अधिकांश भूकम्पका घाइते घर फर्केपछि भेरी अस्पतालको विपद् वार्ड खाली – Nepal Press

अधिकांश भूकम्पका घाइते घर फर्केपछि भेरी अस्पतालको विपद् वार्ड खाली

रुपन्देही । १० दिनअघि जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरू उपचारपछि घरघर फर्केसँगै बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको डिजास्टर (विपद्) वार्ड खाली भएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीमध्ये केही रिफर गरिएको र अधिकांश सबै घाइते निको भएर डिस्चार्ज हुँदै घर फर्कन थालेपछि विपद् वार्ड खाली भएको हो ।
अस्पतालमा भर्ना भएका सबै घाइतेहरू उपचारपश्चात् राहतसहित घर पठाएपछि विपद् वार्ड खाली भएको हो ।

भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहजता प्रदान गर्न घाइतेहरूको मात्र उपचारका लागि अस्पतालले अलग्गै ‘डिजास्टर वार्ड’को व्यवस्थापन गरेको थियो ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले अस्पतालमा भर्ना भएका बिरामीमध्ये केही रिफर गरिएको र बाँकी सबै घाइते निको भएर डिस्चार्ज हुँदै घर फर्कन थालेपछि विपद् वार्ड खाली भएको जानकारी दिए ।

उनले उपचाररत ६ जना मात्र भूकम्पका घाइतेहरू अस्पतालमा रहेको र उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य भएका कारण अस्पतालको पेइङ्ग वार्डमा राखेर उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

सोमबार मात्र दुई जना बिरामी निको भएर डिस्चार्ज भएर घर फर्केको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोमबार रुकुमपश्चिमका १० वर्षीय बालक जगदीश दमाई र जाजरकोटका ४८ वर्षीय विमलकुमार कार्की डिस्चार्ज भएका छन् । कार्की अस्पताल पुगेका पहिलो घाइते हुन् ।

आइतबार पनि अस्पतालबाट उपचारपश्चात् निको भई थप ६ जना घाइते बिरामी डिस्चार्ज भएर आफ्नो घरतर्फ प्रस्थान गरेका थिए । आइतबार जाजरकोटका चारजना र रुकुमपश्चिमका दुई जना गरी ६ जना भूकम्पका घाइते बिरामीहरू उपचारपश्चात् निको भई डिस्चार्ज भएर घर पठाइएको श्रेष्ठले बताए ।

डिस्चार्ज भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न एमडीएम फ्रान्सले निःशुल्क गाडीको व्यवस्था गरिदिएको छ । बाँके युनेस्को क्लबको सहयोगमा जनही २५ किलो चामल, ५ किलो दाल र २ लिटर तेलसँगै जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले १-१ सेट त्रिपाल, २-२ वटा कम्बल र १-१ कार्टुन मिनरल वाटर प्रदान गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये यसअघि ४६ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । सोमवारसमेत गरी ४८ जना बिरामी निको भएर डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर