एक-अर्को राष्ट्र र धर्मको मानमर्दन गर्ने विदेशी चलचित्रमा रोक लगाउन बालेनको ध्यानाकर्षण – Nepal Press

एक-अर्को राष्ट्र र धर्मको मानमर्दन गर्ने विदेशी चलचित्रमा रोक लगाउन बालेनको ध्यानाकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले ’चलचित्र जाँच समितिको कार्यविधि, २०७४’लाई पूर्ण कार्यान्वयन गर्न चलचित्र जाँच समितिलाई ध्यानाकर्षण गराएको छ ।

चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्र जाँच समितिले ‘चलचित्र (निर्माण, प्रदर्शन र वितरण) ऐन २०२६ को दफा ७ को उपदफा (३) बमोजिम’चलचित्र जाँच समितिको कार्यविधि, २०७४’कार्यान्वयनमा ल्याइ चलचित्र जाँच सम्बन्धी कार्यलाई एकरूपता दिई जबाफदेही र पारदर्शी बनाउने कार्यलाई निरन्तरता दिइरहेको बताउँदै महानगरले उक्त कार्यविधिको कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको हो ।

मेयर बालेन साहले एक सूचना जारी गर्दै ‘चलचित्र जाँच समितिको कार्यविधि, २०७४’ को दफा ४ को उपदफा १ लाई पूर्ण रूपमा कार्यान्वयन गरी विभिन्न विषय बस्तुलाई प्राथमिकतामा राख्न समेत अनुरोध गरेका छन् ।

समितिले गर्दै आएको कार्यले चलचित्रबाट समाजमा पर्ने नकारात्मक प्रभाव कम गर्नको लागि गरेको कामको लागि मेयर साहले व्यक्तिगत र महानगरपालिकाको तर्फबाट धन्यवाद दिएका छन् ।

कार्यविधिमा नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउने, पञ्चशीलता सिद्धान्त र शान्ति प्रवर्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउने विषय उल्लेख छ ।

साथै कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने, कुनै पनि जातजाति, वर्ण, समुदाय, लिङ्ग, तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने कार्यविधिमा उल्लेख छ ।

चलचित्रले समाजमा पार्ने सकारात्मक प्रभाव उल्लेखनीय रहेको बताउँदै चलचित्रको निर्माण तथा प्रदर्शनमा यस महानगरले सकारात्मक साथ रहने मेयर साहले बताएका छन् । कार्यविधि अनुसार प्रतिबन्धित चलचित्रको दृश्य तथा संवाद सहितको चलचित्र प्रदर्शनमा आएको खण्डमा महानगरपालिकाले प्रचलित कानुन बमोजिम आवश्यक कदम चाल्ने चेतावनी समेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर