सुनको भाउमा दिनदिनै रेकर्ड, तोलाको डेढ लाखसम्म पुग्ने प्रक्षेपण – Nepal Press

सुनको भाउमा दिनदिनै रेकर्ड, तोलाको डेढ लाखसम्म पुग्ने प्रक्षेपण

काठमाडौं । एक सातामा सुनको मूल्य ४ हजार २०० रुपैयाँले बढेको छ । गत साताको सोमबार प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख २१ हजार ६०० रुपैयाँ पुगेको छ ।

गत सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार हुँदा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भयो । जसलाई बुधबार तोलाकै १ लाख १९ हजार ३०० रुपैयाँको नयाँ रेकर्डले तोड्यो । शुक्रबार १ लाख १९ हजार रुपैयाँमा झरेर कारोबार भएको थियो ।

त्यस्तै साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँ हुँदै नयाँ रेकर्ड कायम भयो । जसलाई आज सोमबार प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँको कारोबारले तोडेको छ ।

सुनको मूल्यले रेकर्डमाथि रेकर्ड कायम गर्दै जाँदा यस वर्षको अन्त्यसम्म प्रतितोला एक लाख ५० हजार रुपैयाँ नाघ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् । उनका अनुसार हाल सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय स्तरमा भइरहेका गतिविधिहरुको ठूलो भूमिका छ ।

उनी भन्छन्, ‘अहिले भइरहेको इजरायल-हमास युद्धको प्रभावले हाम्रो बजारलाई असर परिरहेको छ । यसका साथै नेपाली बजारलाई अन्तर्राष्ट्रिय गतिविधिहरुले प्रत्यक्ष प्रभाव पार्छ ।’

बजारमा सुनको मूल्य बढ्नुमा सर्वसाधारण भने बिहेको सिजनलाई कारण ठान्छन् । तर, नेपाली बजारमा सुनचाँदी मूल्य घटबढ सिजनले कुनै प्रभाव नपर्ने महासंघका अध्यक्ष शाक्य बताउँछन् ।

उनी भन्छन, ‘अन्तर्राष्ट्रिय बजारको मागअनुसार सुनचाँदीको मूल्य निर्धारण हुने गर्छ । अन्तर्राष्ट्रिय बजारमा हुने गतिविधि जस्तै विश्व बैंकका नीति र राष्ट्रहरुबीच हुने नाकाबन्दी तथा युद्धले सुनको मूल्यमा प्रत्यक्ष असर पर्छ । तर, नेपालका बैंकहरुको ब्याजदर र बिहे लगन तथा सिजनले कुनै प्रभाव पार्दैन ।’

उनका अनुसार २०४४ सालअघि नेपालमा सुनचाँदीको कारोबार सिजनअनुसार बढ्ने र घट्ने हुन्थ्यो । व्यापारीहरुले बिहे, व्रतवन्ध तथा लगन तथा विशेष चाडपर्वकै समयमा सुनचाँदी काठमाडौंलगायतमा ल्याउँथे र सोहीअनुरुप मूल्य घटबढ हुने उनले बताए ।

अहिले महासंघले मूल्य निर्धारण गर्न थालेपछि अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य घटबढ हुने अध्यक्ष शाक्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर