प्रादेशिक अस्पताल जनकपुरमा सुत्केरीको मृत्यु, डाक्टरले लापरबाही गरेकाे आफन्तकाे आराेप – Nepal Press

प्रादेशिक अस्पताल जनकपुरमा सुत्केरीको मृत्यु, डाक्टरले लापरबाही गरेकाे आफन्तकाे आराेप

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको आज विहान मृत्यु भएको छ ।

अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराएकी महोत्तरीको मटिहानीका हासिम राइनकी श्रीमती तजाबुल खातुनको मृत्यु भएको हो । बच्चा (छोरा) भने सुरक्षित रहेको बुझिएको छ ।

शुक्रवार साँझ ७ बजे चिकित्सकले शल्यक्रिया गरेका थिए । रातभर अवस्था सामान्य रह्यो । आज विहान उनको मृत्यु भएको छ । उनको मृत्युको विषयलाई लिएर अहिले अस्पताल तनावग्रस्त बनेको छ ।

मृतक महिलाकी आफन्तहरु अस्पतालमा रोइकराई रहेका छन् । उनीहरुले डाक्टरले लापरबाही गरेको आरोप लगाएका छन् ।

मृतकका देबर मोहमद साकिर राइनले चिकित्सकले गलत ढंगले शल्यक्रिया गरेकाले भाउजुको मृत्यु भएको आरोप लगाए ।

ब्यथा सुरु भएपछि खातुनलाई उनको आफन्तले जनकपुर ल्याएर बैदेही अस्पतालमा भर्ना गराएको थियो । तर त्यहाँका चिकित्सकले सुत्केरी गराउन नसक्ने भनेपछि आफ्न्तले शुक्रवार दिउँसो प्रादेशिक अस्पताल ल्याए ।

प्रादेशिक अस्पतालका चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाए । आफन्त तयार भएपछि चिकित्स्कले शल्यक्रिया गरेर बच्चा निकाले । तर २४ घण्टा नबित्दै खातुनको मृत्यु भएपछि डाक्टरहरु सम्पर्कविहिन बनेका छन् ।

शल्यक्रिया कुन चिकित्सकले गरेको भन्ने कुरा खुल्न सकेका छैन् । अस्पतालले दिएको पूर्जामा डाक्टरको नाम उल्लेख हुनुपर्ने ठाउँमा ८–८ लेखिएको छ । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामनरेश पण्डितसँग सम्पर्क गर्दा हुन सकेन ।

घटनापछि अस्पतालमा ठूलो संख्यामा उनका आफन्त र गाउँले जम्मा भएका छन् । सुत्केरी महिला खातुनको शव अहिले अस्पतालमै छ । आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर