सिन्धुलीमा महेश्वरविरुद्ध राजन दाहालको एम्बुस, सांसद पत्नीले मञ्चबाट पुष्पगुच्छा फालेपछि माओवादीमा भाँडभैलो – Nepal Press

सिन्धुलीमा महेश्वरविरुद्ध राजन दाहालको एम्बुस, सांसद पत्नीले मञ्चबाट पुष्पगुच्छा फालेपछि माओवादीमा भाँडभैलो

बाहुबली सांसद राजन दाहालविरुद्ध माओवादी हेडक्वार्टरमा कारबाहीको लागि रिपोर्टिङ, महेश्वर दाहाललाई प्रमुख अतिथी बन्न नदिन अग्नि सापकोटामार्फत हारगुहार

सिन्धुली । नेकपा (माओवादी केन्द्र) मरिण गाउँ समितिले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै आयोजना गरेको वृहत जनसांस्कृतिक कार्यक्रममा सो पार्टीको आन्तरिक कलह तल्लो तहका कार्यकर्ताले देखिने गरी छताछुल्ल भएको छ ।

बाहुबली सांसद राजन दाहालकै कारण सिन्धुलीमा पार्टी कमजोर बनेको, व्यक्तिवादी प्रवृति हाबी भएको, आर्थिक स्रोत केन्द्रिकृत गरेको र पार्टीलाई सामुहिक पद्धतिमा भन्दा व्यक्ति केन्द्रित ढंगले अगाडि बढाएको जस्ता विषय हेर्डक्वार्टरमा रिपोर्टिङ भएपछि त्यसको असर जिल्लामा सार्वजनिक कार्यक्रममै देखिएको हो ।

गत शनिबार आयोजित साँस्कृतिक कार्यक्रमलाई रोक्न सांसद तथा जिल्ला इन्चार्ज राजन दाहालले उपाध्यक्ष अग्नी सापकोटाको सहयोग माग्दै फोन गरेका थिए । उनको यो प्रयास सिन्धुलीमा इन्चार्जका रूपमा खटिएका उनीभन्दा सिनियर नेता महेश्वर दाहाललाई प्रमुख अतिथि बन्नबाट रोक्नका लागि थियो ।

सांसद दाहालको आग्रहपछि सापकोटाले अभियानका सिन्धुली जिल्ला इन्चार्ज महेश्वर दाहाललाई फोन गरेर कार्यक्रम स्थगन गर्न निर्देशन पनि दिए ।

इन्चार्जले महेश्वरले कार्यक्रम रोक्नु पर्ने अवस्था आयो भनेर जिल्ला पार्टी कमिटीका संयोजक र आयोजक मरिण गाउँ कमिटीलाई जानकारी दिएपछि मरिणमा अभियानका क्रममा खटिएकी इन्चार्ज उर्मिला लामाले बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीलाई सम्पर्क गरेकी थिइन् ।

प्रदेश अध्यक्षले स्थानीयस्तरका पूर्वनिर्धारित कार्यक्रम अन्य जिल्लामा पनि रोकिएका छैनन् भनेपछि निर्धारित समयमै जनसाँस्कृतिक कार्यक्रम गर्ने टुंगो लाग्यो ।

कार्यक्रम नरोकिने भएपछि सांसद दाहालले जिल्ला इन्चार्ज महेश्वर दाहाललाई होइन जनकलाकार जीवन शर्मालाई प्रमुख अतिथि बनाउन भन्दै मरिण पालिका कमिटी अध्यक्ष काजीमान थिङलगायतका नेताहरूलाई फोन गरेका थिए ।

तर, मरिणको साहान रंगशाला मैदानमा भएको कार्यक्रम महेश्वर दाहाललाई प्रमुख अतिथि बनाएर सुरू भयो । कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य गंगा तामाङ, सिन्धुलीका संयोजक पानीराज बम्जन, मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान, सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा दाहाल, गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकार, ध्याङलेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलान उपस्थित थिए ।

कार्यक्रममा आतिथ्यता ग्रहणसँगै फूलको गुच्छा दिने क्रममा अतिथि बनेकी सांसद राजन दाहाल पत्नी एवं सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहालले कार्यकर्ताले दिएको फुलको गुच्छा मञ्चमै फालिदिएपछि उपस्थित नेता कार्यकर्ताहरू चकित बनेका थिए ।

सामाजिक सञ्जालमा चर्का चर्का आदर्शका पाठ लेख्ने नेता पत्नीले कार्यक्रमस्थलमा नेता कार्यकर्ताकाबीच गरेको उक्त हर्कतपछि माओवादी सिन्धुलीको आन्तरिक किचलो सतहमा आएको हो ।

महेश्वरलाई कालोमोसो दल्ने योजना फेल

कार्यक्रम रोक्न दलबलसहित पुगेकी उनलाई कार्यक्रममा कुनै पनि गलत कदम नचाल्न पत्रकार मिनकुमार दाहालले सुझाएपछि अध्यक्ष बोहरा, उपाध्यक्ष न्यौपानेलगायतको समूह कार्यक्रम छोडेर हिंडेका थिए । उनीहरू मञ्च छोडेर हिँडेपछि भने कार्यक्रम निर्वाधरूपमा सुचारु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि लेखनाथ दाहाल राजनलाई वनाउनै पर्ने दवाव आयोजकलाई राजन पक्षवाट आयो । आयोजकले जिल्ला सहजकर्ता महेश्वर दाहाललाई वनाउनु पर्छ भन्ने अडान लिए । त्यसपछि राजन पक्ष कार्यक्रम भाँड्ने तयारीमा लाग्यो ।

कार्यक्रम भाँड्न राजनपक्षले गाउँगाउँ गएर कार्यक्रममा नजान उर्दी नै लायो । कार्यक्रम हुने नै भए पछी कार्यक्रमका प्रमुख अतिथि बनेका महेश्वर दाहाललाई कुट्ने,कालो मोसो दल्ने तयारी सहित राजनकी श्रीमती दिपा वोहोरा र जिल्ला सचिव ज्वालान्यौपाने पुकारको समूह त्यहाँ पुगेको थियो ।

त्यहाँ तैनाथ रहेका स्वयंसेवकले धम्क्याए पछी राजन समुह त्यहाँवाट पछी हटेको बताइएको छ ।

माओवादी केन्द्रको सिन्धुलीमा जारी अभियानलाई असफल बनाउनेदेखि मरिणको जनसाँस्कृतिक कार्यक्रम बिथोल्नेसम्मको राजन दाहाल समूहको विवरण पार्टी हेर्डक्वार्टरमा पुगेको छ । उता सांसद दाहालले महेश्वरलाई काउन्टर दिन मरिणमै कात्तिक २६ गते आफ्नो तर्फबाट सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।

माओवादी केन्द्र सिन्धुलीमा पार्टी उपमहासचिव हरिबोल गजुरेल र तत्कालीन सिन्धुली जिल्ला इन्चार्ज राजन दाहालकाबीचको टकराबले यो अबस्थासम्म ल्याइपुर्‍याएको चर्चा चल्न थालेको छ ।

गजुरेललाई जिल्लाबाट टिकटको सिफारिससमेत गर्न नदिएर अपमानित ढंगले लखेटेका राजनले महेश्वरलाई पनि इन्चार्जका रूपमा असफल पार्न आफ्ना उद्दण्ड कार्यकर्ता परिचालन गरेको आरोप छ ।

विगतमा राजमार्गमा ढाट राखेर फिरौती उठाउने गरेको आरोपसमेत लागेका राजनले पछिल्लो समय क्रसर उद्योगमा लगानी गरेका छन् । उनले इस्काभेटरहरू भाडामा लगाएका छन् । सोही काममा परिचालित केटाहरू उनको उक्साहटमा हिँड्ने गरेका छन् ।

राजननिकट कार्यकर्ताहरूले अचेल दिनहुँ फेसबुकमा महेश्वर दाहालको विरोधमा स्टाटस लेख्ने जिम्मेवारी पाएका छन् । जिल्ला सचिवसमेत रहेका गोलञ्जोर गाउँपालिका उपाध्यक्ष पुकार न्यौपानेले महेश्वरलाई लिन प्याओको संज्ञा दिएका छन् ।

माओवादी किचलोको पृष्ठभूमि !

गएको स्थानीय निर्वाचनका क्रममा पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीको विषयबाट सुरू भएको गजुरेल र राजन दाहालबीचको मनमुटाव संघीय र प्रदेश निर्वाचनसम्म आइपुग्दा बोलचाल नैं बन्द हुने अबस्थामा पुग्यो ।

सिन्धुली माओवादीलाई एक हाते गाईजस्तै बनाएका दाहालले ९ वटा पालिकाबाटै हरिवोलको नाम सिफारिस हुनबाट रोक्ने प्रयास गरे । मरिण गाउँपालिकाले मात्रै गजुरेलको नाम संघीय उमेदवारका रूपमा पठाए पनि बाँकी ७ पालिका कमिटीले दाहालको एकल नाम निर्णय गरेर गजुरेललाई निषेध गरे ।

त्यही किचलोबीच हरिवोललाई टिकट नदिएर छोरी रेणुको दबाबमा प्रचण्डले राजनलाई दिलाएका थिए । अहिले गजुरेललाई राजनैतिक सल्लाहकार नियुक्त गरेर शक्ति सन्तुलन मिलाउने प्रयत्न गरेका छन् । अहिले उनको इन्चार्जको जिम्मेवारी खोसिएको छ ।

राजनको विगत जोडिएको यो सामग्री पनि पढ्नुस् : अमरेश सिंहले माओवादी सांसद राजन दाहाललाई ‘गुण्डागर्दी’ स्मरण गराउनुको यस्तो रहेछ रहस्य (भिडिओ)

सिन्धुली माओवादीमा विधि पद्धति स्थापित हुनेभन्दा व्यक्तिवादी प्रवृत्ति हाबी भएको र माओवादी कार्यकर्ताहरू एमालेमा प्रवेश गर्न थालेको पृष्ठभूमिकाबीच माओवादी अभियान महेश्वर दाहालले आक्रामकरूपमा चलाइरहेका थिए ।

पार्टी हेर्डक्वार्टरले राजन दाहालबाट सिन्धुलीमा पार्टी बलियो बन्न नसक्ने निष्कर्षसहित सिन्धुलीबाट काठमाडौंको तारकेश्वर नगरपालिकाको इन्चार्ज बनाएर पठायो । सिन्धुलीबाट आफूलाई निकाल्ने काम गजुरेलकै भएको निष्कर्षमा पुगेका दाहालको ठाउँमा पत्रकार एवम् माओवादी आन्दोलनका नेता महेश्वर दाहाललाई इन्चार्ज बनाएर खटाएको थियो ।

कमलामाई नगरको अभियान असफल बनाएपछि हरिवोल असफल हुने भन्दै सांसद दाहालले ‘महेश्वर असफल भए, सिन्धुलीमा म मात्रै सफल हो, अरुले पार्टी सञ्चालन गर्न सक्तैनन’ भन्ने सन्देश दिने उद्देश्यले चलखेल गरे ।

आफूनिकट निकट नगरकमिटीका पदाधिकारीलाई बैठक र भेला नबोलाउन र आलटाल गर्न निर्देशन दिए । त्यो निर्देशनले काम पनि गर्‍यो । सांसद दाहालले कार्यक्रम अवरोध गर्न दिएका तथ्यहरू सार्वजनिक भएपछि सोही तथ्यका आधारमा बागमती प्रदेश कमिटी र हेर्डक्वार्टरमा रिपोर्टिङ भयो ।

सबैतिरबाट आफ्नो गलत कुराको रिपोर्टिङ भएपछि आक्रोशित बनेका दाहालले सिन्धुली माओवादीमा आफ्नो पकड गुम्ने देखेपछि तल्लो तहका कार्यकर्तालाई फोन गरेर धम्क्याउने र आफ्ना आलोचकविरुद्ध फेसबुकमा लेख्न लगाउनेसम्मका कामहरू गर्न थालेको मरिणको जनसाँस्कृतिक कार्यक्रमसम्म आइपुग्दा देखिएको छ ।

महेश्वरविरुद्ध अभियान नै चलाइयो

केही दिनअघि पेरिसडाँडामा गाउँ जागरण अभियानको समीक्षा को क्रममा जिल्ला सहजकर्ता महेश्वर दाहालले सिन्धुलीमा माओवादी छैन माओवादी छन् त एमालेमा कि त बाबुराम भट्टराईको पार्टीमा भन्दै प्रतिवेदन पेश गरेका थिए ।

यसको प्रतिकृयामा महेश्वर दाहाललाई माओवादी जिल्ला सचिव ज्वाला प्रसाद न्यौपाने पुकारले दाहालमाथि आक्रोश पोखे । यो संगै आईएम विथ राजन दाहाल भन्दै सोसियल मिडियामा ह्यासट्याग अभियान चलाइएको छ । यो अभियान पछाडि राजन नै भएको यहाँका कार्यकर्ता बताउंँछन् ।

माओवादी आन्दोलन चरम रुपमा उठ्दै गर्दा जिल्ला नेता गंगा नाराण श्रेष्ठ २०५३ वैशाख २४ गते अमलेवाट गिरफ्तार भए । उनको गिरफ्तारी संगै रहेका लेखनाथ दाहाल राजन पनि आसपासकै गाउँमा थिएँ । उनि त्यहाँवाट घर जान्छु भन्दै हिंडे । त्यही वाट वेपत्ता भए । सिन्धुलीबाट गंगानाराण श्रेष्ठ र मोहन घिमिरेलाई विरगञ्ज कारागार सरुवा गरियो । गंगानाराण गएको केही समयपछि मानव बेचविखनमा संलग्नताको आरोपमा राजन वीरगञ्ज कारागारमा आइपुगे ।

कारागारवाट निष्कने समयमा गंगानारायणले पार्टीलाई पत्र लेख्दै लेखनाथ दाहाललाई पार्टीमा जिम्मेवारी दिन अनुरोध गर्दै पत्र लेखे । पत्र बोकेर लेखनाथ दाहाल सिन्धुली आए, प्रशासन समक्ष आत्मसर्मपण गरे र पार्टी सम्पर्कमा जानुको साटो उनी भारत पश्चिम वंगालको कलकत्ता गएर चौकिदारी गर्न थाले ।

संयोग के भने त्यही समयमा यौन काण्डमा कारबाही परेका हरिवोल गजुरेल पनि मद्रासमा पुगेका थिए त्यहाँ पढ्दै पार्टी काम समेत गर्ने मनोज जंग थापाले हरिवोल गजुरेललाई पनि एउटा जुत्ता कारखानामा चौकिदारको जागिर लगाइदिए ।

प्रवासमै बसेर माओवादी युद्धलाई सहयोग हुने पत्रकारिता गर्दै पार्टी राजनीतिमा संल्गन महेश्वर दाहाल अहिले जिल्ला सहजकर्ता बनेर सिन्धुली आएका छन् । मुम्बईमा रहेका महेश्वरले नै माओवादी प्रवास इन्चार्ज झक्कु सुवेदीलाई एक दिन राजनलाई यसो पत्र बोक्ने काम लगाउन भने । उनले नै झक्कुलाई उनीमाथि ठूलो विश्वास चैँ गरी नहाल्नु उनी आत्मसर्मपण गरेर आएका हुन् भन्दा झक्कुले पश्चिम नेपालमा हो भने आत्मसर्मपण गर्नेलाई भाटे कारबाही गर्थ्यौं तर्पाँइ काम लाउनु भन्नु हुन्छ भन्दै सुरूमा हच्किए ।

प्रवासमै हुँदा हरिवोल र राजनको पनि भेट भयो । पहिलो संविधानसभाको निर्वाचनमै हरिवोल सिन्धुलीको क्षेत्र नं. २ वाट चुनाव उठ्न चाहान्थे त्यतीवेला सिपी गजुरेलले टिकट पाए । दोश्रो पटक गंगानाराण श्रेष्ठले टिकट लिए पछि भने हरिवोल चिडिए र राजनलाई उनैले सिन्धुली ल्याए र गंगानारायण श्रेष्ठलाई विस्थापित बनाउने योजना वनाए । लेखनाथ र हरिवोलको घेराबन्दीका कारण गंगानारायण श्रेष्ठले पार्टी नै छाड्नु पर्‍यो ।

माओवादी आन्दोलको अप्ठ्यारो समयमा नेतृत्व लिई योगदान गरेका गंगानारायण श्रेष्ठ, हरिबहादुर श्रेष्ठ, विजय स्याङतान, एकवहादुर मगर, सुरथ वहादुर स्याङतान, वन्दना सुवेदी, उर्मिला देवकोटा जस्ता होनाहार नेताहरु पार्टी नै छाडेर वावुराम भट्टराईको पार्टीमा जान बाध्य भएका छन ।

मनोज जंग थापा, निरुकुमारी दर्लामी, शान्तिमान कार्की, डम्वर कार्कीलगायतका नेता नेकपाको निरन्तरताको रूपमै रहेको एमालेमा छन् ।

समस्या सुप्रिमोलाई !

पार्टीको तीन महिने अभियानमा काठमाण्डौको तार्केश्वर नगरपालिका खटाइएका राजन दाहाल आफ्नो कार्यक्षेत्र नबसेर पुरै शक्ति सिन्धुली केन्द्रित गरेका छन। पार्टी अभियानमा सिन्धुली आएका नेताहरुलाई असफल सावित तुल्याउन लागि परेको नेताहरु बताउँछन् ।

उनको यस किसिमको अराजक र अराजनितिक हर्कतले आजित भएपछि स्थानीय मरिण गाउँपालिका कमिटीले दाहाललाई कारबाहीको माइन्युट नै गरेर माथिल्लो कमिटीमा सिफारिस गरेको एक माओवादी नेताले बताए।

माओवादीको जिल्ला संयोजक हरिवोल निकट पानीराज बम्जनलाई बनाएको भएपनि, हरेक गतिबिधीमा उनी आफै हाबी हुने गरेका छन।यति सम्म कि राजनले आफु सहभागि नहुने अबस्था भएमा भातृ संगठन देखि वडा कमिटी सम्मको नियमित बैठक समेत रोक्न वा सार्न दबाब दिने गरेका छन।

अध्यक्ष प्रचण्डकी छोरी रेणुको दबाबका कारणले केन्द्रीय सदस्य बन्न सफल भएका राजन दाहाल हरिवोल गजुरेलकै कारण पोलिटब्युरो सदस्यसम्म बने । रामेछापबाट दाहाललाई सिन्धुली ल्याएर जिल्ला अध्यक्ष र इन्चार्जसम्म बनाएका गजुरेललाई नै निरन्तर जिल्लामा रोकावट गर्न थालियो ।

कस्ले कस्लाई पछार्नेबाट प्रारम्भ भएको लडाइँ पछिल्लो समय सुप्रिमो प्रचण्डले सिन्धुली जिल्लाको तथ्य बुझ्न र पार्टी संगठनलाई विधिसम्मत ढंगले सञ्चालन गर्न खटाइएका महेश्वर दाहालसँग जोडिन पुगेको छ ।

अब प्रचण्डका अगाडि पार्टीलाई सामूहिकरूपमा विधिसम्मत ढंगले सञ्चालन गर्ने र जिल्लामा गुमेको माओवादीको जनाधार फिर्ता गराउन सक्ने नयाँ नेतृत्व स्थापित गर्ने वा एक हाते पार्टी सञ्चालन गर्ने राजन दाहाल जस्ता स्टण्टबाज रोज्ने भन्ने गंभीर प्रश्न खडा भएको माओवादी नेताहरू बताउँछन् ।

सुप्रिमो प्रचण्डको यही निर्णयले सिन्धुलीमा माओवादी बलियो बनाउने वा सिध्याउने भन्ने कुराको निर्धारण गर्ने चर्चा माओवादी वृत्तमा चल्न थालेको छ ।


प्रतिक्रिया

One thought on “सिन्धुलीमा महेश्वरविरुद्ध राजन दाहालको एम्बुस, सांसद पत्नीले मञ्चबाट पुष्पगुच्छा फालेपछि माओवादीमा भाँडभैलो

  1. लेखनाथ दाहाल राजन को विगत अपराधी राजनीतिबाट सुरु भएको रहेछ र उनको विचार पनि त्यस्तै छ र व्यबहार पनि उनी राजनीतिज्ञ कम गुण्डा बढी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर