प्रधानमन्त्रीको ‘त्रसित’ भाषण: व्यवस्थाविरुद्ध आवाज उठाउने दुस्साहस हुँदैछ, हामी टुलुटुलु हेरेर बस्ने ? – Nepal Press

प्रधानमन्त्रीको ‘त्रसित’ भाषण: व्यवस्थाविरुद्ध आवाज उठाउने दुस्साहस हुँदैछ, हामी टुलुटुलु हेरेर बस्ने ?

‘सरकारले यत्रो काम गरेको छ, म ४७ देशको नेता छु, सबैले गर्व गर्नुपर्दैन ?’

काठमाडौं । तनहुँको आँबुखैरेनीमा अस्पतालको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कडा तर प्रतिरक्षात्मक राजनीतिक भाषण गरेका छन् । उनको भाषणमा अहिलेको संघीय गणतान्त्रिक व्यवस्था उल्टाउन खोज्नेहरुप्रति आक्रोश र त्रास तथा ‘सरकारले भयंकर काम गर्दा पनि जस नपाएको’ गुनासो मिश्रित थियो ।

प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको विरोधमा भइरहेका गतिविधिलाई टुलुटुलु हेरेर बस्न नसक्ने संकेत गरे । परिवर्तनका पक्षधर दलहरुलाई आफूले बैठकमा राखेको र यो व्यवस्था जोगाउन सडकमा उत्रिन पनि तयार रहेको प्रतिबद्धता आफूले पाएको उनले बताए ।

प्रधानमन्त्रीको सम्बोधनको एक अंशः

‘हिजोआज एकथरि मान्छेहरु… । हामीले ७० वर्ष भनौं, शान्तिपूर्ण, सशस्त्र, आन्दोलतमार्फत हजारौंको त्याग-तपस्याबाट राष्ट्रिय गान बनायौं, सयौं थुंगा फूलका हामी एउटै माला नेपाली । हामीले सबै जात, भाषा, धर्म, संस्कृति एक ठाउँमा केन्द्रित भएको राष्ट्रिय गान गाउन थालेका छौं । यो राष्ट्रिय गानमा आमनेपालीको विचार, भावना, संवेदना, संस्कृति सबै बोलेको छ । तर, आजभोलि फेरि हिजोका सामन्ती राजाका स्तुतिगान र भक्तिगान (सुन्न थालिएको छ), जसले यो देशलाई बर्बाद पारे, कहिले कोत पर्व, रगतको खोलो दरबारभित्रै, कहिले भण्डारखाल, कहिले नारायणहिटी, हामीले देखेको होइन त्यो ? तिनै मान्छे आजभोलि संस्कारको कुरा गर्छन् क्या, संस्कारको । त्यै हो संस्कार ? कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटीमा आफ्नै वंश विनाश गर्नेले लोकतन्त्रवादीलाई संस्कारका कुरा गर्ने ? परिवर्तनकारी शक्तिलाई सिकाउने ?

अहिले त केही मानिसले साँँच्चै लोकतान्त्रिक प्रणालीका विरुद्ध आवाज उठाउने दुस्साहस गरेका छन् । म आज बिहानमात्रै सेना, प्रहरी, ब्युरोक्रेसीका सबै प्रमुखसँग बैठक बसें । साँच्चै हो त ? खोजेकै हो ? भन्या जस्तो स्थिति अहिले बनेको छ । जसले यो लोकतान्त्रिक प्रणाली ल्याउन दलित, महिला, जनजाति, मधेसी, मुस्लिमलाई अधिकार र पहिचान दियो, जसले बोल्न आ–आफ्नो ढंगले पार्टी खोलेर स्वतन्त्रतापूर्वक बोल्ने वातावरण बनाए, उनीहरुलाई हिलो छ्याप्न खोजियो भने त्यो नेपाली जनतालाई सह्य हुन्छ भन्ने लाग्दैन ।

मैले अस्ति भर्खर परिवर्तनका पक्षपातीहरु, १२ बुँदे समझदारी र शान्ति सम्झौता तथा संविधानसभा र संविधान घोषणाका सहयात्रीहरु अहिले कहाँनेर छन् भनेर बुझ्नलाई बैठक बोलाएँ । तपाईंहरुले देख्नुभयो । हामी टुलुटुलु हेरेरमात्र बस्ने कि छाडा र अराजकलाई रोक्ने मनस्थितिमा हौं भन्ने जान्न चाहेको थिएँ । त्यसमा मैले एउटा कमिटमेन्ट प्राप्त गरें, जरुरी प¥यो भने जनतन्त्र, लोकतन्त्र र संघीयताको रक्षाका निम्ति सडकमा जान तयार छौं भन्ने । अरुले त भने भने, प्रमुख प्रतिपक्षका नेताले त ज्यानै छोडेर लाग्छु भनेर घोषणा गर्नुभएको छ । त्यसैले विषय अलि गहिरो छ ।
७० वर्ष लडेर प्राप्त उपलब्धिलाई सजिलै दुई–चार जना हावा, एक जना नेताले ‘राजनीतिक लफंगा’ भन्दै हुनुहुन्थ्यो क्या गणतन्त्रको विरोध गर्नेहरुलाई, अनि उनीहरुले गरेर उल्टिन्छ सबै चिज ? नेपाली जनताले बिर्सिन्छन् त दिनमै दुई सय मान्छे मरेको मारेको ? त्यसबाट उन्मुक्तिका लागि भएको विस्तृत शान्ति सम्झौता र त्यसले प्राप्त भएको ऐतिहासिक युगान्तकारी परिवर्तनलाई जनताले बिर्सिन सक्छन् ? कुनै हालतमा बिर्सिने स्थिति छैन ।

अलिकति राजनीतिक ज्ञान हुने, विवेक र नैतिकता हुने मानिसले त अहिलेको सरकारले सुशासनको निम्ति बल गरेको छ है भन्नैपर्ने हो नि ! देशमा अहिलेसम्म कहिल्यै नभएको भ्रष्टाचार, भूमाफिया र तस्करका विरुद्ध अभियान सुरु त भएको छ नि ! पहिले यो स्केलमा कहिल्यै भएको थियो त ? के जनताले यो कुरा हेरेको र सुनेको छैन र ?

पहिलोचोटि इतिहासमै भारत, चीन, अमेरिकासँग जुन लेभलको सहमति, समझदारी र सम्झौता भएको छ, त्यसमा नेपालीले गर्व गर्नुपर्दैन ? संयुक्त राष्ट्रसंघको महासभामा नेपाल अल्पविकसित देशको अध्यक्ष हो । मैले अध्यक्षको नाताले नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रसंघको महासभा र अन्य समिटहरुमा ४७ देशको नेताको हैसियतमा सम्बोधन गरेको छु । मेरो सम्बोधनकै प्रभावले राष्ट्रसंघका महासचिव नेपाल आउनुभयो । अन्नपूर्ण बेसक्याम्प, सगरमाथा बेसक्याम्प र लुम्बिनीमा पुगेर विश्वव्यापी अपिल गर्नुभयो । त्यसको प्रभावले इतिहासमै सबैभन्दा बढी टुरिस्ट नेपाल आएका छन् । नयाँ इतिहासको रचना भएको छ । गर्व गर्नुपर्दैन ? यस्तो सरकारलाई खत्तम भन्नु बेइमानी र अनैतिक नभए के हुन्छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर