अमरेश सिंहले माओवादी सांसद राजन दाहाललाई ‘गुण्डागर्दी’ स्मरण गराउनुको यस्तो रहेछ रहस्य (भिडिओ) – Nepal Press

अमरेश सिंहले माओवादी सांसद राजन दाहाललाई ‘गुण्डागर्दी’ स्मरण गराउनुको यस्तो रहेछ रहस्य (भिडिओ)

हेटौंडा । असोज २४ गते बुधबार प्रतिनिधि सभा सार्वजनिक लेखा समिति बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाल उर्फ लेखनाथलाई गुण्डा भनेपछि अन्य सांसद अलमलमा परे ।

पछिल्लो समय सोसल मिडिया र मूलधारका मिडियामा समेत बोलेरै चर्चामा आएका दुई सांसदमध्ये अमरेश र राजन अग्रपंक्तिमै छन् । अमरेश कांग्रेसमा हुँदा पनि चर्चामै रहने र नेपालको शान्ति प्रक्रियाकै एक अंगजस्ता भएकाले उनको चर्चा नयाँ होइन ।

राजन दाहाल भने रामेछाप जिल्ला इन्चार्ज हुँदा विपक्षी पार्टीका नेता कार्यकर्तामाथि कुटपिट गरेर चर्चामा आए पनि राष्ट्रियरुपमै भने यसपटक प्रतिनिधि सभा सदस्य बनेपछि मिडियामा छाएका छन् । हरिबोल गजुरेललाई सिन्धुलीबाट खेदेर टिकट लिएको आरोप लागेदेखि नै राजन चर्चामै छन् ।

संसदमा जलहरी काण्डको विषय उठाएर चर्चाको शिखरमा पुगेका राजनलाई बुधबार अमरेशले विगतको जस्तो गुण्डागर्दी संसदमा नचल्ने भनेपछि उनको विगतबारे धेरैले चासो राखेका छन् । अमरेश र राजनबीचको भनाभनलाई सभापति ऋषिकेश पोखरेलले हस्तक्षेप नगरेको भए अझ बढ्ने थियो ।

भिडिओ

लेखा समिति बैठकमा अमरेश बोल्दा बोल्दै दाहालले समय सकियो भनेपछि उनी झोक्किएका थिए । प्रधानमन्त्रीको आलोचना गरिरहेका बेला दाहालले आफूलाई रोक्न खोजेपछि आक्रोशित बनेका सिंहले ‘मलाई रोक्ने तपाई को हो ? ..सरकाकरो पक्ष नलिनुस्, सरकारी पक्षले लुटिरहेको छ, जनता पीडामा छ । ..तपाईं पहिलोचोटी सांसद भएको आफ्नो स्थानमा बस्नुस्, संसदीय समितिको नियम छ, बीचमा टोक्न पाइन्छ ? सभापतिको अधिकार छ, यो माओवादी तन्त्र हिजोका तपाईंको गुण्डातन्त्र होइन, जंगलमा लुटेर आएको जस्तो होइन चल्दैन ।’

अमरेशले दाहालको विगतको गुण्डागर्दी पृष्ठभूमि र राजमार्गमा ढाट राखेर असुली मच्चाएको सबै घटनाको जानकारी राखेर आफूले यस्तो जवाफ दिएको बताएका छन् । उनले राजन दाहालको कुटपिटबाट अंगभंग भएका व्यक्तिहरुलाई त्यसबेला आफूले भेटेको समेत बताए । उनलाई संसदीय प्रक्रिया सिकाउने क्रममा विगत सम्झाइदिएको सिंहको भनाइ छ ।

कस्तो छ राजन दाहालको विगत ?

राष्ट्रिय राजनीतिमा यसपटक चर्चामा आए पनि विशेषगरी रामेछाप र सिन्धुलीमा भने कुनै बेला राजन दाहालको आतंक नै थियो । युद्धकालमा होइन, शान्ति प्रक्रियामा आएपछि राजनको आतंकले रामेछापमा प्रशासनदेखि विपक्षी दलका नेता कार्यकर्तासमेत थर्कमान हुन्थे ।

घर सिन्धुली भए पनि माओवादीले शान्ति प्रक्रियालगत्तै राजनलाई रामेछाप जिल्ला इन्चार्ज बनाएर पठाएको थियो । २०६३ सालम राजनले पहिलोपटक एमालेका तत्कालीन जिल्ला सचिव हाल नेकपा एसका पोलिटब्यूरो सदस्य देवशंकर पौडेलमाथि भौतिक हमला गरेर विपक्षीलाई त्रासमा राख्न सफल भएका थिए ।

सदरमुकाम मन्थलीबाट पुर्वोत्तर साँघुटार बजारमा संगठनको सिलसिलामा पुगेका पौडेललाई दाहालको निर्देशनमा माओवादी कार्यकर्ताले घरबाहिर निस्केका बेला मोसो दलेर जुत्ताको माला लगाइदिएका थिए ।

पौडेलले एसएलसीसम्म पढेको त्यो ठाउँमा सबै उनका समर्थक, शुभेच्छुक र कार्यकर्ताहरु नै थिए । उनको र एमालेको प्रभाव रोक्न राजनले देवशंकरकै ठाउँमा आक्रमण गराएका थिए । उनीसँगै गएका सोही ठाउँका अर्का नेता जगन्नाथ दाहाल भने घरभित्र भएकाले जोगिएका थिए ।

देवशंकरमाथि पटकपटक आक्रमणको प्रयास त्यसपछि पनि राजनले जारी राखे । किनकी जिल्लामा कांग्रेसले उनको प्रतिवाद गर्दैन थियो । राजनका लागि चुनौती बनेका देवशंकरमाथि सबैभन्दा ठूलो र ज्यान मार्ने हमला भने पहिलो संविधान सभा निर्वाचनको बेला प्रीति च्यादलुमा भयो ।

पौडेल आफैं एमालेबाट उम्मेदवार थिए । राजन दाहालले एमालेका उम्मेदवार र प्रचारमा हिँड्ने नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही खुट्टा भाँच्ने सार्वजनिक चेतावनी दिइसकेका थिए । चुनाव प्रचारकै सिलसिलामा कुबुँकास्थलीबाट तल झरेको एमाले टोलीमाथि राजनको निर्देशनमा सयौंका संख्यामा माओवादीले आक्रमण गरे ।

पौडेललाई मार्ने उद्देश्यले भिरबाट लडाउन खोज्दा उनी संयोगले बाँचे । शान्ति पौडेल, कमल प्रकाश सुनुवार, चित्रबहादुर कार्कीलगायतका नेताहरु घाइते भए । तत्कालीन एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीको पहलमा देवशंकरलाई हेलिकोप्टरबाट उद्दार गरेर काठमाडांैं ल्याइयो र उनी त्यसपछि चुनाव प्रचारमा जान नसक्नेगरी थला परे ।

सोही चुनावमा राजनकै नेतृत्वमा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार कैलाश ढुंगेलमाथि उनकै गाउँ पकरवासमै ज्यान मार्ने उद्देश्यले आक्रमण भएपछि एमाले नेता कार्यकर्ताहरू भागेर ज्यान बचाउन सफल भएका थिए। दाहाल सहितका ५ सय माओवादीले गाउँ घेरेपछि त्यस बेला पकरवासका एमाले नेताहरू होमबहादुर बुढाथोकी (हाल नेकपा एस पोलिटब्यूरो सदस्य) र केशर बुढाथोकीले २ दिनसम्म जंगलमा बिताएका थिए ।

दाहालको आतंक त्यतिमा मात्र रोकिएन, चुनाव उनी आफैं हतियारसहित हिँडेर ठाउँ ठाउँमा बुथ कब्जा गरे । चुनावपछि एउटा सर्वदलीय बैठकमा एमालेका नेता तथा हाल खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठमाथि फलामको रड प्रहार भयो । उनी श्रेष्ठमाथि ज्यान मार्ने उद्योग गरेको अभियोगमा २० हजार धरौटी राखेर छुटे ।

दाहालले सानातिना एमाले नेता कार्यकर्ताहरुलाई त जहाँ भेट्यो त्यही, मन्थलीका बीच सडकमै पनि थप्पड हान्ने गर्थे । मन्थलीमा चार पाँच सय पूर्णकालीन लडाकुलाई उनले सामूहिक मेसमा खुवाएर पालेरै राखेका थिए । त्यसबेलाका हरेक विकास आयोजनाबाट २० देखि ४० प्रतिशत रकम लिएर राजनले ती पूर्णकालीन कार्यकर्ता पाल्ने गरेका थिए ।

दाहालको यस्तै ज्यादतीको भण्डाफोर गर्न एमालेले २०६६ असारमा मन्थलीमा आयोजना गरेको विरोधसभाबाट फर्किने क्रममा एमाले महासचिव ईश्वर पोखरेलसहितका करिब आधा दर्जन नेताहरूलाई तिल्पुङ गाविसको भीरबाट ढुंगा लडाएर हत्या प्रयास गरेपछिमात्र उनलाई पार्टीले आन्तरिक कारवाही गरेर रामेछापबाट फिर्ता लगेको थियो ।

त्यसबेला एउटा ढुंगाले गाडीमा भेटे पनि चालकको चलाखीले गर्दा एमालेका महासचिव पोखरेल सहित पशुपति चौलागाई, रवीन्द्र श्रेष्ठ, केशव देवकोटा, देवशंकर पौडेल, कमला सुवेदी, ज्ञानकुमार श्रेष्ठलगायतका नेताहरू बाँच्न सफल भएका थिए।

पोखरेलको गाडी अघि कट्न सफल भएपनि पशुपति चौलागाईसहित आफूहरु चढेको गाडीमा भैंसीको पाडोजत्रो ढुंगा बज्रिदा गाडीको छत किचिदा ज्ञानकुमारको टाउकोमा चोट लागेको पौडेलले सुनाए । सो घटनापछि कमला सुवेदीले दाहालविरुद्ध ज्यान मार्ने उद्योगको उजुरी समेत दिएकी थिइन् । सुवेदीको निधन भइसकेको छ ।

सो घटनापछि सिन्धूली सरुवा भएका दाहालले सिन्धुलीमा गएपछि पनि झाँगाझोलीमा एमालेको ३ नम्बर क्षेत्रीय अधिवेशन उद्घाटनमा जान लागेका नेताहरूमाथि आक्रमण गरेका थिए। दाहाल र उनकी श्रीमती दीपाको नेतृत्वमा पेस्तोल, बन्दूक र रड सहित आक्रमण गरेर केन्द्रीय सदस्य केशव देवकोटा, युवा संघ नेपालका तत्कालीन अध्यक्ष महेश बस्नेत, रामेछापका एमाले नेता ज्ञानकुमार श्रेष्ठ लगायतलाई कब्जामा लिएका थिए ।

त्यसक्रममा देवकोटालाई यातना दिइएको कुरा पछि उच्चस्तरीय संयन्त्रबाटै गठित तीन दलीय छानबीन आयोगले पनि पुष्टि गरेको थियो। त्यस बेला पनि दाहाललाई पक्राउगरी कारवाही गर्न निर्देशन दिएको थियो । त्यसबेला एमालेका जनकपुर इन्चार्ज रामचन्द्र झा भने राजना दाहालको कब्जाबाट भागेर बाँच्न सफल भएका थिए ।

त्यसबेला दाहालमाथि बनेपा–बर्दिबास सडक खण्डका ठेकेदारहरूसँग पैसा उठाउने गरेको आरोप लागेको भन्दै तत्कालीन माओवादी पोलिटब्यूरो सदस्य एवं जनमुक्ति सेनाका डेपुटी कमाण्डर चन्द्रप्रसाद खनाल बलदेवले नेतृत्वसमक्ष जानकारी गराएका थिए ।

२०६५ वैशाखमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राजन दाहालले रामेछाप जिल्लाका विभिन्न गाउँ र चौतारा तथा विद्यालयहरूमा सूचना टाँसी कांग्रेस र एमालेलाई एक साताभित्र गाउँ छाड्न उर्दी दिंदै आक्रमण गरेपछि कारबाहीमा समेत परेका थिए ।

जिल्ला इन्चार्जलाई थाहै नदिई सहइन्चार्ज दाहालले सो सूचना टाँसेपछि केन्द्रमा अध्यक्ष प्रचण्डले नै त्यो पार्टी नीतिविपरीत भएको भन्दै ताम्सालिङ इन्चार्ज अग्नि सापकोटालाई दाहालमाथि कारबाही गर्न निर्देशन दिएका थिए ।

केही समय निलम्बनमा परेका दाहाल ईश्वर पोखरेलमाथिको आक्रमणपछि सन्धुली सरुवा भएका थिए । दाहालले रामेछाप जिल्ला इन्चार्ज हुँदा करिब ५ करोड रुपैयाँ चन्दा उठाएर त्यो पैसाको हिसाब नदेखाएको आरोप त्यसपछि जिल्ला इन्चार्ज धावा लामाले लगाएका थिए ।

दाहाल पछिल्लो समय भने आफैं स्काभेटर र ट्रक किनेर राजमार्गमा सामान ढुवानी तथा क्रसर तथा ठेक्कापट्टामा लागेका थिए । रामेछाप माओवादी वृत्तमा भने राजन दाहाल आज पनि उत्तिकै लोकप्रिय छन् । जिल्लाका नेताहरुको विवाद हुँदा उनीहरुले राजन दाहालजस्तो नेता चाहियो भन्ने गरेका छन् ।

पछिल्लोपटक सिन्धुलीमा उनका ट्रक स्थानीयले कब्जा गरेको समाचार आएको थियो । रामेछापमा जस्तो आतंक सिन्धुलीमा भने उनले गर्न सकेनन् ।

दाहाललाई गणेश पहाडी नेतृत्वका एमालेले २०७० को चुनावताका दुधौलीमा थला पर्नेगरी कुटेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर