सांसद विनोद चौधरीको पहलमा नवलपरासीका उखु किसानले पाए अनुदान रकम – Nepal Press

सांसद विनोद चौधरीको पहलमा नवलपरासीका उखु किसानले पाए अनुदान रकम

नवलपरासी । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा जिल्लाका उखु किसानले अनुदान रकम पाएका छन् ।

सांसद चौधरीले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयमा निरन्तर ताकेता गर्दै आएका थिए ।

नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य देवकरण प्रसाद कलवार ‘सन्तु’ले सांसद चौधरीको पहलका कारण उखु किसानले अनुदानवापतको रकम पाएको बताए ।

‘हामी जनप्रतिनिधि र उखु किसान गएर माननीय विनोद चौधरीसँग कुरा राख्यौं । उहाँले कृषि मन्त्रालयमा निरन्तर ताकेता गर्नुभयो’, उनले भने, ‘अहिले उखु किसानले अनुदान रकम पाउनुभएको छ ।’

कृषि मन्त्रालयले विभागमार्फत नवलपरासी पश्चिममा १५ करोड १२ लाख १५ हजार ५५८ रुपैयाँ अनुदान रकम वितरण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)नवलपरासीले जनाएको छ ।

‘दशैँ अगाडि नै कृषि विभागबाट १५ करोड रुपैयाँको अख्तियारी आएको हो । त्यसपछि हामीले उद्योगबाट किसानको विवरण मागेर डकुमेण्ट रुजु गरेर वितरण सुरु गरिसकेका छौं’, जिल्ला कोलेनिका प्रमुख परशुराम नेपालले भने ।

उनका अनुसार पश्चिम नवलपरासीमा ६ हजार १९४ किसानका लागि अनुदान रकम आएको छ । कृषि मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० का लागि अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ तोकेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुदान रकमसमेत वितरण गरिएको छ । चिनी उद्योगबाट प्राप्त विवरणका आधारमा किसानको बैंक खातामा अनुदान रकम पठाउने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिए ।

‘उखु किसानलाई दिने रकम निकासा भइसकेको छ । उनीहरुको बैंक खातामा रकम निकासा गरेका छौं’, उनले भने ।

यता चिनी मिलहरुले समयमै भुक्तानी नगरिदिँदा पछिल्लो समय उखु किसानहरु बैकल्पिक कृषि पेशातर्फ जान थालेका छन् । सरकारी तहबाट पनि उखु किसानका समस्या सम्बोधन गर्ने गरी पहल नभएको किसानहरुको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर