बाँकेमा ज्यान मार्ने कसूरमा संलग्नलाई पक्राउ गर्न प्रहरीले चलायो गोली – Nepal Press

बाँकेमा ज्यान मार्ने कसूरमा संलग्नलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

रूपन्देही । बाँकेमा ज्यान मार्ने कसूरमा संलग्न एकजनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

गोली लागेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न बैजनाथ गाउँपालिकाका ३१ वर्षीय आकाश राना घाइते भएका छन् । रानाको दायाँ खुट्टामा गोली लागेको हो । कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा आकाश रानाले करणी प्रयास गरेको समेत प्रहरीको आरोप छ ।

उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखि ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका थिए ।

प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले बताए ।

गत कार्तिक ३० गते बिहान कोहलपुर स्थित चप्परगौडीमा स्थानीय मीन बहादुर बिकलाई आकाश राना सहितका युवाहरूले धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई नेपालगन्जमा उपचार सम्भव नभएपछि उपचारको लागि भारतको लखनउमा पठाइएको छ ।

खुकुरी प्रहारमा संलग्नलाई खोज्दै प्रहरी शुक्रवार जानकी गाउँपालिका–४ स्थित खुर्द खजुरामा पुगेको हो । प्रहरीलाई देखेपछि आकाश राना भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर