टिकटक प्रतिबन्ध निस्प्रभावित बन्दै, यसरी चलाइरहेछन् प्रयोगकर्ता – Nepal Press

टिकटक प्रतिबन्ध निस्प्रभावित बन्दै, यसरी चलाइरहेछन् प्रयोगकर्ता

काठमाडौं । नेपाल हालै सरकारले चिनियाँ सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाउने विवादित निर्णय गर्यो । यद्यपि, सरकारको निर्णय प्रभावकारीरुपमा कार्यान्वयनमा आएको छैन ।

अहिले पनि अधिकांश प्रयोगकर्ताको मोबाइलमा टिकटक चलि नै रहेको छ । भिडिओ बनाउनेहरु बनाइरहेका छन् । लाइभ बस्नेहरु ट्यापट्याप गरिरहेकै छन् । हेर्नेहरु हेरिरहेकै छन् । भिडिओको फ्लोमा केही कमि आए पनि बन्द भएको छैन ।

टिकटक बन्द किन पूर्ण कार्यान्वयनमा आउन सकेन त ?

सरकारले प्रतिबन्धको निर्णय गरेपश्चात दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरुलाई पत्राचार गरेर २४ घण्टाभित्र टिकटक बन्द गराउन निर्देशन दियो । अधिकांश कम्पनीले सरकारको निर्देशन पालना गरेका छन् भने एकाधले गर्न बाँकी छ । तर, सेवा प्रदायकले नदिए पनि प्रयोगकर्ताले वैकल्पिक उपायबाट टिकटक चलाइरहेका छन् ।

टिकटक चलाउने एउटा उपाय भनेको भर्चुअल प्राइबेट नेटवर्क (भिपीएन) हो, जुन टिकटक ब्यान्ड भएको पहिलो दिनमै गुगलको सर्चिङ बारको टपमा आइसकेको थियो । यो आधिकारीक रुपमा सञ्चालनको लागि अनुमति नपाएको माध्यम हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेट प्रदान गर्दा प्रयोगकर्तालाई एक ‘आइपी एड्रेस’ दिएको हुन्छ । जुन ‘आइपी एड्रेस’ मार्फत प्रयोगकर्ताले सबै इन्टरनेटबाट सञ्चालित सामग्रीहरु चलाइरहेका हुन्छन् । प्रयोग भइरहेका सामग्रीहरु आइएसपीको कन्ट्रोलमा हुन्छन् ।

जब मोबाइलमा भिपीएन प्रयोग गरिन्छ, त्यसले प्रयोगकर्ता र इन्टरनेट सेवा प्रदायकसँगको आइपीएस लिङ्कलाई हटाइदिन्छ । भिपीएनले अन्य राष्ट्रबाट सञ्चालित आइपी एड्रेस दिन्छ । जुन ‘एनोनोमस’ (बेनामी अर्थात नाम नभएको, जसलाई खोज्न सकिदैन) बन्न जान्छ । इन्टरनेट सेवाप्रदायक कम्पनी अथवा कसैले पनि त्यसलाई कन्ट्रोल वा पत्ता लगाउन सक्दैन ।

भिपीएनको प्रयोग आफूलाई गुप्त राख्नका लागि गरिन्छ । यसले प्रयोगकर्ताको लोकेशनलाई डाइभर्ट गर्ने काम गर्दछ । ह्याकिङ तथा इन्टरनेट सम्बन्धी प्रतिबन्धित कामहरुका लागि भीपीएनको प्रयोग गरिन्छ । प्रतिबन्धित एप्लीकेसनलाई भिपीएनले खुलाइदिन्छ । साइबर ब्यूरो अथवा नियामक निकायले प्रयोगकर्तालाई पत्ता लगाउन सक्दैन ।

भिपीएन प्रयोग गर्दा हुने जोखिम

भिपीएन प्रयोग गर्दा आफूसँग भएका संवेदनशील डाटाहरु भिपीएन प्रदायक कम्पनीसँग साटासाट भइरहेको हुन्छ । ति कम्पनीहरुको कुनै आधिकारीक लोकेसन हुँदैन, जुन भिपीएन डाउनलोड गर्दा ‘प्ले स्टोर’ को डिटेल्समा पनि उल्लेख गरिएको हुन्छ । यसमा भिपीएन प्रयोगकर्ताको डाटा प्रयोग हुनसक्ने पनि उल्लेख गरिएको हुन्छ ।

भिपीएनले व्यक्तिगत सूचनामा इमेल एड्रेस र युजर आइडीलाई संकलन गर्छ । यसको प्रयोग जतिबेला पनि हुन सक्छ । भिपीएनले यसमा ‘लगइन’ हुने जुनसुकै आइडीलाई प्रयोग गर्न सक्छ । मोबाइलमा भएका फोटो भिडिओहरु अप्सनल लेखिएता पनि भिपीएनले सबैलाई प्रयोग गर्न सक्छ ।

कम्प्युटर इन्जिनियर सौरभ घिमिरेका अनुसार भिपीएन प्रयोगकर्तालाई रोक्न सम्भव नै हुँदैन ।

उनले भने, ‘भिपीएन बनेकै त्यस्तो खालका प्रतिबन्धित एप्लिकेशनलाई सञ्चालन गर्न बनाइएको हुन्छ । नेपालमा मात्रै नभएर अन्य ठूला ठूला राष्ट्रहरुले पनि यसलाई कन्ट्रोल गर्न सकेका छैनन् ।’

दोस्रो उपाय

भिपीएनको प्रयोगबिना पनि टिकटक चलाउन सम्भव छ । यसका लागि मोबाइलको सेटिङ्समा गएर ‘प्राइभेट डीएनएस’ मा जानुपर्ने हुन्छ । प्राइभेट डीएनएसभित्र रहेका अप्सनमा ‘प्राइभेट डीएनएस प्रोभाइडर’ छनोट गरी त्यसको तल ‘प्रोभाइडर होस्ट नेम’ रहेको अप्सनमा जानुपर्छ । त्यहाँ रहेको होस्ट नेमलाई हटाएर ‘भिपीएन डट एडगार्ड डटकम’ सानो अक्षरमा लेखेर सेभ गर्दा उक्त सेटिङ अन हुन्छ ।

यसरी गरिएको परिवतर्नले टिकटकलाई पुन सञ्चालन गर्दछ । यो सबै अधिकांश एनरोइड फोनहरुमा हुन्छ, तर आइफोनहरुमा यो सेटिङ छैन ।

यसका अलावा पनि थुप्रै विकल्पहरु रहेका छन् । जुन गैरकानूनी मानिए पनि मानिसहरु चलाइरहेका छन् ।

इन्जिनियर घिमिरे भन्छन्, ‘हरेक मोबाइलमा डीएनएस(डोमेन नेम सिस्टम) रहेको हुन्छ । डीएनएस एक प्रकारको युनिर्भसल भिपीएन नै हो जुन मोबाइलले नै प्रदान गरेको हुन्छ । डिएनएसमार्फत बिनाभिपिएन नै ब्यान्ड भएका एप्लिकेशनहरु चलाउन सकिन्छ । अहिले बिनाभिपीएन टिकटक चलाउनेहरु यसको प्रयोग गरिरहेका छन् ।’

उनले थपे, ‘यो गैरकानूनी हो तर यसलाई नियामक निकायले रोक्न सम्भव हुँदैन । यसका लागि टिकटक कम्पनीले नै यस्ता भिपीएनबाट प्राप्त रिक्वेस्टलाई स्वीकार गर्न रोक लगाउनुपर्ने हुन्छ । इन्टरनेट सेवा प्रदायक कम्पनीमार्फत गरेको बन्दले सम्भव हुदैन । यसका लागि आइएसपी नै बन्द गर्नुपर्ने हुन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *