाचित हुने अवस्था रहँदैन । संघको विधान अनुसार उम्मेदवार दिएकामध्ये पनि महिला चार जना मात्रै निर्वाचित हुन्छन् ।

३५ वर्षदेखि पुस्तक व्यवसायमा मास्के

उद्योग वाणिज्य संघ चितवनमा पहिलोपटक उपाध्यक्ष पदको उम्मेदवार बनेकी मास्के चितवनमा पुस्तक व्यवसाय सुरु गर्ने परिवारकी सदस्य हुन् । तत्कालिन व्यापार संघ नारायणगढ सुरु हुँदा मास्केको ससुराले दिलमाया पुस्तक भण्डार नारयाणगढमा सुरु भएको हो ।

पारिवार छुट्टभिन्न भएसँगै २०४५ सालदेखि मास्के पुस्तक भण्डार नाम दिएर रजनी र उनका परिवारले नयाँ पुस्तक पसल सुरु गरे । त्यसपछि उनले व्यवसायको विस्तारको क्रममा सरोजनी बुक हाउस पनि सञ्चालन गरिसकेकी छिन् ।

मास्के उद्योग वाणिज्य संघ चितवनमा भने २०६८ सालयता आवद्ध भएकी हुन् । त्यसयता निरन्तर कार्यसमिति सदस्य बनेकी उनकै पहलमा गाउँ गाउँमा महिलाले उत्पादन गरेका मास, पिँडालु, लसुन लगायतका उत्पादनलाई उपभोक्तासम्म पुर्याउनको लागि उद्योग वाणिज्य संघ परिसरमा नै कोसेली घर सञ्चालन गरिएको छ । उनले आफ्नै अगुवाइमा महिला उद्यमी मेला लगायतका व्यवसाय प्रवद्र्धनको काम पनि गर्दै आएकी छिन् ।

संस्थापन र स्वतन्त्रको प्रचार तीव्र

यही पुस २१ र २३ गते हुने अधिवेशनमा उम्मेदवारी दर्ता गरिसकेका अध्यक्ष सहितका उम्मेदवारहरुले प्रचार भने तीब्र बनाएका छन् ।

अहिले कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका सुमनकुमार श्रेष्ठले हिजो बुधबार आफ्नो प्यानलसहितको पत्रकारसम्मेलन गर्दै आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरिसके भने शुक्रबार अहिलेका कार्यसमितिका उपाध्यक्ष शीरिष पन्तले पत्रकार सम्मेलन गरि प्रतिवद्धता सार्वजनिक गर्ने तयारी गरेका छन् ।

तर, दुवै समूहले महिला उपाध्यक्षको उम्मेदवारलाई आफ्नो समूहमा भने राखेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *