मम पसलमा काम लगाइदिने प्रलोभन देखाएर नुवाकोटबाट भारत पुर्‍याएर मृर्गौला बेचिदिए – Nepal Press

मम पसलमा काम लगाइदिने प्रलोभन देखाएर नुवाकोटबाट भारत पुर्‍याएर मृर्गौला बेचिदिए

काठमाडौं। नुवाकोटका एक व्यक्तिलाई मम पसलमा काम लगाई दिने भन्दै कलकत्ता पुर्‍याएर उनको मृगौला झिकिएको प्रहरीले दावी गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले पीडितको मृगौला झिकेर विक्री वितरण गरेको भन्दै नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ का ४३ वर्षीय हरि दर्जीलाई पक्राउ गरेको छ।

ब्युरोका अनुसार दर्जीसहितको गिरोहले पिडितलाई सुरुमा मृगौला दिए राम्रो रकम पाइने भन्दै अफर गरेका थिए। तर पीडित नमानेपछि उनलाई मम पसलमा मासिक ३० हजार रुपैयाँ कमाई हुने भनेर कलकत्ता पुर्‍याइएको र बेहोस बनाएर मृगौला झिकेको प्रहरीको दावी छ।

ब्युरोका एक अधिकारीका अनुसार पीडित बिहे ब्रतबन्धमा बाजा बजाउने काम गर्दै आएका थिए। सोही क्रममा गिरोहको सम्पर्कमा उनी पुगेको बताइएको छ। गिरोहले मृगौला झिकेपछि पिडितलाई ६ लाख रुपैयाँ दिएका थिए। आफ्नो अंग झिकिएको चाल पाएका पिडितले त्यसपछि ब्युरोमा उजुरी गरेका थिए।

काठमाडौं जिल्ल अदालतको २०७९ भदौ १७ गतेको आदेशले चार जना पुर्पक्षका लागि थुनामा गएका थिए। हरि भने फरार थिए।

हरि यसअघि पनि मानव बेचबिखनमा मुद्धा खेपेर दोषी ठहर भएक व्यक्ति हुन्। प्रहरीका अनुसार उनी १० वर्ष जेल बसेर छुटेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *