अमेरिकाबाट नेपालमा नियमित भित्रिन्छ गाँजा, ५२ केजी बरामद भएको भोलिपल्टै करिब एक केजी भित्रियाे – Nepal Press

अमेरिकाबाट नेपालमा नियमित भित्रिन्छ गाँजा, ५२ केजी बरामद भएको भोलिपल्टै करिब एक केजी भित्रियाे

काठमाडौं । लागू औषध कारोबारीले अमेरिकाको टेक्सासबाट कार्गो गरी पठाएको करिब ५२ केजी गाँजा विमानस्थल भन्सार कार्यालय र प्रहरीले मंसिर २७ गते बरामद गर्‍यो । २४ वटा साउन्ड बक्समा राखेर ल्याइएको अवस्थामा ५२ केजी ३२ ग्राम गाँजा फेला परेको थियो ।

प्रहरीले उक्त सामानको रिसिभ गर्ने व्यक्तिको खोजी गरिरहेको छ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो–एनसीबीका सह प्रवक्ता नारायण रन्जितकारले उक्त सामान काठमाडौंकै एक कम्पनीको नाममा आएको र अहिले खोजी भइरहेको जानकारी दिए ।

उक्त गाँजा नेपाल भित्रिएको भोलिपल्टै अमेरिकाबाटै हुलाकबाट पठाइएको करिब एक केजी गाँजा बरामद भएको थियो । एक्स रेमा शंकास्पद बस्तु देखिएपछि प्रहरीलाई खबर गरिएको थियो। उक्त सामान सप्तरीको राजविराज बस्ने एक व्यक्तिको नाममा आएको थियो । ब्यूरोको टोलीले ती व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

गत साउनयता मात्र त्रिभुवन विमानस्थलबाट विदेशबाट ल्याइएको गाँजा ६ पटक फेला परेको छ । यो प्रहरीको बरामदमा आधारित तथ्यांक मात्र हो । यसरी हवाई मार्गबाट विदेशबाट भित्रिएका सबै गाँजा अमेरिकाबाट आएका हुन्। ती सामानहरू कुरियर, हुलाक या कार्गोबाट आउने गरेको ब्युरोको तथ्यांक छ ।

गत साउन ८ गते अमेरिकाबाट आएको एक केजी २ सय ग्राम गाँजासहित एक जना पक्राउ परेका थिए । भदौको अन्त्यतिर अमेरिकाबाट ४ पटक गाँजा नेपाल ल्याइएको थियो । ती घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो ।

कहाँ जान्छ अमेरिकाबाट ल्याइएको गाँजा ?

ब्यूरोको तथ्यांकअनुसार पछिल्लो चार वर्षमा अमेरिका, क्यानडा, बेलायत र नेदरल्यान्ड्सबाट ल्याइएको गाँजा बरामद भएका छन् ।

यसरी भित्रिएका गाँजा अधिकांश भारत पुग्ने गरेको प्रहरीका अनुसन्धानहरूबाट देखिन्छ। ‘विगतका घटनाहरू हेर्ने हो भने यसरी ल्याइएका गाँजा भारततर्फ लैजाने गरेको देखिन्छ’, रन्जितकारले भने ।

उनले विदेशबाट ल्याइने गाँजाको बजार मूल्य यकिन हुन नसकेको बताए। ‘नेपालमा पाइने गाँजा चाहिँ प्रति केजी २४ हजार रुपैयाँमा कारोबार हुने गरेको पक्राउ परेका कारोबारीहरूले बताउने गरेका छन्’, रन्जितकारले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *