विप्लवका कार्यकर्ताले लगाएको धान काट्न सीडीओ पुगेपछि… – Nepal Press

विप्लवका कार्यकर्ताले लगाएको धान काट्न सीडीओ पुगेपछि…

रुपन्देही । दाङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले उत्पादन गरेको धान काट्न दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी पुगेपछि अहिले यो विषयले चर्चा पाएको छ ।

सो पार्टीले कपिलवस्तु, दाङ लगायत आफ्नो बढी वर्चस्व भएका क्षेत्रमा कृषि खेती सञ्चालन गरेको छ । दाङको घोराही– १६, करौंती डाँडामा लगाएको धान खेतमा पुगेर प्रजिअ सुवेदीले बुधवार धान काट्न पुगेका हुन् ।

खेतमा धान काट्दै प्रजिअ सुवेदीले उत्पादन नै समृद्धिको अभियान भएको बताउँदै अब राजनीतिक दलहरूले हरेक ठाउँमा उत्पादन गर्नुपर्नेमा जोड दिए ।

उनले पार्टीका कार्यकर्ताले उत्पादन गरेको धान खेतमै आएर धान काट्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इन्चार्ज सम्झना सीले सो अवसरमा आत्मनिर्भर नेता–कार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टीको केन्द्रीय योजना अन्तर्गत उत्पादनलाई अगाडि बढाएको बताइन् ।

उनले पार्टीको पूर्वी दाङले ६ बिघा जग्गा भाडामा लिएर सी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर ३ बिघा जग्गामा धान खेती र ३ बिघा जग्गामा तोरी खेती गरिरहेको जानकारी दिइन् ।

उत्पादन भएको धान काट्न पार्टीका पूर्वी दाङका सेक्रेटरी जनक सी, उत्पादन प्रमुख महान् सी लगायत पार्टी निकट जन वर्गीय संगठनहरुको सहभागिता थियो ।

सो पार्टीले कपिलवस्तुको शिवगढी क्षेत्रमा ठूलो क्षेत्रफलमा कृषि खेती गरेको छ । केही दिनअघि यो पार्टीले आफैले उत्पादन गरेको २५ क्वीन्टल चामल भूकम्प प्रभावितलाई हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर