दुर्गा प्रसाईंको अराजकतामा एमाले-माओवादीको पनि हिस्सा छ : नैनसिंह महर – Nepal Press

दुर्गा प्रसाईंको अराजकतामा एमाले-माओवादीको पनि हिस्सा छ : नैनसिंह महर

कांग्रेसका पनि कमजोरी छन्, सुध्रिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको आरोप लगाएका छन् । उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी महरको टिप्पणी छ ।

नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हो । आज अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हो र हुनुपर्छ ।’

ओली, प्रचण्ड र प्रसाईंबीचको अघोषित सम्बन्धका कारण अहिलेको स्थिति सिर्जना भएको महरले दाबी छ ।

सत्ताको खेल र देशको ढुकुटीमा कसरी रजगज गर्ने भन्ने कम्युनिष्ट प्रपञ्चको हिस्सेदार हिजोदेखि नै दुर्गा प्रसाईं पनि रहेको उनको आरोप छ ।

‘ओलीले वर्तमान सत्ताका खिलापमा दुर्गा प्रसाईंलाई प्रयोग गर्न चाहिरहेको देखिन्छ । प्रचण्ड दुर्गा प्रसाईंको माध्यमबाट ओलीलाई तर्साउन चाहन्छन् । प्रचण्ड र केपी ओलीका कमजोरीसँग दुर्गा प्रसाईं परिचित छन्,’ महरले जिकिर गरे ।

केही अराजक तत्व पुन: मुलुकमा द्वन्द्व निम्त्याएर अस्थिरता सिर्जना गर्न प्रयत्नरत रहेकाले कांग्रेस त्यसका खिलापमा बलियो गरी उभिनुपर्ने बताए।

‘कांग्रेस पनि सुध्रिनुपर्ने छ । हाम्रा कमी कमजोरी छन् । कांग्रेसले आफैँबाट सुधारको प्रक्रिया थाल्नुपर्छ। जनताका लागि काम गर्नुपर्छ । प्रजातान्त्रिक आचरण अनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सिर्जना गर्न जरुरी छ । यसरी अगाडि बढे कांग्रेस र मुलुक दुवै समृद्ध हुने छन्,’ उनले भने ।

अहिले जनतामा भ्रम छर्दै अरुलाई गाली गरेर नयाँ शक्ति आइरहेको भन्दै उनले यी पनि पानीको फोकाजस्तै भएको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर